काठमाडौं- किशोरलक्षित उपन्यास ‘उडान’ केन्द्रित अन्तरक्रिया कार्यक्रम फिनिक्स स्कुल, सानेपामा सम्पन्न भएको छ। विद्यार्थी र लेखक विजय सापकोटाबीच अन्तरक्रिया भएको हो।
स्कुलको तर्फबाट स्वागत गर्दै विद्यालयका प्रिन्सिपल सिर्जना केसीले बालबालिकाले ‘उडान’ मनपराएको र आगामी दिनमा किशोरलक्षित पुस्तक थप लेखिनुपर्ने बताए।
१० वर्षको बालिकाले एकै बसाइमा स्वस्फूर्त ‘उडान’ पढेको घटना सुनाउँदै स्कुल पाठ्यक्रममा ‘उडान’ उपन्यास समावेश गरी अध्ययन गराउनु सार्थक हुने कुरा सोही स्कुलमा कार्यरत शिक्षक जानुका खतिवडाले बताए।
कार्यक्रममा आख्यानकार सापकोटाले ‘उडान’ लेख्नुको कारण, उद्देश्य र पृष्ठभूमिबारे बताए।

कार्यक्रममा सहभागी छात्राहरूको को प्रश्न थियो, ‘पुरुष लेखक भएर पनि छोरीहरूको समस्या र मनोविज्ञानमा आधारित हाम्रो आफ्नै अनुभव जस्तो उपन्यास कसरी लेख्न सक्नुभयो?’
छात्रहरूले भने केटाहरूको समस्यामाथि पनि लेखिए हुन्थ्यो भन्ने अपेक्षा सुनाए। उनीहरूले आफूजस्तै पात्र, आफ्नैजस्तो समस्या र भोगाइ उपन्यासमा पाएको बताए। कार्यक्रममा बालबालिकाले किताबको विषयवस्तु, पात्र, मनपर्ने अंश, भाषाशैली आदि बारे पठन अनुभव सुनाए।
फिनिक्स स्कुलको कक्षा ९ मा एक सेमेष्टरको नेपाली भाषा साहित्यको पाठ्यक्रमकै रुपमा उडान उपन्यासमा काम भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।