काठमाडौं- डच कम्पनी पल-भीले विश्वमै पहिलो व्यवसायिक कार उत्पादनको तयारीमा लागेको छ। यो कारलाई व्यक्तिगत प्रयोजनमा समेत उडाउन पाउने गरी कम्पनीले बनाइरहेको छ। पल-भीले यसलाई विश्वकै पहिलो ‘कमर्सियल पर्सनल एयर ल्यान्ड भेइकल’ भनेको छ।
यो कारको परीक्षण भारतमा छिट्टै सुरु हुँदैछ। ‘हामीले हालै प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर हाम्रो प्रविधिका बारेमा प्रदर्शन गरेर जानकारी गराएका छौं,’ पल-भीका को-प्रमुख जान पिटर कोनिङले द इकोनामिक्स टाइम्स ग्लोवल समितमा भनेका छन्, ‘हामीले भारतमा फ्लाइङ कारको परीक्षण जति सक्दो छिटो सुरु गर्नेछौं।’
यद्यपि कम्पनीले हालसम्म भारतमा फ्लाइङ कार सार्वजनिक गर्ने समयसीमा भने यकिन गरेको छैन। फ्लाइङ कारमा दुई जनासम्म यात्रु बस्न मिल्छ भने जमिनमा गुडाउन तथा सिधै उडाउन समेत मिल्छ। यो सवारीको प्रोटोटाइप २०१२ मै प्रदर्शन गरिएको थियो। सबै तयारी गरेर कम्पनीले यो फ्लाइङ कार अर्को वर्षसम्ममा व्यक्तिगत रुपमा बिक्री गर्न सकिने दाबी गरेको छ।

कम्पनीले यो फ्लाइङ कारमा इमर्जेन्सी ल्यान्डिङ सुविधा समेत दिएको छ। ‘हामीले हाम्रो सवारी विश्वभरको बजारमा उपलब्ध गराउने पर्नेछ। त्यसैले यसको मेन्टेनेन्स खर्च निक्कै कम हुन्छ, यानिकी हेलिकोप्टर मर्मत खर्चको १० भागको १ भागमात्र हुनेछ,’ जानले भनेका छन्।
यो सवारीमा युरोपियन एभिएसन सेफ्टी एजेन्सी र फेडेरल एभिएसन अथोरिटीका नियमसहित विद्यमान अन्तर्राष्ट्रिय वायु तथा जमिनमा लाग्ने नियम परिपालन गर्ने गरी बनाइएको छ।
यो सवारी खरिदकर्ताका लागि कम्पनी उडान गर्ने अनुमतिपत्र लिन तालिम दिनेछ। तालिमका लागि ३५ देखि ४० घण्टा लाग्ने अनुमान गरिएको छ। यो फ्लाइङ कार औषधोपचार तथा भिआइपी ट्याक्सी सर्भिसका रुपमा समेत उपयोग गर्न सकिने दाबी कम्पनीले गरेको छ।
तत्कालका लागि सार्वजनिक सवारीको रुपमा प्रयोगमा ल्याउन भने केही चुनौती रहेको कम्पनीका को-प्रमुख जानको भनाइ छ। यसका लागि पहिले निश्चित नियम तथा पूर्वाधारको आवश्यकता रहेको उनले बताए। यो सवारी पूर्वविद्युतीय हुनेछ। फ्लाइङ कार विश्वभर सार्वजनिक सवारीको रुपमा प्रयोगमा आउन २०३० सम्म पर्खनुपर्ने जानको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।