काठमाडौं- मासिक कविता वाचन शृंखला ‘हामी कवि र कविता’को भदौ महिनाको शृंखलामा कविद्वय दीप दर्पण र विपी अस्तुले आफ्ना कविताहरू वाचन गरेका छन्।
हरेक महिनाको १ गते आयोजना हुँदै आएको काव्यिक कार्यक्रमअन्तर्गत भदौ महिनाको शृंखलाको सुरुवातमा कवि दीप दर्पणले आफ्ना १० कविता सुनाए। उनका धेरैजसो कवितामा रोल्पा र सशस्त्र युद्धको समय रोल्पाले भोगेका भोगाइ समेटिएका थिए।
उनले ‘देश पुग्नुभन्दा पहिले’, ‘धर्म’, ‘माडसाब’, ‘चिहान’, ‘चोक नेरको चिया पसल’, ‘मध्यरात’, ‘मंगले बा’, ‘मिन चाओ’ लगायत कविता वाचन गरे।
त्यस्तै, अर्का कवि विपी अस्तुले पनि उतिनै संख्यामा आफ्ना कविता वाचन गरे। उनले वाचन गरेका कवितामा ‘हिँडाइ’, ‘बाध्यता’, ‘गल्ती’, ‘जेठको धुपमा मेरो गाउँ’, ‘नागरिकता शिविरमा मागुलाल’, ‘हामी त पिरती लाउथ्यौँ’लगायत थिए।

विगत ५ वर्षदेखि सरु भएको ‘हामी कवि र कविता’को यो ७०औं शृंखला हो।
लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा सर्वनाम थियटरले आयोजना गर्दै आएको कार्यक्रममा नयाँ र पुराना पुस्ताका कविहरूलाई ल्याएर कविता वाचन गराइँदै आइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।