काठमाडौं- देउडा गीतप्रेमी हो तर उसले ‘जौँ पात’ गीत नसुनेको भन्ने हुनै सक्दैन। किनभने यो गीत देउडाप्रेमी माझ यति प्रिय छ कि मेलापर्वमा देउडा खेल्दासमेत धेरै गाइने भाकामा पर्छ।
अघिल्लो पुस्ताका गायक भोजराज भट्टको यो गीत सुन्ने पुस्ताले निकै सुन्यो। वर्तमान हेर्ने पुस्तालाई लक्षित गरेर ‘रिमेक’ बनाइएको छ। उक्त गीतमा महिला स्वर छ, पुष्पा बोहराको।
केही दिनअघिमात्रै रिलिज गीत अहिलेको पुस्ताले उत्तिकै रुचाएको प्रतिक्रिया दिइरहेका छन्। गीतको चर्चासँगै गायिका बोहराको पनि चर्चा भइरहेको छ।

दुई महिनाअघिमात्रै उनको अर्को चर्चित गीत ‘मुइ डोली चढ्न्याँ बेला’को सिक्वेल आएको थियो। वीरेन्द्र जुहारीको उक्त गीतमा महिला स्वर पहिले पनि पुष्पाकै थियो। यसअघि ‘मान्छे चिन्ने हो’ गीतले उनलाई स्रोतामाझ चिनाउन सघाएको हो। एक दशकदेखि लोक संगीतमा रमाइरहेकी उनी पछिल्ला दिनमा आइरहेका यी गीतबाट आशावादी पनि छिन्। संगीत पारखीमाझ जँचिरहेको शैलीमा आएको गीतबाट प्राप्त प्रतिक्रियाले उनलाई उत्साहित बनाएको छ।
लोकगीत प्रेमीमाझ उनको यसअघि ‘सोल्टीज्यू’ चर्चित भएको थियो। उक्त गीतमार्फत लोकदोहोरी अवार्ड-२०७३ को उत्कृष्ट नव गायिकामा पर्न सफल भएकी थिइन्। उनका दर्जनभन्दा बढी गीत हिट भइसकेका छन्। उनका ‘सोल्टीज्यू’ बाहेक ‘तिम्रै झल्को’, ‘मेरै हौ कि’ ‘दुना टपरी’लगायतका दोहोरी गीत चर्चित छन्।
लोक दोहोरी, देउडा र आधुनिक गीतमा समेत स्वर दिइरहेकी पुष्पा पछिल्ला वर्षहरुमा फक्रिरहेकी छन्। गीतसंगीतमा भेलबाढी नहुने चाहना पुरानै हो। त्यसैले आफ्नो संगीतयात्रा निरन्तर अघि बढाइरहेकी छन्। झण्डै १० वर्षअघि तत्कालीन राजाको जन्मदिनमा आयोजित गायन प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेकी थिइन् उनले। सुदूरपश्चिमको दार्चुलाबाट गीत गाउन काठमाडौं आएकी उनको गायन यात्रा त्यहीँबाट सुरु भएको हो।
गीत संगीतको दुनियाँमा पाइला चाले पनि उनी दौडिन खोजिनन्। ‘परिपक्व भएरमात्रै यो क्षेत्रमा एकोहोरो भएर लाग्ने मेरो चाहना थियो। त्यसैले लामो समयसंगीत सिकें,’ पुष्पाले भनिन्। सिक्ने क्रमलाई उनले अझै पनि छाडेकी छैनन्। निरन्तरको साधनाले मात्रै सफलता दिलाउँछ भन्ने उनलाई थाहा छ।
गायनमा आत्मबल जागेपछि उनी पूर्ण रुपमा गायन क्षेत्रमा लागेको बताउँछिन्। तर, समय र उनको सोचको तालमेल मिल्न थप समय लाग्यो। त्यसैले संगीतमा उनका दिन बल्ल फिर्दैछन्।

लोक र आधुनिक गीतमा अझै संघर्षरत देखिए पनि देउडामा त उनी चर्चित गायिका मध्येमै पर्छिन्। देउडामा उनको निकै गीत हिट छन्। तीमध्ये ‘आया कञ्चनपुरका मेला’, ‘बर्याँतका दिन’, ‘मैं डोली चढ्ने बेला’, ‘झ्याम्म पैतली’लगायतका गीत निकै चर्चामा रहेकामध्ये पर्छन्। यिनै गीतका कारण विगत केही वर्षदेखि सुदूरपश्चिम र सुदूरपश्चिमेली रहेको विश्वका विभिन्न भागमा हुने प्रायः कार्यक्रममा निम्त्याइने गायिकामध्ये उनी पर्छिन्।
पुष्पा भन्छिन्, ‘सुदूरपश्चिमका सबै जिल्ला र केही विदेशी भूमिमा पुगेर समेत गीत गाइसकें।’ उनी निरन्तर कुमाउ, गढवाल र दार्चुलालगायतका भारतीय भूमिमा र धेरै नेपाली बसोबास गर्ने सबै भारतका शहरमा गीत गाउन गइरहन्छिन्। उनको पहिलो गीत भने काँठे भाकाको थियो। देशव्यापी गायन प्रतियोगितामा तेस्रो भएपछि उनका अंकलका साथीले काँठे भाकाको गीत लेखिदिएर गाउन लगाएका थिए।
त्यसपछि उनले डोरेमी संगीत पाठशाला र प्रसिद्ध संगीत गुरु चण्डीप्रसाद काफ्लेसँग लामो समय संगीत सिकिन्। संगीतको औपचारिक अध्ययनले उनलाई संगीत क्षेत्रमा टिकिरहन सघाएको हो। नत्र भने हिट हुँदा यही रहने र नहुँदा अर्कै बाटो तताउनेको लाइनमा उनको नाम पनि हुन्थ्यो।
गीत गाउनेमात्रै होइन, आफूले जानेको संगीत सिकाउने पनि उनी गरिरहेकी छन्। केही संगीत प्रतियोगिताकी जजका रुपमा पनि उनले भूमिका निर्वाह गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।