काठमाडौं- विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शंकर चापागाईं (धनकुटे कान्छा, झापा) र फुलमान वल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी रु ५० हजारसहित स्वर्णपदक रहेको छ।
पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
भदौ १३ गते १५४ औं मोती जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए। उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युवाकवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको छ। हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।