काठमाडौं- चीनको वुहानबाट २०१९ अन्त्यमा देखिएको कोभिड १९ (कोरोना भाइरस) अहिले विश्वभर फैलिएको छ। हालसम्म औषधि पत्ता लाग्न नसकेका कारण यो भाइरस नियन्त्रमा आउन सकेको छैन।
यसले मानवीय जीवनका साथै व्यवासयमा समेत ठूलो प्रभाव परेको छ। यस्तैमा भारतीय अटोमोबाइल बजार पनि त्यसबाट प्रभावित देखिएको छ।
चीनबाट भारतमा ठूलै मात्रमा अटो कम्पोनेन्टहरू आयात हुने गरेको छ। २०१९ को अन्तिमदेखि नै चीनबाट आयात प्रभावित भएकाले समस्या देखिएको छ। आगामी अप्रिल १ देखि भारतले अनिवार्य रूपमा बिएस–६ प्रदूषण मापदण्ड भएका सवारीमात्र दर्ता गर्न पाइने नियम कार्यान्वयनमा ल्याउँदै छ।
तर, भारतीय उत्पादनमा त्यति ठूलो असर नपरेको मारूती सुजुकीका प्रमुख आरसी भार्गवले द इकोनोमिक्स टाइम्ससँग भनेका छन्। ‘अहिले यहाँ प्यानिक अवस्था छैन,’ उनले भने, ‘कोरोनाको प्रभाव यो क्षेत्रमा कम हुँदै गएको छ।’
वास्तवमै भारतीय अटो क्षेत्र सुधारोन्मुख रहेको अटो उद्योगीहरूको भनाइ छ। ‘नयाँ आउने हरेक साताहरू वितेकाभन्दा सकारात्मक देखिएका छन्,’ महिन्द्राका चिफ पर्चेज अफिसर हेमन्त सिक्काले भने, ‘सबै जसो चिनियाँ सप्लायर्सहरूले कमै क्षमतामा भएपनि सामान उत्पादन गर्न थालिसकेको बताएका छन्।’
यही रफ्तारमा उत्पादन बढ्दै गयो भने अप्रिल १५ सम्ममा चीनबाट आउने सामान सामान्य अवस्थामै आउन थाल्ने उनको भनाइ छ। भारतमै कतिपय उद्योगहरूले चीनबाट आउने कम्पोनेन्टहरू समेत उत्पादन थालेकाले पनि समस्या निराकरणतर्फ भएको विज्ञहरूको भनाइ छ।
भारतीय कार बजारमा १० देखि ३० प्रतिशतसम्म कम्पोनेन्ट चिनियाँ सप्लायर्सहरूले सप्लाई गर्दै आएका थिए। यसमध्ये धेरै सामान ब्रेकिङ र स्टेरिङ सिस्टम, इन्जिन पार्टस र इलुमिनेसन सिस्टका थिए। ‘विगतमा चीनसँग त्यस्ता सामाग्रीको परनिर्भरता धेरै नै थियो,’ अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डियाका महानिर्देशक भिनि मेहताले भने, ‘तर अहिले आन्तरिक उत्पादकहरूले नै यसको उत्पादनलाई प्राथमिकता दिन थालिसकेका छन्।’
भारतमा सप्लाइ गर्ने सयौंको फ्याक्ट्रि चीनको हुवेइमा रहेको छ। २०१८–१९ मा चीनबाट भारततर्फ ४ अर्ब ५० करोड अमेरिकी डलर बराबरको अटोमोटिभ कम्पोनेन्ट निर्यात भएको थियो।
चीनमा देखिएको समस्या र त्यसको प्रभावमा परेको कम्पोनेन्ट क्षेत्रका कारण भारतको बिएस–६ रूपान्तरणमा समस्या नपर्ने दाबी विज्ञहरूले गर्दै आएका छन्।
यसको नतिजा भने केही समयपछि मात्र देख्न पाइने छ। भारतीय अटो बजारमा कोरोनाको प्रभाव कम देखियो भने त्यसको प्रभाव नेपाली अटो बजारमा भने झनै कम देखिने छ। नेपालमा कम्पोनेन्ट आयात गरि सवारी एसेम्बल हुने नभइ तयारी सवारी आयात गरिँदै आएको छ। कोरोना तथा भारतमा बिएस–६ इन्जिनयुक्त सवारी मात्र उत्पादन हुने हुँदा सवारीको मूल्य भने केही बढ्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।