आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन्। सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानीसमेत नभएका पनि हुन्छन्।
सबैको एउटै प्रश्न छ–अमेरिकामा त कति धेरै मानिसहरु मरे भन्छन् नि, तिमीहरुलाई त केही भएको छैन नि?
मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुँदैनन् होला या उनीहरुको मनमा मैले उत्तर दिँदा कसैलाई बिर्सिइयो कि भन्ने पर्दो हो। परिवारका सबै सदस्यको नाम नै लिएर सोध्छन्–फलानोलाई ठीक छ नि? फलानोलाई ठीक छ नि?
आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन। ल्यापटपबाट लिएको जानकारी टेलिफोबाट बाँड्छु। अलिअलि लेख्छु । (दुइ दिन लेखिनँ, अमेरिकामा २०० जना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिएँ, पछिल्ला दुइ दिनमा त पाँच–पाँच सय मानिस मरे, के भनेर लेख्नु?)
आफन्तहरुको चिन्ता र चासो स्वाभाविक पनि हो। पछिल्लो हप्ता, हरेक दुइदिनमा मर्नेहरुको संख्या दुगुना भएर गएको छ।
जनवरी ११, २०२० मा कोरोना भाइरसको संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको थियो। आज ७८ दिन बित्दा विश्वभरमा ३३ हजार ९२५ जना (अपडेट ३४ हजार ५ जना) को निधन भइसकेको छ। सरदरमा आँकडा निकाल्दा विश्वमा हरेक दिन ४ सय २४ जना मानिसहरु कोरोना संक्रमणका कारण मरिरहेका रहेछन्। कोरोना भाइरसको संक्रमणका कारण मर्नेहरुको संख्या सुरुवाती दिनमा न्यून हुने गरे पनि पछिल्लो दिनमा गुणात्मक रुपले बढिरहेको छ । पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक पांच सयको हाराहारीमा मानिस मरिरहेका छन्। यो क्रम विकराल बन्दै जाने देखिएको छ।
यस्तो महामारीमा आफन्त र साथीहरुले नसम्झिए कहिले सम्झिनु त?
बाहिरी दुनियाँमा बस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फूर्ति केही दिनका लागि त होला नि? कहाँ सक्छ र अमेरिकालाई?
अमेरिकाभित्र बसेर हेर्दा तस्विर फरक छ।
अब के गर्ने? कसरी यो समस्यालाई सम्वोधन गर्ने? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसँग छैन। ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुलमात्रै गरिरहेको छ। सानातिना राहत प्याकेजमा अल्झिएको छ। अहिले पनि कुन–कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरहरु छन् र तिनीहरुलाई कसरी साइजमा ल्याऊ भनेर गृहकार्यमा अल्झिएको छ। गभर्नरहरुलाई सहयोग गर्नेभन्दा पनि इवी साँध्न उद्यत छ।
न्युयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु बन्दै गएको छ। अमेरिकाको आर्थिक नगरी ठप्प छ। न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान बदएर न्युयोर्क अब उठ्दैन भन्नुपर्ने अवस्थामा पुगिसकेको छ। तर राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेण्टीलेटरसमेत किनिदिएका छैनन्। न्युयोर्कका अस्पतालमा दुइजना बिरामीका लागि अहिले एउटा भेण्टीलेटर चलाउनु परेको छ।
स्वास्थकर्मीहरुलाई यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीइ) हरु छैनन्, एउटा मास्कले पुरै सिफ्ट वा केही दिन चलाउनु पर्ने अवस्था आएको छ। यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मीहरु त्रासले डिप्रेसनमा जान थालेका छन्। स्वास्थकर्मीहरु जागिर छाडिरहेका छन्। राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसंग सिंगौरी खेल्न त कहिले बेलायतबाट राजगद्दी त्यागेर क्यानडा हुँद अमेरिका आइपुगेका ह्यारी र मेगेनलाई चेतावनी दिन व्यस्त हुन्छन्।
यतिबेला अमेरिकामा सबैभन्दा प्रेसरमा भएका मानिसहरु भनेका स्वास्थकर्मी हुन्, कोरोनावाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरुको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरु भनेका राज्यका गभर्नरहरु र सिटीका मेयरहरु हुन् । प्रकोप बढ्दै जाँदा पीपीइको अभाव हुँदै जाँदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी) ले पनि सायद सरकारी दबाबमा परेर चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिँदा स्वास्थकर्मीहरु झन् जोखिममा परेका छन्।
धेरै स्वास्थ्यकर्मीले आफ्ना पीडालाई सामाजिक सञ्जालमार्फत् रुँदै व्यक्त गरेका छन्। काम गरिरहँदा कतिपय नर्स र डाक्टरहरु आफूलाई सम्हाल्न सक्दैनन् र वाथरुममा पसेर रुन्छन् । केहीबेरमा सुन्निएका आँखा लिएर फेरि बिरामीको सेवामा जुट्छन्। कोरोना संक्रमणका कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरु परिवारका सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन् ।
कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिहरुको शवलाई ३ दिनसम्म अस्पतालमा नै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिसहरु सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव त दिने नियम त छ तर परिवारको सदस्य नै कोरोना संक्रमणको कारण मृत्यु भएका कारण परिवारका अधिकांस सदस्य सेल्फ क्वारेन्टाइनमा वस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन् । परिवारका सदस्य बिरामी हुँदा न त अस्पतालमा कुरुवा वस्न पाइन्छ, न त दाहसंस्कारमा सरिक हुन सकिन्छ । मृत्यु कति भयानक भइरहेको छ आजकल।
सुन्दा कहालीलाग्दो लागे पनि अहिले पनि ससर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो त छैन । आज दिउँसो म बस्ने शहर लुइभेलको एउटा वालमार्टमा छिरेँ। वालमार्टमा यो भयावह अवस्थाको छायाँ कतै पनि देखिएन। अनुहारमा मास्क लगाएका मानिसहरु सयमा एक पनि थिएनन्। जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन। न त रजिस्टरमा बस्नेहरुले मास्क लगाएका छन्, न सामान्य पञ्जा नै ।
धेरै मानिसहरुले छुने भएकाले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्सहरु राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन। मानिसहरुले वास्तै नगरी कार्टहरु ठेलिरहेका थिए। कोरोनाको प्रभाव केवल केही आयल्सहरुमा परेको छ, अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजर भने अभाव छ । अरु बजार सामान्य भइसकेको छ।
म फर्कँदै गर्दा मेरो सव डिभिजनभित्र धेरै घरहरुमा वारवीक्यू पार्टी चल्दै थियो। न त कसैले कोरोना संक्रमणबाट मर्नेको परिवारमा के बितिरहेको छ भन्ने चिन्ता छ, न त यो विपत्तिमा स्वास्थकर्मीहरुले कसरी काम गरिरहेका छन् भन्ने चासो छ, न त अन्य देशहरुमा झै स्वास्थकर्मीहरुको प्रशंसामा वेलुका ताली बजाउन नै कोही जुटेका छन्। साँझमा फेसबुक हेरे, धेरै साथीहरुले आफूले खान तयार गरेका मिष्ठान्न भोजनका तस्विरहरु शेयर गरिरहेका थिए । टेलिभिजन स्क्रिनमा अझै पनि मानिसहरुलाई समुद्रीतटमा जान नदिन सुरक्षाकर्मीहरुले गर्नुपरेका संघर्षका फुटेजहरु आइरहेका थिए । यस्तो लाग्यो, जताततै मृत्यु मृत्यु हुँदा पनि मानिसको मनमा अझै भय छैन। नत्र सरकारले भनेको किन मान्दैनन्?
पत्रकार सापकोटा हाल अमेरिकाका लुइभेलमा बसोबास गर्छन्। यो सामग्री उनको फेसबुक स्टाटसबाट साभार गरिएको हो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।