काठमाडौं- गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा उम्मेदवारी दर्ता नहुँदै प्रतिनिधिहरूले आफूपक्षीय प्रत्यासीलाई विजयी बनाउन प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएन प्रतिनिधिहरूको व्यस्तता बढेको छ।
सोमबार केन्द्रीय कार्यालय बालुवाटार परिसरमा नेपाल लाइभको टोली पुग्दा रजिस्ट्रेसनका लागि विभिन्न देशबाट आएका प्रतिनिधिहरू आफू निकटका उम्मेद्वारका लागि मत माग्न भ्याइनभ्याइ देखिन्थे।
केन्द्रीय कार्यालयको मूल गेटमै युवतीहरूले ब्रोसर आगन्तुकलाई थमाइरहेका थिए।
.jpg)
.jpg)
विश्वका ८१ देशमा एनआरएनका सदस्य ८२ हजार रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने प्रवक्ता भूषण घिमिरेले जानकारी दिए।
सोमबार प्रतिनिधिको नामावली दर्ताका लागि अन्तिम दिन हो। प्रतिनिधिहरू दर्ताका लागि लामबद्ध थिए। उनीहरूलाई फोटो र फिंगरप्रिन्ट लिएर प्रतिनिधि कार्ड हस्तान्तरण गरिँदै थियो।
.jpg)
प्रतिनिधिलाई सम्मेलन अवधिभरका लागि खानाको कुपन पनि केन्द्रीय कार्यालयबाट वितरण गरिएको छ।
प्रतिप्रतिनिधि २ सय अमेरिकी डलर सम्मेलन शुल्क तोकिएको छ। राजधानीको हायात होटलमा मंगलबार सुरु हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन्।
गैरराजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको छ।
च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर अधिवेसन भएका थिए।
दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्राय छ। च्याप्टर देशमा देखिएको राजनीतिक रंग केन्द्रीय महाधिवेसनमा स्पष्ट देखिने भएको छ।

विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। कुल आचार्य र कुमार पन्त अध्यक्षका लागि दौडमा छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कांग्रेसको आडमा आचार्यले प्यानल नै बनाएर औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।
अधिवेशन सुरु हुनुभन्दा एक दिन मात्र पहिले पत्रकार सम्मेलन गरी प्यानल नै घोषणा गरेका आचार्यले आइतबार र सोमबार कांग्रेस नेताहरूसँग भेट गरेका थिए। उनले प्यानल बनाउनका लागि नै कांग्रेसका नेताहरूलाई भेटेको बताइएको छ।
आचार्यको प्यानलमा उपाध्यक्षमा डा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन्। विधानमा उपाध्यक्षमा ५ जना चयन हुने प्रावधान छ।
.jpg)
आइतबार महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका डा पौडेलले सोमबार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेका छन्। पौडेलले आकांक्षी पद परिवर्तन गर्नुमा कांग्रेस नजिकको प्यानल बनाउनु नै रहेको विश्लेषण गरिएको छ। आचार्यकै प्यानलबाट बेल्जियमबाट जानकी गुरुङले महासचिवमा उम्मेदवारी दिएकी छन्। सोही समूहबाट सोम सापकोटा –(बेलायत)ले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन्।
अध्यक्षका प्रत्यासी आचार्य वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। बेलायतमा बसोबास गर्दै आएका आचार्य रेष्टुरेन्ट व्यवसायी हुन्। उनले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गरेका छन्। आचार्यको जन्मघर पर्वतको धाइरिङ हो। गैरआवासीय संघमा १२ वर्षदेखि आबद्ध उनले हालसम्मका निर्वाचनमा पराजित भोग्नु परेको छैन।
यसपटक पनि आफू विजयी हुने दृढता उनले देखाएका छन्। ‘पसिना फण्ड’को स्थापना, सदस्यता संख्या १ लाख बनाउने, नागरिकताका आधारमा गैरआवासीय नेपालीको छुट्टै राहदानीको पहल, 'ब्रेन ड्रेन'लाई 'ब्रेन गेन' बनाउने, भिजन २०२० कार्यान्वयनलगायतका मुद्दा आचार्यका चुनावी एजेन्डा हुन्।
आचार्यको स्पष्ट प्यानल देखिए पनि अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको घोषित प्यानल बनिसकेको छैन। लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता पन्तका विश्व सम्मेलनकेन्द्री मुद्दा छन्।

पन्त दुई पटकसम्म उपाध्यक्ष चुनिएका व्यक्ति हुन्। गत विश्व सम्मेलनमा अध्यक्षमा रुचि देखाएपनि अध्यक्षमा भवन भट्टलाई सहयोग गर्ने गरी उपाध्यक्षमै चित्त बुझाएका थिए।
यस पटकलाई अध्यक्षको आधार तयार गरेका पन्तलाई उपाध्यक्षका प्रत्यासी तथा वर्तमान महासचिव डा बद्री केसीको समर्थन रहेको छ।
पूर्व अध्यक्ष जीवा लामिछानेको पनि पन्तलाई समर्थन रहेको बताइएको छ। अर्को तर्फ दुई कार्यकाल अध्यक्षको पद हाँकेका अर्बपति शेष घलेको समर्थन आचार्यको पक्षमा भएको बुझिएको छ।
संस्थापक अध्यक्षसमेत रहेका डा उपेन्द्र महतो एनआरएनमा प्रभावशाली व्यक्तिका रूपमा लिने गरिएको छ। तर हालसम्म उनी कुनै पनि उम्मेद्वारका पक्षमा प्रस्तुत भएका छैनन्।
पन्तको समूहको औपचारिक घोषणा नभएपनि भित्री तयारी भइसेकेको बताइएको छ।
पन्तको प्यानललाई सत्तारुढ दलको समर्थन हुने बताइएको छ। उनको प्यानलमा उपाध्यक्षका प्रत्यासी केसी निर्विवाद छन्।
महासचिवमा हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। आरके शर्माले सचिवमा र गौरी जोशीले सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
.jpg)
यसैगरी, सपिला राजभण्डारीले उपाध्यक्ष पदको आकांक्षी बनेकी छन्। वर्तमान कार्यसमितिमा उनि महिला संयोजक समेत हुन्। धर्मराज अधिकारी, हिक्मत थापा, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ, शिवकुमार बरुवाल, महेशकुमार श्रेष्ठ र लोकप्रसाद दाहाल पनि चुनावी मैदानमा छन्। महिला संयोजकमा संगीता मरहठ्ठाले उम्मेदवारी दिने भएकी छन्।
केन्द्रीय महाधिवेसनबाट ४२ जना निर्वाचित हुनेछन्। संघ सन् २००३ मा स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।