डडेल्धुरा- फुलेर सेतै भएको कपाल, झुस्स दाह्री र चाउरी परेका गाला। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का शेरबहादुर देउवाको हुलिया हो यो। विगत ३१ वर्षदेखि खिर बनाएर बेच्दै आएका उनको परिचय अहिले फेरिएको छ। शेरबहादुर देउवा नामले उनलाई चिन्ने कम हुन थालेका छन् भने खिर बाजे उपनामले चिन्नेहरुको संख्या बढ्दो छ।
चिया र खिर बनाउनका लागि उनले दैनिक करिब ७० लिटर दूध खपत गर्ने गरेका छन्। खिर र चियाको आम्दानीबाट देउवा नातिनातिहरूसहित १० जनाको परिवार धानिएको छ। उनको काममा छोराबुहारी, श्रीमती सबैले साथ दिएका छन्। जनशक्ति अभाव भएर थप ५ जनालाई रोजगारी समेत दिएको छ खिर बाजेको पसलले।
विगत ३१ वर्षयता खिर बेच्दै आएका देउवाले १० गड्डी भैंसी पालेका छन्। आफूले पालेका मात्र नभएर गाउँका भैँसीको समेत दूध संकलन गरेर देउवाले खिर बनाउने गर्दछन्। जंगलका बीचमा रहेको उनका घर वरिपरि १०–१२ घरपरिवार छन्। गाउँको नाम हो ‘साहुँखर्क'। गाउँका अधिकांशले भैंसी पालेका छन्। गाउँको दूध संकलन गरी खपत गरिदिने काम भने देउवाले नै गरेका छन्।
भीमदत्त लोकमार्ग किनारमा एउटा खरको झुपडीमा रहेको पसलमा दैनिक खिर बनाउने र बच्ने उनको दैनिकी नै बनेको छ। देउवाले भने, ‘३१ वर्ष पहिले म तराईमाबाट लखेटिएँ, ऐलानी जमिनबाट सरकारले हटायो। अनि यहाँ आएर भैसीपालन गरेँ। दूद्य बच्ने बजार धेरै टाढा थियो, आफैंले खिर बनाउने सुरु गरेँ।’
.JPG)
लोकमार्गमा रहेको उनको पसलका कोही नियमित ग्राहक हुन्छन् त कोही पसलमा राखेको ‘तपाईं कता? बाजेको खिर पसल यता’ भनी लेखिएको बोर्डको भाषाले आकर्षित भएर आउँछन्। खिरको स्वाद लिने इच्छा यात्रुलाई हुन्छ नै। खिर बाजे भनेपछि टाढाटाढाका यात्रुले चिनिहाल्छन्। त्यसो त उनकामा स्वादिष्ट चिया खान आउनेको संख्या पनि कम छैन।
खिर खान जानेसँग उनी मजाले गफिन्छन्। हामी पनि ग्राहक बनेर खिर खान पुगेका थियौं। 'गाउँ छाडेपछि तराई झरेका थियौं। तराईंमा बस्ने घर एलानीमा परेपछि फेरि पहाड उक्लिएर सडक किनारमा ३ भैँसी पालेर खिर बनाउन काम सुरु गरेको हुँ।'
उनको पसलले परिवारबाहेकका ५ जनालाई रोजगारी दिएका छन्। ‘सबै घरपरिवार यहीँबाट चलेको छ,' उनले भने, ‘एक छोराको मुत्यु भयो।अर्को छोरा र नातिनातिना सोही पसलमा काम गर्छन्। जनशक्ति कम भएर ५ जना थपेका छौ।’
उनका ग्राहक सवारी सधानका यात्रु नै हुन्। रातदिन खुला रहन्छ खिर बाजेको पसल। रातिको यात्रा गर्नेले पनि खिर र चियाको स्वाद लिन पाउने गरेका छन्। उनको व्यवसाय अहिले खिर र चियाँमा मात्र सिमीत छ। दूध उत्पादक बढेपछि दूधबाट बन्ने अरु परिकार पनि त्यहाँ बनाउन थालिएको छ।

खिर पसलमा सरकारी तथा गैरसरकारी संस्थाले दूधका नयाँ परिकार बनाउनदेखि आधुनिक पशुपालनसम्म सहयोग गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा कार्यालय प्रमुख खड्क शाहले बताए। ‘हामीले उनलाई दूधबाट बनाइने अन्य परिकार बनाउन सिकाएका छौं। भैसीपालन व्यवस्थित बनाउन अनुदानमै गोठ सुधार, व्यवस्थित घरनिर्माण, उपकरण वितरण, मिठाई प्याकेजिङमा पनि हामीले सहयोग गरेका छौँ,’ शाहले भने।
दूधबाट बन्ने अरु परिकार बनाएपछि पनि खिरबाजेको नगद आम्दानीको मूल स्रोत भने खिर नै हो। खिरको मोहकै कारण उनको पसलअगाडि दुई–चार वटा गाडी खाली हुन्नन्।
खिर बाजे आफू मात्र सफल भएका छैनन्। उनका अनुयायी पनि थपिएका छन्। उनकै सिको गरी यो सडकको २ सय मिटर नजिक सडक किनारमा दर्जनौं खिर पसल खुलेका छन्। तर खिर बाजेको पसलमा मानिसको भिड कम भएको महसुस हुँदैन। खिर बाजेको चर्चा सुदुरपश्चिमका विभिन्न स्थानसम्म पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।