मौसम परिवर्तनसँगै हल्का रुघा खोकी लाग्नु सामान्य नै हो। तर, रुघा खोकीसँगै उच्च ज्वोरो आएमा तथा श्वास प्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पताल जानु पर्दछ। कोभिड-१९ (काेराेना भाइरस)काे संक्रमण भएमा पनि यही खालकाे लक्षण देखा पर्छ। यसकाे प्रकोपबारे हाल थप अध्यन र अनुसन्धान भइरहेको छ।
कोभिड- १९ एक नयाँ भाइरस प्रजाति हो, जुन पहिलो पटक मानवजातिमा पहिचान भएको छ। यसले हाम्रो स्वास नली हुँदै फोक्सोमा संक्रमण गरी थप जटिलता उत्पन्न गर्दछ। समयमा आवश्यक उपचार भएन भने यसले ज्यान लिन सक्छ। कोभिड-१९ बारे केहि चर्चा गरौं।
१) यो संक्रमण कसरी फैलन्छ?
- यो भाइरस मुख्यरुपमा एक संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ।
- यदि बिरामी व्यक्ति अरु सामान्य मानिससँग करिव ६ फिटभित्रको दूरीमा छ भने अर्को व्यक्तिलाई यो रोग सर्ने सम्भावना धेरै रहन्छ।
- संक्रमित व्यक्ति खोक्दा वा हाछ्युँ गर्दा उत्पादित थुकका छिटा स्वस्थ मानिसको नाक मुखमा परि फोक्सोसम्म पुगेर यसले संक्रमित गराउन सक्छ।
२) लक्षण नदेखिएको बिरामीले भाइरस फैलाउन सक्छ?
मुख्यरुपमा संक्रमित व्यक्तिले यो भाइरस फैलाउने गर्दछ। तर, लक्षण नदेखिएको बिरामीले पनि भाइरस सार्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।
३) संक्रमित वस्तु तथा सतहहरूकाे सम्पर्कबाट यो भाइरस सर्ने गर्दछ?
संक्रमित व्यक्तिको भाइरस भएको हातले कुनै वस्तु वा सतहलाई छोए, उक्त वस्तु वा सतहलाई स्वस्थ मानिसले छोएर आफ्नो मुख, नाक वा आँखामा छोएमा कोभिड- १९ सर्न सक्दछ।
४) कोभिड- १९ का लक्षण के-के हुन्?
बिरामीहरूमा हल्का लक्षणदेखि गम्भीर प्रकृतिका लक्षण देखिन्छ। जटिल संक्रमण भएमा बिरामीको मृत्युसमेत हुन्छ।
सामान्यतया लक्षणहरू जस्तैः रुघा खोकी, श्वास प्रश्वासमा समस्या तथा उच्च जोरोकाे संक्रमण भएको २-१४ दिनभित्रमा देखा पर्दछ। यस्तो अवस्थामा नजिकको स्वास्थ्य संस्थामा गइ आवश्यक सल्लाह र उपचार लिनु पर्दछ।
५) कोभिड- १९ को संक्रमणबाट आफू र अरुलाई कसरी जोगाउने?
हालसम्म यसकाे संक्रमणबाट जोगिनको लागि कुनै औषधी अथवा खोप पत्ता लागेको छैन। त्यसैले यो संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको भाइरसको संसर्गबाट टाढै रहनु हो। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन वेवसाइटका अनुसार निम्न लिखित बुदाँहरुमा ध्यान दिएमा यसकाे संक्रमणबाट बच्न सकिन्छ।
- बिरामी मानिसहरूसँग सम्पर्कबाट टाढा रहनुहोस्।
- हातले आँखा, नाक, र मुख छुने बानी छोड्नुहोस्।
- बिरामी भएको बेला डाक्टरको सल्लाहमा अस्पताल वा घरमा आराम गर्नुहोस्।
- खोक्दा वा हाछ्युं गर्दा रुमाल अथवा नरम कपडाले मुख छोप्नुहोस्।
- आफ्नो हात नियमित सरसफाई गर्नुहोस् साथै स्प्रे वा वाइप प्रयोग गरी प्राय: छोइने वस्तुहरू र सतहहरू सफा र किटाणुरहित पार्नुहोस्।
- संक्रमणको लक्षण देखिएमा मास्कको उचित प्रयोग गर्नुहोस्, जसले गर्दा अरुलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ।
६) कोभlड- १९ को उपचार कसरी गर्ने?
हालसम्म कोभिड- १९ को उपचारको लागि सिफारिस गरिएको कुनै विशेष एन्टी भाइरल औसधी पत्ता लागेको छैन। आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाउने नै सबैभन्दा उत्तम उपाय हो। जसको लागि प्रयाप्त आरामको साथसाथै प्रसस्त फलफूल र झोलिलो खाने कुराको सेवन गर्नु पर्दछ।
७) तपाईंमा संक्रमण देखियो भने के गर्ने?
- सर्वप्रथम आफूबाट आफ्नो घर तथा समुदायमा संक्रमण हुन बाट जोगाउनु होस्।
- चिकित्सा सेवा प्राप्त गर्न बाहेक आफ्नो घरमै आराम गर्नुहोस्।
- आफ्नो कामकाजबाट केहि समयलाई विश्राम लिनुहोस्।
- सार्वजनिक क्षेत्रमा नजानुहोस् साथै सार्वजनिक यातायातमा यात्रा नगर्नुहोस्।
- घरमा अन्य व्यक्ति र जनावरहरूको सम्पर्कबाट अलग रहनुहोस्।
- डाक्टरलाई भेट्नुअघि फोनबाट जानकारी गराउनुहोस्।
- यदि तपाईं बिरामी हुनुहुन्छ अथवा बिरामीको हेरचाह गर्दै हुनुहुन्छ भने उचित मास्कको प्रयोग गर्नुहोस्।
- व्यक्तिगत प्रयोग गरेका वस्तुहरू अरुलाई प्रयोग गर्न नदिनुहोस्।
- आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकलाई नियमित जानकारी गराउनुहोस्।
विश्व स्वास्थ्य संगठनले कोभिड- १९ लाई स्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ र हालसम्म यो संक्रमण १०० भन्दाबढी देशमा फैलिसकेको छ। यसबाट संक्रमितको संख्या १ लाख नाघिसकेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड- १९ को मृत्यु दर ३-४ प्रतिशत छ। हालसम्म ४ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। बालबालिका तथा बुढाबुढी साथै रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने मानिसहरूमा यसकाे छिटो संक्रमण हुने गरेकाे छ।
डाक्टरको उचित सल्लाहमा उपचार गरेर संक्रमित व्यक्ति पूर्ण निको भैसकेका छन्। समग्रमा यो संक्रमण हुने बित्तिकै आतिहाल्नु पर्ने अवस्था छैन। तर, यस महामारीबाट बच्नको लागि आवश्यक सावधानी अपनाउन जरुरी छ। सबैले आ-आफ्नो स्थानबाट सहयोग गरे यो संक्रमणलाई भयावह हुन बाट जोगाउन सकिन्छ।
(लेखक: अनुप पाण्डे, पी.एच.डी अध्यनरत सिरिराज हस्पिटल, बैंकक थाइल्याण्ड)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।