फागुन १ ले भर्खरै हामीबाट बिदा लिएको छ। एक पुस्ताका लागि यो दिन इतिहास जन्मिएको दिन हो। आगामी अनेकौं पुस्ताका लागि इतिहासका रूपमा रहने दिन पनि यही हो। एक दशकसम्म नेपाली भूमिमा सशस्त्र जनयुद्धको तुवाँलो फैलिएको दिन हो यो। हजारौं योद्धाहरुको सहादतका लागि तिथिमितिको तोकिएको दिन।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले संसदीय शासन प्रणालीलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ शासकीय प्रणालीविरुद्ध ‘अधिकार बन्दुकको नालबाट निस्किन्छ’ भन्ने मान्यताका साथ ‘सशस्त्र युद्ध’ सुरु गरेको इतिहास छ यसको। अधिकारको खोजीमा ४२ बुँदे माग राखेर कथित क्रान्तिको गर्भाधान भएको इतिहास। त्यही दिनलाई केन्द्रमा राखेर दुई दशक अघि र अहिलेको अवस्थालाई तुलनात्मक समीक्षा गर्दा यो अवधिलाई एक स्वर्णिम युगको शुरुवात भन्ने वा रक्तपातपूर्ण तथाकथित अधिकारको लडाईं भन्ने?
कालान्तरमा झन् ठूलो वर्गव्यवस्था सिर्जना यसैले गर्यो नाम जे भने पनि। सीमित व्यक्तिले मात्र आफ्नो स्वार्थपूर्तिका लागि ढोङ र लहडमा हतियारलाई सत्तासम्म पुग्ने सिँढी बनाए। विद्रोह भयो। तर सर्वस्वीकार्य विषयवस्तु के मात्रै हो भने विद्रोह मात्रै भयो।१७ हजारले बलिदानी दिए। हजारौं अङ्गभङ्ग भए। सयौं व्यक्तिको अहिलेसम्म पनि अत्तोपत्तो छैन। हिंसाको मनोवैज्ञानिक प्रभावबाट अझैसम्म पनि देश तंग्रन सकेको छैन। त्यसका डोब समाजमा छताछुल्ल छन्।
000
पूर्वीय होस् या पाश्चात्य नै किन नहोस्, दुवै सभ्यताले मानिस आदिमकालदेखि ‘विवेकशील प्राणी हो’ भन्ने मान्यतालाई पछ्याएका छन्। जीवात्मा र प्रकृतिसम्बन्धी प्रतिपादित सिद्धान्तहरूले पनि यही भन्छन्। मानिसमा चेतना छ, त्यसैले उ सर्वश्रेष्ठ मानिन्छ। मानिसमा बुद्धि र विवेक छ, त्यसैले ब्रह्माण्डमा अरुभन्दा भिन्न छ ऊ। मानव अधिकारसहित बाँच्न चाहन्छ, त्यसैले त ऊ स्वभावैले अधिकारको खोजीमा छ। इतिहासको लेखक स्वयं मानिस नै भएर होला, हामी आजका दिनसम्म आफूलाई सर्वश्रेष्ठ भनेर दाबी गरिरहन्छौं।
मानिसलाई बुद्धिमान र विवेकशील प्राणी करार गरिरहँदा नियतवस होस् वा समयको मागले होस् फागुन १ कै सेरोफेरोबाट ‘रगतको खोला’ बग्न सुरु भयो। बिहान घरबाट शिक्षा दिन स्कुल निस्केको शिक्षकको निर्ममतापूर्वक हत्या भएका समाचार सुनिन्थे। कारण, स्वतन्त्रता, समानता र वर्गविहीन समाज निर्माणका लागि। यस्तो समाज निर्माणका लागि युद्ध उत्तम विकल्प ठानियो। युद्धमा सबैकुरा जायज थियो। रोजीरोटीको लागी परदेश हिँडेकाहरू एम्बुसमा परेर खरानी भएका समाचार सुनिन्थे। कारण, युद्धको नजरमा सबै दोषी नै हुन्थे। मानवीयता र संवेदना खोक्रो आदर्श। बाटो देखाएको निउमा घाँटी रेटिए, आँखा फुटाइए। कारण थियो- यी सबै कुकृत्य क्षमायोग्य छन्। अग्रगमनतिरको यात्राका लागि।
000
खुला र सभ्य समाजमा जनताले राज्य तथा सम्बद्ध पात्र र चरित्रमाथि प्रश्न गर्न पाउने अधिकार नै आधुनिक लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो। त्यही मानव अधिकार हो, र त्यही समाजको अग्रगमन हो। यो बीचमा नेपाली माटोमा पनि धेरै प्रश्न उठे। अधिकारका प्रश्न उठे। न्याय, समानता र मानवताका प्रश्न उठे। समावेशीकरणका मुद्दा उठे। सम्मानपूर्वक बाँच्न पाउने हकका कुरा उठे। स्वतन्त्रताका अनगिन्ती अधिकारहरू कानून र संविधानमा लेखिए।


तर, नियति न हो। भू–धरातलीय यथार्थता बदलिएन। सार्वजनिक जवाफदेहिता हराउँदै गयो। मानवीयताको परिधि संकुचित हुँदै गयो। अधिकारको खोजी फराकिलो हुँदै गयो तर कर्तव्य र दायित्व लोप हुँदै गए। व्यक्ति बलियो बन्दै गयो। तर समाज र सामाजिक मुल्यहरुमा धमिरा लाग्दै गए। त्यसैले होला, आज समाज ध्रुवीकृत अवस्थामा छ। क्रान्ति गर्दैगर्दा कल्पना गरिएको समतामूलक समाज पूँजीवादको खाडलमा धकेलिएको छ। राज्य व्यक्तिप्रधान बनिसकेको छ। राज्यका हरेक संयन्त्र व्यक्तीमुखी भएका छन्। हाम्रा अधिकांश निर्णय प्रक्रिया र त्यसबाट सिर्जित प्रतिफलको सन्दर्भमा जवाफदेहिता, पारदर्शिता, योग्यता, न्याय, निष्पक्षता र विवेकको सामान्य प्रयोग हराउँदै छ।
भ्रष्ट्राचारले आक्रान्त छ, तर पनि कोही बोल्दैनन्। सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको छ तर नियतिको तुवाँलोभित्र समाज मौन छ। राज्यका संयन्त्रहरू सरकारमा रहेको राजनीतिक दलको प्रतिछायाका स्वरुपमा देखिन थालेका छन्। कानुनी शासन र संविधानवाद जिब्रो जिब्रोमा छ तर व्यवहार विल्कुल उल्टो। त्यसैले होला, भ्रष्टाचारको मुद्दा पनि आज राज्यकै नीतिगत निर्णयभित्र परेका समाचार हरेक दिन आउँछन्।
हत्या, हिंसा र बलात्कारका घटना दिनानुदिन बढ्दो छन् तर पनि समाजले कारण खोज्दैन, नियति सम्झेको छ। असीमित अधिकारसहितको सरकार, अमितव्ययी व्यवहार, सही व्यक्ति सही पदको उपहास, भ्रष्ट्राचारप्रतिको बदलिँदो परिभाषा, राज्य दोहन प्रति विरोधाभाषपूर्ण नीति, अधिकारको खिचलो, जनताको सुविधाका लागि नभई सरकारको भोगचलन र सुविधाका लागि उठाइने कर, मनपरी सुविधा भोग विस्तारै वैध र पाच्य बन्दै गइरहेको छ। जवाफदेहिता, पारदर्शिता र सुशासनजस्ता विषय क्रमशः गौण बन्दै गएका छन्। तर समाज कति पनि प्रतिकार गर्दैन।
देशको सार्वभौमिकता र अखण्डताको कुरा उठ्दा पनि समान आवाज नबोल्ने कस्तो समाज यो? मलगायत अधिकांश आम मानिसलाई लाग्दो हो, समयचक्र उल्टो गतिमा छ। यहाँ बोल्नुपर्ने कुरा बोलिदैन र लेखिनुपर्ने कुरा लेखिँदैनन्। वर्गसंघर्ष भन्दै लडेका आफ्नै सहयात्रीको सामन्ती अवतार हाम्रा लागि अभिशाप बनेको छ।
000
इतिहासले सबै विषयमा मूल्य खोज्ला वा नखोज्ला, वर्गसंघर्षका नाममा लडिएको लडाईको सान्दर्भिक नतिजा मूल्यांकन गर्ला वा नगर्ला भन्न सकिन्न। दाई र भाइबीचको काटमारपछि बगेको रगत वाष्फीकरण भएर लागेको तुवाँलो फाटेर सूर्यको प्रकाश देखिएला वा नदेखिएला त्यो पनि भन्न सकिन्न । र पनि तमाम आम जीवन चलिरहन्छ यहाँ।
सूर्यलाई हत्केलाले छेक्ने प्रयास सायद निरन्तर भइरहनेछ। निरन्तरताभित्रको क्रमभङ्गता।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।