कोहलपुर- ‘खाली छन् जमिनदारको बहिखाताका धमिला पृष्ठ
त्यहाँ भेटिन्न कुनै हिसाब
कुन–कुन महाराजको सवारीमा
मैले मुटु फुट्नेगरी बाटो खनें
कति हल जोतें चौधरीको खेत
कति दिन फरुवा चलाएँ
एक धरो लगौंटीले कति वर्ष, महिना र दिनको लाज ढाकें
तर राखेको छु मैले एक/एक हिसाब’
कवि सरिता तिवारीले ‘आदिवासी’ कविता वाचन गर्दा छेउमा बसेकी कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले एकोहोरिएर यो कविता सुनिरहिन्। आदिवासी तथा थारु समुदायको प्रतिनिधित्व गरेको कोहलपुरलाई स्मरण गर्दै कवि तिवारीले अर्को कविता ‘डेलीमा माछा’ सुनाउँदा उपप्रमुख थारुसँगै हलमा उपस्थित दर्शकहरु सबैले ताली बजाएर कविलाई थप हौसला दिए।

कार्यक्रममा कवि सरिता तिवारीले महिलाहरुको विषयमा केन्द्रित रहेर ‘हे देवी’, ‘दैनिकी’, ‘के तिमीले मलाई आविस्कार गर्यौ?’ लगायतका कविताहरु वाचन गरेर सुनाइन्। उनले राजधानीलाई कटाक्ष गर्दै ‘काठमाडौं’, ‘भाषा चोरहरु जब शासक बन्छन्’, ‘एकछिनलाई’, ‘पुत्ला’, ‘बजारविरुद्ध’ लगायत दर्जन बढी कविताहरु वाचन गरेकी थिइन्।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको वार्षिक साधारण सभाको अवसरमा कवि सरिता तिवारीको एकल कविता वाचन कार्यक्रम गरिएको संस्थाका अध्यक्ष महानन्द ढकालले बताए।
साहित्यमा निरन्तर लागेवापत संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको ७ हजार ७ सय ७७ रुपैयाँ राशीको 'तुलसी राम स्मृति पुरस्कार २०७५' बाट कवि तिवारीलाई पुरस्कृत पनि गरिएको छ। पुरस्कारका संरक्षक पवित्रा ढकालले उक्त पुरस्कार राशी उपलब्ध गराइकी थिइन्।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्राज्ञ सनत रेग्मी, प्रतिष्ठानकै सभा सदस्य हरि प्रसाद तिमिल्सिना, साहित्यकार नरेन्द्र जंग पिटर, भारतीय कवि शारिक रब्बानी, रमेश सायन, प्रदीप भट्टराई, पुष्कर रिजाल, कपिल अन्जान, विक्रम शिशिर, सुमित्रा न्यौपाने, देवकी निरौला, भावना पाठक, नमिता बराल, बद्रि ढकाललगायत १३० भन्दा बढी साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।