काठमाडौं- राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशी १ लाख १ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ।
यसैगरी प्रतिष्ठानले गत वर्षको साहित्यिक पत्रकारिता पुरस्कार 'उन्नयन' र 'दियालो' साहित्यिक पत्रिकालाई प्रदान गरेको छ। ती पुरस्कारको राशी ५० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ। नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ। यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा चन्द्रकुमार राई हुन्।
उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी छन्। कार्यक्रममा ती पत्रिकाका सम्पादक डा राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए।
सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे। उनले भने, 'मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ। कर्म गर्न छाड्न हुँदैन।'

राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएकोमा धन्यवाद दिए। शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे। नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण गर्न बाँकी रहेको उनको भनाइ छ।
प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।