काठमाडौं- गम्भीर अपराधमा फरारहरुको चाङले थिचिएको प्रहरी संगठन अहिले एक गायिका पक्राउ गर्न शक्ति सञ्चय गरेर बसेको छ। उसलाई थाहा छ, आस्था राउत व्यावसायिक यात्रामा नेपाल बाहिर छिन्। तर, उनलाई अन्तर्राष्ट्रिय अपराधीझैं फरार करार गर्दै नेपाल भित्रिने गौंडा ढुकेर बसेको छ प्रहरी संगठन।
प्रहरीको ‘मुड’ हेर्दा देखिन्छ, उसको सबैभन्दा महत्वपूर्ण काम नै गायिका आस्थालाई पक्राउ गर्नु हो। संगठनका सदस्यहरु एकपछि अर्को असफलताले थिचिएर माघ २८ मा बिदा हुने तयारीमा रहेका आफ्ना हाकिम प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विदाईमा आस्था पक्राउको उपहार दिन व्यग्र छन्। तर, यो उपहारले उनको अवकाशको समयलाई सम्मानजनक होइन, थप लज्जाजनक बनाउने पक्का छ।
विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुका रुपमा आस्था अनि यात्रुको सुरक्षा जाँच गर्ने जिम्मेवारी पाएकी एक महिला प्रहरीबीच भएको नोकझोक नै यो प्रकरणको पृष्ठभूमि थियो। विमानस्थलमा आफूलाई अपमान गरिएको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालबाट प्रतिवाद गर्दा प्रयोग गरेका शब्द नै यो प्रकरणका मुख्य कारण हुन्।
आस्थाले प्रयोग गरेको ‘डन्ठे’, ‘फुलिस’ जस्ता शब्दले प्रहरीको मन कुँडिएको देखियो। केही प्रहरी अधिकारीसँग यो प्रकरणमा अनौपचारिक संवाद गर्दा आस्थाको हर्कतले तल्लो तहका प्रहरीको मनोबल नै खस्किएको विश्लेषण सुनाए। उनीहरुकै शब्दमा ‘यदि अहिले केही नगर्ने हो भने प्रहरी संगठनको खस्किएको मनोबल उकासिँदैन।’
घटनाक्रम प्रष्ट छ, आम नागरिकको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठन एक नागरिकसँग बदला लिने मुडमा छ। शक्ति देखाइदिने अभिष्टमा छ। त्यसैले उसका लागि आस्थाले आफ्नो गल्ती स्वीकार गर्दै माफिनामासहित बगाएको आँशुको कुनै मूल्य छैन।
त्यसैले उनीहरु संगठनका तल्ला तहका कर्मचारीको खस्किएको मनोबल उकास्न आस्थालाई अभद्र व्यवहारको आरोपमा हिरासतमा राख्न तम्तयार भएर बसेका छन्। प्रहरीको यो व्यग्रतामा गृह प्रशासनले लाहछाप लगाइसक्यो, काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत पक्राउको आदेश स्वीकृत गरेर।
घटनाक्रम प्रष्ट छ, आम नागरिकको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी संगठन एक नागरिकसँग बदला लिने मुडमा छ। शक्ति देखाइदिने अभिष्टमा छ। त्यसैले उसका लागि आस्थाले आफ्नो गल्ती स्वीकार गर्दै माफिनामासहित बगाएको आँशुको कुनै मूल्य छैन। राज्यले एक नागरिकलाई रुवाइसक्यो। तर, उसको चित्त बुझेको छैन। ऊ आफ्नो शक्ति देखाइदिन चाहन्छ, एक नागरिकलाई अभद्र व्यहारजस्तो सामान्य आरोपको आधारमा हिरासतमै राखेर।
छक्क पार्ने अर्को दृष्य, नागरिकविरुद्ध राज्य संयन्त्र बदलाको मुडमा पुग्दा समाज विभाजित छ। ‘उनले माफी मागिसकिन्, अब किन पक्राउ?’ भन्ने पक्ष नदेखिएको होइन। तर यो स्वरको ‘रेन्ज’ अलिक मधुरो छ। ‘गायिका भएर दम्भ देखाउने, त्यसलाई ठिक पार्नुपर्छ’ भन्ने पक्षधरको स्वर नै कर्कश र चर्को छ।
आस्थामाथि राज्यले गरेको बदलाको तयारीलाई एउटा यस्तो ‘डेमो’का रुपमा हेर्न सकिन्छ, जसको तार राज्यको नियतसँग जोडिन्छ। सामान्य घटना जसको निराकरण गल्ती गर्नेले गल्ती स्वीकार गरी माफी माग्दा समाप्त हुनसक्छ, त्यसलाई माफीमै टुंग्याउनुको साटो प्रहरीलाई पुल्पुल्याउन समाजको ठूलो तप्का सक्रिय हुनु लोकतान्त्रिक राज्यका लागि लाजको विषय हो।
प्रहरीले गायिका आस्थाको ‘फेसबुक लाइभ’लाई काउन्टर दिन चोर बाटो प्रयोग गरेर सार्वजनिक गरेको क्लोज सर्किट टेलिभिजनको मौन दृष्यले देखाइरहेको छ, गल्ती यात्रु आस्थाबाट मात्रै भएको छैन, महिला प्रहरीबाट पनि भएको छ। यात्रुलाई झाङ्गलझुङ्गल बनाउनु, पाखुरामा समातेर तान्नु, ब्यागमा झोल पदार्थ खन्याइदिने प्रयास गर्नु प्रहरीको आचरणभित्र पर्छ र?
विमानस्थलमा आस्थाबाट जुन प्रकारको व्यवहार भयो, त्यो राम्रो होइन। सुरक्षामा प्रहरीलाई सघाउनु नागरिकको पनि दायित्व हो। त्यसमा उनी चुकिन्। तर, त्यसको मूल्य प्रहरी हिरासत होइन भन्न कानुनका कुनै ठेली पल्टाइरहनु पर्दैन। नागरिकको तहबाट भएको सामान्य गल्तीको सजाय विमानस्थलमा सुरक्षाको प्रबन्ध अनी यात्रुले पालना गर्नुपर्ने नियम सम्झाए पुग्छ। आस्थाको व्यवहारमा आपत्ति नै हो भने उनलाई विमानस्थलका उपल्ला तहका हाकिमले कोठामा राखेर १० मिनेट सम्झाएको भए पक्कै यो घटना यो तहसम्म पुग्दैनथ्यो।
विमानस्थलमा आस्थासँग पौंठेजोरी खोज्ने महिला कर्मचारीको व्यवहार प्रहरी संगठनका सदस्यहरुको व्यवहारसँग दाँज्ने हो भने यो व्यवहार पहिलो होइन, पटके हो।
आस्था यस्तो घटनामा चुकेको सायद यो पहिलो घटना होला। यस अगाडि उनले यस्तो व्यवहार गरेको सार्वजनिक भएको थिएन। नेपालको कानुनले पहिलो पटक गरिने कानुन उल्लंघनको घटनालाई नरम रुपमा हेर्छ। कानुन उल्लंघन क्षम्य नहुने भए पनि पहिलो पटक कानुन उल्लंघन अनजानमा पनि हुनसक्छ भन्ने कानुनमा राखिएका दन्ड जरिवनाको प्रावधानले नै देखाउँछ। त्यसैले त कानुनले पहिलो पटक र पटके भनेर वर्गीकरण गरेको छ।
विमानस्थलमा आस्थासँग पौंठेजोरी खोज्ने महिला कर्मचारीको व्यवहार प्रहरी संगठनका सदस्यहरुको व्यवहारसँग दाँज्ने हो भने यो व्यवहार पहिलो होइन, पटके हो। अहिले सडकमा हिँड्दा कुनै प्रसंगवस प्रहरी कर्मचारीसँग ठोक्कियो या प्रहरी कार्यालय जानुपर्ने भयो भने दर्जनौं यस्ता दृश्य सहजै देखिन्छन्।
प्रहरी कर्मचारीले सर्वसाधारणलाई तुच्छ शब्दले सम्बोधन गर्नु र अभद्र व्यवहार गर्नु सामान्य दृश्य लागेरै हुनसक्छ, आस्थाको घटनामा समाजका केही सदस्य यसरी विभाजित भएको र आस्थाको विपक्षमा उत्रिएको। तर, प्रहरीका यस्ता समस्या सामान्य होइनन्, गम्भीर हुन्। त्यसैले यो प्रकरणमा प्रहरीको दुव्र्यवहारलाई छोप्दै आस्था माथिको कारबाहीको प्रक्रियामा सहमति जनाउनु नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी पाएको प्रहरीलाई आम नागरिकमाथि चाहेको बखत, चाहेको स्थानमा अभद्र व्यवहार गर्न अनुमति दिनु हो। के सभ्य समाजले यस्तो असम्भव व्यवहारका लागि राज्यको एक निकायका सदस्यलाई अनुमति दिन सक्छ?
काउन्टरमा गैरकानुनी रुपमा विमानस्थलको सिसिटिभी फुटेज चोर बाटोबाट सार्वजनिक गर्ने, आफ्नो कर्मचारीलाई आफ्नै संगठनमा अभद्र व्यवहारको उजुरी दिन लगाउने, त्यही उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयमा पक्राउको अनुमति माग्ने अनि अनुमति दिनेले पनि प्रकरणका सबै पाटोको विश्लेषण नै नगरी अनुमति दिने जुन काम भयो, यसले राज्यको वास्तविक चरित्र समेत देखाउँछ।
भन्नका लागि हामी लोकतान्त्रिक गणतन्त्र देशका नागरिक हौं। तर, यो प्रकरणले निरंकुश राज्यको झल्को दिन्छ। राज्य एक नागरिकसँग बदलाको मुडमा छ। नागरिकसँग बदला लिने राज्य लोकतान्त्रिक हुनै सक्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।