नयाँ दिल्ली- कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरेका छन्। उनले जनतालाई घरभित्रै बस्न आग्रह गरेका छन्। तर उनीहरू दैनिक सामग्री खरिदका लागि भन्दै बजारमा भिड लाग्न भने छोडेको छैन।
बिबिसीका लागि विवेक पाण्डेले कामदारको दैनिकीको बारेमा तयार पारेको फिचर
मजदुरहरूको भेला हुने भारत नोयडाको श्रमिक चोकमा सँधै चिच्याहट लाग्दो हुने गर्छ। यहाँ हजारौं मजदुर कन्सट्रक्सनको मजदुरी खोज्न भेला हुने गर्दछन्।
सानो गल्लीले छुट्टाएको दिल्लीको उपनगर मजदुर छान्नका लागि हट स्पट हो। यहाँ बिल्डर्सहरुले कामका मजदुर यहीँ आएर छानेर लैजाने गर्छन्। यहाँ हरेक बिहान उनीहरु भेला हुन्छन्। ठेकेदार आउछ‚ काममा लैजान्छ। त्यही दैनिकीबाट उनीहरुको घर चल्छ।
हिजोको लकडाउनको घोषणापछि यहाँ पुग्दा यो क्षेत्र सुनसान थियो। केवल चराहरुको आवाजले मात्र वातावरण गुन्जिएको थियो। सँधै मानिसको चिच्याहट र कोलाहल हुने यो क्षेत्र आज अर्कै देखिएको थियो।
यहीँ शान्त रहेको अर्को कुनामा मैले केही मानिसहरु मुख कुल्ला गर्दै गरेको देखें। म सतर्कताका साथ उनीहरुबाट दूरी कायम गर्दै सोधें‚ ‘तपाईंहरुले लकडाउनलाई पालना गरिरहनुभएको छ?’

मेरो प्रश्न खस्न नपाउँदै एक मजदुर रमेश कुमार भने‚ ‘खै हामीलाई काम दिने कोही पनि आएनन् तर पनि कोही आउला कि भन्ने आशमा बसेका छौं।’ रमेश कुमार यहाँ उत्तर प्रदेशको बनदा जिल्लाबाट आएर केही वर्षदेखि कन्सट्रक्सनको क्षेत्रमा मजदुरी गरिरहेका छन्।
‘म यो मजदुरीबाट दैनिक ६ सय रुपैयाँ कमाउथें, मेरो घरमा पाँच जनाको परिवार खानका लागि ममा निर्भर छन्,’ उनले भने‚ ‘म यो कोरोना भइरसको जोखिम जान्दछु। तर म आफ्ना छोरोछोरी भोको भएको कसरी हेर्न सक्छु।’
दैनिक ज्याला मजदुरी गर्ने हजारौं श्रमिकहरुको समस्या रमेशकुमारको जस्तै छ। प्रधानमन्त्रीले तीन साताका लागि लकडाउन घोषणा गरेकाले अब उनीहरुको यो अवधीसम्म यस्तै अवस्था हुने निश्चितप्रायः छ। केही दिनपछि दैनिक मजदुरी गर्नेहरुका लागि खाद्यान्नहरु पनि पाउन मुस्किल हुने उच्च सम्भावना छ।
किसनलाल इलाहावादको दक्षिणी शहरबाट आएर यहाँ रिक्सा चालकको रुपमा कार्यरत छन्। उनले चार दिनदेखि एक रुपैयाँ पनि कमाउन सकेका छैनन्। भारतमा ५०० मानिसमा कोरोना संक्रमित भएको पाइएको छ भने १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

धेरै जसो राज्य सरकारले उत्तर प्रदेश, केरला, दिल्लीलगायतले रमेशकुमार जस्ताहरुको बैंक खातामा केही रकम पठाउने वाचा त गरेको छ तर लागू भइसेकको देखिँदैन। प्रधानमन्त्री मोदी सरकारले पनि लकडाउनका कारण प्रत्यक्ष प्रभाव परेका दैनिक ज्यालादारी मजदुरहरुको बारेमा विशेष ध्यान दिने त भनेको छ। तर त्यहाँ धेरै प्राविधिक चुनौती बाँकी नै छन्।
कम्तीमा ९० प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा कार्यरत छन्। आइएलओका अनुसार सेक्युरिटी गार्ड, सफाइकर्मी रिक्सा चालक, सडक मजदुर, फोहोरो संकलन गर्ने र घरेलु कामदारहरु धेरै रहेका छन्।
उनीहरुसँग पेन्सन हुँदैन, उपचार बिदा हुँदैन, बिदामा पैसा आउँदैन र कुनै पनि प्रकारको इन्स्योरेन्स हुँदैन। यतिसम्म कि उनीहरुको कुनै बैंक खाता पनि हुँदैन। उनीहरु दैनिक प्राप्त नगदबाटै गुजारा चलाउँदै आएका छन्।
यसरी रहेका मजदुरहरु अधिकांश अन्य क्षेत्रबाट बसाईं सरेर आएकाहरू छन्। उनीहरु काम पाउने क्षेत्रमा आवतजावत गर्ने गरिरहने भएकाले एक क्षेत्रमा स्थायी रुपमा बस्न सक्दैनन्। काम पाउनकै लागि एक क्षेत्रबाट अर्को क्षेत्रमा सरिरहने भएकाले उनीहरूको गणनामा पनि समस्या छ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले यो ठूलो चुनौती भएको भन्दै ध्यान राख्नुपर्ने बताए।
‘यस्तो अवस्थामा सरकारले तदारुकता देखाउन जरुरी हुन्छ, मानिसहरू घरभित्रै बन्द हुने भएकाले उनीहरुको आवश्यकताअनुसारको खाद्यान्न, तरकारीलगायतका वस्तु वितरण र खरिद गर्ने स्थान व्यवस्थापन गरिनुपर्दछ‚’ यादवले भने।
उनी खासगरी आफ्नै राज्य उत्तर प्रदेशको चिन्तामा छन्। किनकी यहाँ धेरै जनसंख्या छ।
‘हामीलाई ठूलो चुनौती भनेको मानिसलाई बाहिर निस्कन, एक शहरबाट अर्को शहरमा जान रोक्नु नै हो‚’ उनले भने‚ ‘सामाजिक हेलमेल रोक्न र खाद्यान्नहरुको जोहोको नाममा हुने भिडलाई नियन्त्रण गर्न कठिन छ। त्यस्तै, मानिसहरू आपतकालीन अवस्था भयो भन्दै गाउँ फर्कन खोज्ने भएकाले यो समस्या पनि हुनेछ।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा रहेका र बाहिर राज्यबाट आएका सबै दैनिक मजदुरहरुलाई राज्य सरकारले सहयोग गर्ने बताएका छन्। भारतीय रेल्वे सेवा पनि मार्च ३१ सम्मका लागि बन्द रहेको छ। यहाँ दैनिक सयौं मजदुरहरु कार्यरत रहेका थिए।
उनीहरु पनि दैनिक पनि प्रभावित भएको छ। हजारौं मजदुरहरु लकडाउन हुनुअघि आफ्नो गाउँमा प्रवेशका लागि दिल्ली, मुम्बई र अहमदावादमा लाइन लागेका थिए। यो एक प्रकारको रोग सर्नसक्ने जोखिम थियो । सामूहिक रुपमा मानिसहरु यसरी भेला हुनुले रोग समुदायमा सर्ने जोखिम वृद्धि हुने गर्दछ।
किसनलाल जो रिक्सा चलाउदै आएका छन् उनले चार दिनदेखि एक रुपैयाँ आर्जन गर्न नसक्दा चिन्तामा छन्।
‘मलाई पैसा कमाउन जरुरी छ किनकी मेरो परिवारलाई कमाएर खुवाउने ममात्रै हो।’ उनले भने‚ ‘सरकारले हामीलाई पैसा दिने भनेको सुनेको छु तर मैले कसरी पाउँछु‚ केही थाहा छैन।’ किसनलालका साथी हुन् अली हुसेन जो सफाई मजदुरको काम गर्दछन्।
उनी अहिले खाना किन्नका लागि पैसाविहीन भएका छन्। ‘दुई दिनदेखि पसलहरु बन्द छन्, मैले काम पनि पाएको छैन, काम गरेबापतको पैसा पनि पाएको छैन‚’ उनले दुखेसो पोखे‚ ‘कहिले खुल्छ केही थाहा छैन, म धेरै तनावमा छु मेरो परिवार छ कसरी उनीहरुलाई बचाउने हो थाहा छैन।’
हजारौं भारतीयहरु सडक व्यपारबाट दैनिक गुजारा गर्दै आएका थिए। ती मानिसहरू जसका साना व्यवसाय थिए‚ उनीहरु अहिले बिचल्लीमा परेका छन्।
सडकमा युवाहरुलाई लक्षित गरेर चिसो बेच्दै आएका मोहमद सविर अहिले दिक्क मानिरहेका छन्। गर्मीको सिजन भर्खर सुरु भएकाले उनले आफ्नो व्यवसाय चलाउन दुईजना मानिस पनि राखेका थिए तर यही समयमा कोरोना फैलिएर बन्द गर्न परेको छ। उनी यो सिजनमा आर्जन गरेर वर्षभरि पुर्याउने गर्थे।

‘म अहिले उनीहरुलाई पैसा दिन सक्ने अवस्थामा छैन। आफ्नै परिवारलाई धान्न सक्ने पनि पैसा छैन‚’ उनले भने ‘हामी गाउँमा किसानी गरेर केही कमाउथ्यौं तर यो वर्ष असिनाका कारण बाली नष्ट भएकाले मेरो सहयोगको आस गरिरहेका थिए।’ कोरोना भाइरसका कारण निकै असहज समय आएको उनले बताए।
‘म आफैं सहयोगविहीन भएको छु‚’ उनले भने‚ ‘मलाई डर लागिरहेको छ‚ कतै भोकमरीले हामीलाई कोरोना भाइरस हुनुअघि नै त मार्दैन!’
देशमा सबै गतिविधी बन्द छन्। कोरोनाको प्रभावमा परेको अर्को क्षेत्र पर्यटकीय क्षेत्र पनि हो।
तेजपाल कस्यप जो इन्डिया गेटमा फोटोग्राफी गरेर गुजारा चलाइरहेका थिए‚ उनी पनि अहिले निराश छन्। उनको अनुभवमा यस्तो अवस्था आजसम्म देखेका थिएनन्।
‘गत दुई हप्तादेखि म कामविहीन छु‚ जुन समयमा लकडाउन नै सुरु भएको थिएन, पर्यटकहरु आउन बन्द भए‚’ उनले भने‚ ‘अब त देश नै लकडाउन छ के हुनु, यो अवस्थामा म गाउँ फर्कन पनि सक्दिन न त काम नै गर्न सक्छु।’ आफू दिल्लीमा बिचल्लीमा रहेको र उता गाउँ उत्तर प्रदेशमा रहेको आफ्नो परिवार पनि अप्ठारोमा परेको उनले बताए।

ट्याक्सी चालकहरु उबेर र ओला पनि यस्तै समस्यासँग जुधिरहेका छन्। जगदिश चौधरी जो ट्याक्सी चलाएर दैनिकी चलाइरहेका थिए। उनी दिल्ली एयरलाइन्सका कामदार हुन्। उनी सरकारले यस्तो अवस्थामा सहयोग गर्नुपर्ने बताउँछन्।
‘मलाई थाहा छ लकडाउनको महत्व, कोरोना भाइरस खतरनाक भाइरस हो। हामीले यसबाट बच्नुपर्छ तर हामीसँगै आश्रित परिवार पनि छन्‚’ उनले भने‚ ‘काम नहुने हो भने उनीहरुलाई कसरी पाल्ने? लकडाउन तीन हप्तासम्म हुने भनिएको छ।’
केही सडकका मानिसले भने कोरोना भाइरस नाम सुनेपनि बुझेका छैनन्। सडकमा जुत्ता सिलाउने काम गर्ने एक व्यक्ति(जसले आफ्नो नाम खुलाउन चाहेनन्) पनि यही पीडामा छन्।
उनी लामो समयदेखि अहमदावादको रेल स्टेशनमा मानिसहरुको जुत्तामा पोलिस लगाउने काम गर्दै आएका थिए अहिले कामविहीन भएका छन्। उसलाई कोरोना भाइरसका बारेमा केही जानकारी छैन। उ आजभोली किन मानिसहरु पोलिस गर्न आउँदैनन् छक्क परेका छन्।
‘मलाई थाहा छैन के भएको हो, किन मानिसहरु यात्रा गरिरहेका छैनन् र रेल चढ्न किन आउँदैनन् र किन रेल बन्द भयो‚’ उनले भने।
बिनोद प्रजापती जो सडकमा पानी बेचेर गुजारा गर्थे। रेल स्टेशनमा आउने जाने मानिसहरुलाई उनी पानी बेच्ने गर्थे।
‘मलाई थाहा छ कोरोना भाइरस धेरै डरलाग्दो रोग हो, विश्व नै यसको शिकार भएको छ‚’ उनले भने‚ ‘सबै मानिसहरुलाई घरमै बस्न भनिएको छ, मजस्तै मानिसहरुलाई पनि बाहिर ननिस्कन भनिएको छ तर हामीजस्ताले सुरक्षा रोज्ने की भोक? म कुनलाई चुनौं?’
बिबिसीबाट भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।