काठमाडौं– सिर्जना खत्रीलाई परिचय ‘हाउडे माया’ उपनामले चिन्नेहरु धेरै छन्। यो उनको स्वभावले बनेको नाम होइन। उनको स्वभाव त सिर्जनशील छ, त्यसैले सिर्जना नै उनका लागि सही नाम हो।
‘हाउडे माया’ चाहिँ गीतले दिएको नाम हो । यो उनको पहिलो गीत थियो। आफैंले शब्द, संगीत र स्वर भरेको उक्त गीतले उनलाई गायिका बनाइदिएको हो।
त्यसपछि उनको ‘नौटकी माया’, ‘लाहुरे माया’ हुँदै ‘डबल माया’सम्म पुग्यो । यी गीतहरु वर्तमान समयका प्रेमीका फरक रुपको वयान गर्ने क्रमका उपक्रम हुन्। गीत मायाका नाममै निकालिरहिन्। दर्शस्रोताले पनि उनीप्रतिको माया बढाउँदै लगे। जसले गर्दा उनी अहिले स्टेज कार्यक्रमका लागि व्यस्त गायिकामध्येमा पर्छिन्।
वर्तमान अवस्थामा आइपुग्न उनले निकै घुमाउरो बाटो हिँड्नुपरेको छ । स्कुले उमेरमै गायिका बन्ने रहरले गाँजेकी उनलाई परिवारले एसएलसीपछि सिन्धुपाल्चोक ( उनको जन्मथलो)कै कुनै कलेजमा पढाउन चाहन्थ्यो। तर, उनले आफन्तकहाँ बसेर काठमाडौंमा पढ्ने निधो गरिन्।

परिवार छोरीको चाहनाको अवरोधक बन्न चाहेन । गायिका बन्न प्रतिभाले मात्रै पुग्दै खर्च गर्न सक्ने आर्थिक क्षमता हुनुपर्छ । सुरुवाती दिनमा आर्थिक क्षमता उनीसँग थिएन । काठमाडौंमै आफ्नो गाँसबास आफैंले जुटाउनु पर्ने अवस्थाका परिवारकी सदस्य हुन् उनी । त्यसैले जागिर प्राप्त गर्ने पेशा खोज्न थालिन् । आरजे÷भीजे सिकेर रेडियो वा टिभीमा जागिर पाइने साथीहरुको सल्लाह उनलाई तत्कालिन समयका लागि सही लाग्यो।
त्यति सिकेर उनी सगरमाथा टिभीमा मनोरञ्जन बिटकी सम्बाददाताका साथै ‘पाठशाला’ नामको शैक्षिक कार्यक्रमकी सञ्चालिका बनिन् । डेढ वर्ष यो क्रम चल्यो।
उनलाई बन्नु गायिका नै थियो । एकाएक टिभीबाट पाइला संगीत विद्यालयतर्फ मोडिन थाले । उनले जागिर छाडेर श्रुति संगीत पाठशाला, गुरुदेव कामत र मुच्र्छना संगीतालय धाइन् झण्डै चार वर्ष।
उनको यो संघर्षमय चार वर्ष परिवारलाई चित्त बुझेन । छोरीले एनजिओतिर जागिर गरोस् वा गाउँमै शिक्षिका भएर आर्थिक उन्नति गरोस् भनेर परिवारका सदस्यले सल्लाह दिइरहन्थे।
आफ्नो खर्च जुटाउन कुनै सञ्चारमाध्यममा पार्ट टाइम काम गरिरहेकी उनी घरमा भने फुल टाइम अफिसमा खटिरहेको भनेर ढाँट्थिन्। उनी सम्झिन्छिन्, ‘एक दिन सफल हुन्छु भन्ने आँट थियो । त्यसैले ढाँटेर अघि बढें।’

चार वर्ष संगीत सिकेपछि उनलाई लाग्यो, अब गाउन सक्छु । उनले केही साथीहरुको सहकार्यमा गीत गाइन् तर चित्तै बुझेन । दुईटा गीत रेकर्ड गरेर पनि चित्त नबुझेपछि उनले आफ्ना लागि आफैं गीत लेखिन् । संगीत भरिन् । जुन केही वर्षअघि निस्केको ‘हाउडे माया’ थियो।
रोमान्टिक शैलीको गीतले दर्शकमाझ सिर्जना खत्री होइन, हाउडे मायाका रुपमा परिचित बनायो । पछि उनले त्यसलाई ‘निकन्याम’का रुपमा स्वीकारिन् । अहिले परिचय दिँदा नामका पछाडि ‘हाउडे माया’ जोडिहाल्छिन् ।उनले गाएका अधिकांस गीतमा आफैं शब्द र संगीत गरेकी छिन्।
गीत चर्चित भइरहेका छन्, युट्युबमा हेर्नेको संख्या राम्रै छ । स्टेज कार्यक्रम गरिरहेकै छिन् । तर, वर्तमान शैलीका गीतबाट आफू सन्तुष्ट भने नभएको संकेत गर्छिन् । माहोलअनुसार चल्नुपर्ने बाध्यताका उपजका रुपमा आफ्ना गीतलाई अथ्र्याइन् । उनको रुची भने लोकगीतमा छ । ‘माटोबाट उब्जेका गीतहरुप्रति लगाव छ,’ उनले भनिन्, ‘त्यस्तो गीत गाउन पाएको छैन।’
उनीसँग ठूला सपना छैनन् । मेहनतले जहाँसम्म पुर्याउँछ, त्यहीँसम्म चित्त बुझाउने मनशायका साथ गायन क्षेत्रमा छिन् । उनलाई लाग्छ, ‘ठूलो सपनाले दुर्घटना निम्त्याउँछ । आफ्नो मेहनत र क्षमताअनुसार सपना देख्नुपर्छ।’
उनी आफूलाई गायिकाका साथै सर्जकका रुपमा अघि बढाउन चाहिरहेकी छिन् । सिर्जना नामकी उनी एक हिसाबले आफ्नो नामलाई पछ्याइरहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।