काठमाडौं- नेपाली बजारमा इन्ट्रिलेवलका कार धेरै बिक्री हुँदै आएको पाइन्छ। सबैजसो ब्रान्डका इन्ट्रिलेवलका कार उपलब्ध रहेका छन्। सुरुमा कार चढ्नेहरुको रोजाइमा पनि इन्ट्रिलेवल कार नै पर्ने गरेको छ।
नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँको ड्याटसन रेडी गोदेखि ६ करोड ५० लाख रुपैयाँसम्मको लेक्सस आरएस ४५० डी उपलब्ध रहेको छ। उक्त मूल्यमा पाइने ड्याटसन रेडी गो ७ सय ९९ सिसीको भारतमा बनेको गाडी हो।

नाडाले आफ्ना सदस्यहरुबाट संकलन गर्दा उपलब्ध भएका सवारीको अधिकतम खुद्रा बिक्री मूल्य सूचीमा सबैभन्दा महँगो गाडी टोयोटाको लग्जरी ब्रान्ड लेक्ससको गाडी रहेको छ। ६ करोड ५० लाख रुपैयाँ पर्ने लेक्सस ४५० डी, एटी, ५ ढोकायुक्त कार हो। फोरडब्लूडीसहितको यो कार जापानमा बनेको र ४४ सय ६१ सिसीको इन्जिन रहेको छ।
त्यस्तै इन्ट्रिलेवल कारमा नाडा बुधबार सार्वजनिक गरिएका गाडीको मूल्यअनुसार ३० लाखभन्दा कम मूल्यमा आउने कारमा हुन्डाई सेन्ट्रो, ड्याट्सन रेडी गो, मारुती सुजुकी अल्टो, फोर्ड फिगो र टाटा टियागोलगायत रहेका छन्।
सुजुकी अल्टोः नेपाली सडकमा सबैभन्दा बढी गुड्ने इन्ट्रिलेवल कारमा अल्टो पर्छ। सिजी मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको अल्टो ७ सय ९६ सिसी इन्जिन क्षमताको कार हो। यसको सुरुवाति मोडलको मूल्य १८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
हुन्डाई सेन्ट्रोः नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको हुन्डाई सेन्ट्रो नेपालमा निकै चर्चित मोडल हो। कम्पनीले यसमा १०८६ सीसी क्षेमताको फोर सिलिण्डर इन्जिन उपलब्ध गराएको छ। यसको सुरुवाती मूल्य २३ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
डाट्सन रेडी गोः डाट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको रेडी गो सबैभन्दा सस्तो मोडल हो। ७ सय ९९ सिसी क्षमताको रेडी गो नेपाली बजारमा १९ लाख ९९ हजार रुपैयाँ पर्छ।
फोर्ड फिगोः फोर्डको आधिकारीक वितरक जिओ फोर्डले बिक्री गर्दै आएको यस कारमा ११ सय ९४ सिसी क्षमताको इन्जिन रहेको छ। कम्पनीले अहिले नेपालमा बिक्री गर्दै आएको फिगोको सुरुवाती मूल्य २८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
रेनो क्विडः रेनोको लागि नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइलले भित्र्याएको क्विड ९ सय ९९ सिसी इन्जिन क्षमतामा उपलब्ध छ। कम्पनीले यसको मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेको छ।
टाटा टियागोः सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको टियागोमा ११ सय ९९ सिसी इन्जिन क्षमता रहेको छ। कम्पनीले यसको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेको छ।
नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका दर्जनौं मोडलका सवारी उपलब्ध रहेका छन्। भारतदेखि युरोप तथा अमेरिकासम्म उत्पादित सवारी उपलब्ध रहेका छन्। पछिल्लो समय इलेक्ट्रिक कारको माग समेत बढ्दै गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।