पाश्चात्य दार्शनिक दाँतेका अनुसार मानिस आत्महत्याको बाटो रोज्दैन बरु अनिश्चित जीवनभित्र सुन्दरताको खोजी गर्दछ। अबको विश्व आकृति पनि सायद त्यही सुन्दर जीवनको खोजीमा हुनेछ। कोरोना कहरपछिको सुन्दर जीवन! अब एकपटक फेरि 'ह्युम्यान सिभिलाइजेसन'माथि बहस हुनेछ। ज्ञान, अध्यात्म, विज्ञान र प्रविधिबीच हामीले अवलम्बन गरेको जीवनपद्धति कति सुरक्षित, मानवीय र विवेकशील छन् भन्नेमा विभिन्न सिद्धान्त जन्मनेछ्न्। यो कहरपछिको वैश्विक मानचित्रको अध्याय यिनै बहसको खोजीमा हुनेछ।
भविष्यले कोरोनापछिको इतिहासलाई कोरोना पूर्व र कोरोनापछि गरी दुई अध्यायमा विभक्त गर्नेछ। परिस्थिति यस्तो बन्दैछ कि केही समयपछि विश्व आकृति अहिलेजस्तै 'किमार्थ' हुनेछैन। धेरै परिवर्तन हुनेछन्। ७ अर्बभन्दा बढी मानव भएको पृथ्वीमा कोरोना कहर आफैंमा एक निर्मम इतिहास बन्नेमा अब शंका छैन।
प्रकृतिको आफ्नै 'इकोसिस्टम' छ। मानव, सर्प, मुसा, चमेरा, जमिन, जङ्गल, माटो, पानी, हावा, किटाणु, भाइरस सबै इकोसिस्टमकै एक घटक हुन्। इकोसिस्टम नै सबै प्राणीको 'स्नायुप्रणाली' हो भन्ने कुरालाई हामीले सायद जानिबुझी बिर्सियौं। विगत १०० वर्षमा हामीले प्रकृतिलाई दिनेभन्दा बढी लिने काम मात्र गर्यौं। ज्ञान, विज्ञान र प्रविधिको विकास त गर्यौं तर सायद प्रकृतिमैत्री हुनसकेनछौं। पृथ्वीको धान्ने क्षमता भन्दा बाहिर जाँदाको परिणामस्वरूप आज हामी विभिन्न खालका संकटको सामना गर्दैछौं।
पर्यावरणमा विवेकशील, औचित्यपूर्ण र समन्यायिक साझेदारीले मात्र हरेक प्राणीको अस्तित्व कायम रहन सक्छ भन्ने कुरा हामीले सिक्न नसकेको सबैभन्दा ठूलो विषय हो। कोभिड-१९ ले यो पुनर्ताजगी गराएको छ। इतिहासमा यो प्रकारका भयानक र निर्मम कहर नघटेका होइनन् तर यो कहरको त्रास यति भयावह कि यसले हाम्रो समग्र अस्तित्व नै तहसनहस पर्नसक्ने अनिश्चित भविष्य तिर संकेत गर्दैछ। पक्कै पनि अबको मानव जीवन पहिलाजस्तो चल्नेछैन। इतिहासका कयौं निर्मम अध्यायजत्तिकै कोरोना भाइरस महामारी विश्वलाई नै चकनाचुर पार्ने एक विध्वंसकारी घटनाको रुपमा देखिँदैछ भन्ने मत विश्वव्यापी रुपमा प्रकट भैरहेका छन्।
यसको 'शैतानी कहर' कति निर्मम/भयावह होला भन्न सकिने अवस्था छैन। तर अबको विश्व भू-आकृतिमा कोभिड-१९ को कहरले उल्लेख्य मात्रामा परिवर्तन गर्ने लगभग निश्चित छ। यस आलेखमा कोरोना कहरपछिको विश्व आकृतिमा देखिन सक्ने केही मूलभूत 'प्याराडाईम सिफ्ट' (अवधारणात्मक परिवर्तन)माथि बहस गर्ने प्रयास गरिएको छ।
इतिहास र सभ्यता सधैं जीवन्त र स्थिर रहन सक्दैनन्। कतिपय इतिहास पनि मेटिएर जान्छ पनि। जीवांशा पनि यस्तै हो। डाइनासोरस लोप भएको कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ।
भौतिकवादी दर्शन भन्छ- जीवन सम्भावित मानवीय क्रियाकलापको निर्माण, विनिर्माण, पुनःनिर्माणको चक्र हो भने इतिहास र सभ्यता तिनकै युगमिश्रित सीमान्त योग हो। जीवन र प्रकृतिको आन्तरिक चक्र पनि समानान्तर गर्छ हुन्छन् सायद। आफ्नै प्रेम, करुणा, विग्रह र संरचनामा त्यसैले होला; जीवन र जगत दुबैको अन्तिम सत्य भनेकै 'अनिश्चितता भित्रको गतिशीलता' रहेछ। जीवनको अन्तिम सत्य 'मृत्यु' हो भने जसले जेसुकै विश्लेषण गरेतापनि सम्पूर्ण चराचर जगतको अन्तिम सत्य पनि यही हो- प्रेम, घृणा, करुणा, संकट र अनिश्चितता!
१) जनजीवन र जनजीविका
पूर्वीय जीवनदर्शन भन्छ- जीवन संकटकै एउटा स्वरुप हो। हरेक संकटको मोचन गरी समयानुकूल आफ्नो अस्तित्व कायम राख्नु र ब्रह्माण्डीय विधिशास्त्रअनुसार कर्म (काम) गरी जीवनको गतिशीलता कायम राख्नु नै मानवधर्म/जीवन पद्धति हो। सत्य, त्रेता, द्वापर र कली चारै युगमा परिबन्धित पूर्वीय जीवनदर्शनले 'हरेक युगको परिवर्तन संकटको मोचनबाटै हुन्छ' भन्ने भाव/सन्देश प्रवाह गर्नु अहिलेको परिस्थितिमा आफैंमा एक युगिन/ऐतिहासिक शिक्षा हुन सक्छ।
इतिहास र सभ्यता सधैं जीवन्त र स्थिर रहन सक्दैनन्। कतिपय इतिहास पनि मेटिएर जान्छ पनि। जीवांशा पनि यस्तै हो। डाइनासोरस लोप भएको कुरालाई उदाहरणका रूपमा लिन सकिन्छ।
संकट आफैंमा युगबोध हो र परिवर्तन तर्फको यात्रा हो भन्ने चिन्तनलाई मान्ने हो भने कोरोना कहरले पनि हाम्रो जनजीवनमा सकारात्मक तथा नकारात्मक दुवै प्रभाव छोड्नेछ। एकातिर विश्वभर नै मानिसको जीवनयापनको तौर-तरिका र मनोवृत्तिगत सोच नै बदलिदिएको अवस्था छ भने अर्कोतिर सामाजिक जीवनका हरेक पक्षहरू जस्तै: पारिवारिक जीवन, आनीबानी, आहार-व्यवहार, आचारसंहिता, जीवनपद्धति, चिन्तन गर्ने शैली, क्रयशक्ति, विकल्पको छनौट, आवश्यकताहरुको प्राथमिकीकरण र पर्यावरणमा ठूलो असर पारेको छ।
समग्र समाजको प्रगति तथा अग्रगमनलाई धेरै हदसम्म प्रत्यक्ष/परोक्ष प्रभाव पारेको देखिन्छ भने कतिपय अवस्थामा विश्व परिवेशको तथाकथित संरचनाले 'नयाँ कोर्स' लिनसक्ने परिस्थिति सिर्जना भएको छ। यसो हुँदा एकातिर भाइचारा, प्रेम, आत्मनिर्भरता, सद्भाव र एकता बढ्नेछ भने अर्को तिर जनजीवन बन्द समाजको युगमा प्रवेश गर्नसक्ने खतरा रहन्छ। जसले भविष्यमा झन् ठूलो संकट ननिम्त्याउला भन्न सकिन्न।

मूलतः यसले जनजीविकामा व्यापक परिवर्तन गर्नेछ। जसको प्रभाव चीनमा उत्पादन भएको 'स्नेक मेड डिस' अमेरिकामा, अमेरिकामा बनेको 'म्याकडोनाल्ड पिजा' चीनमा, भारतमा बनेको 'तन्दुरी-रोटी' युरोपमा र युरोपमा बनेको 'बर्गर मील' भारतमा खाने सीमाबिहीन जनजीवन तहसनहस पार्नेछ। मानिसहरु अब जनजीविका, रहनसहन र रितिथितिलाई धेरै आयाम र शैलीबाट हेर्न थाल्नेछन्। मानिसहरूको आफू सिन्को पनि नभाच्ने तर उच्च विलासिताको जीवन परिकल्पना गर्ने सोचाईमा आमूल परिवर्तन आउनेछ। एक देशको मानिस अर्को देशको मानिससँग लामो समयसम्म शसंकित रहनेछन्। सम्बन्धमा एक खालको दरार आउनेछ भने उदारवादी स्वतन्त्रताका पखेटाहरु माथि लगाम लाग्न सक्ने छ।
यसैगरी यो कहरको सबैभन्दा ठूलो प्रभाव व्यक्तिको मनोवैज्ञानिक जीवनमा पर्नेछ। स्वास्थ्य र सरसफाईमा मानिसहरु बिशेष सतर्कता अपनाउने छन्। खानपानको शैली बदलिनेछ। कमजोर मानसिकताका भएका र भौतिकवादी चेतनामा मात्र आफ्नो अस्तित्व देख्ने मानिसहरुलाई यो कहरले निकै गहिरो र दीर्घकालिन असर पार्न सक्ने देखिन्छ। विशेषगरी 'ब्याकवार्ड' (पछौटे) सामाजिक/आर्थिक अवस्था भएका र अल्पविकसित देशका मानिसहरू यसको मारमा बढी पर्न सक्छन। अबको लामो समयसम्म ‘लकडाउन’ को स्थितिबाट सामान्य जीवनमा फर्कन मानिसलाई निकै मुस्किल हुनेछ। फेरि एकपटक गाँस, बास, कपास र सुरक्षाको दिगो ग्यारेन्टीका लागी मानिसहरूले वर्तमान विश्वले अवलम्बन गरिरहेको जिवनपद्धति माथि गहिरो पुनरावलोकन/समीक्षा गर्नेछन्।
२) विश्व अर्थप्रणाली
सन् २०२० मा विश्व अर्थतन्त्रमा २.५ प्रतिशतका दरले वृद्धिदर हुने अनुमान गरिएता पनि यस महामारीको कारण घटेर १ प्रतिशत भन्दा कम बिन्दुमा पुग्ने चेतावनी संयुक्त राष्ट्र संघीय आर्थिक र सामाजिक मामिला विभागले दिइसकेको सन्दर्भमा यो महामारीको सबैभन्दा बढी कहर विश्व अर्थव्यवस्था/अर्थप्रणालीले व्यहोर्ने निश्चितप्रायः छ।
यसले मुलत: 'सर्कुलर इकोनोमी'का विश्वव्यापी आयामहरु आपूर्ति शृंखला, मूल्य श्रृंखला, रोजगारी र उत्पादनमा विशेष प्रभाव पार्नेछ। अहिले संसारकै आपूर्ति शृङ्खला/संजाल पूर्णरुपमा भत्किएको अवस्था छ। विश्वभरिका उद्योग, कलकारखाना तथा श्रम बजार ठप्प भएका छन् भने मागका पक्षहरु फेरिएका छन्। विश्व-पुँजीवजारमा भारी मात्राले गिरावट/सँकुचन आएको छ।
परिणामस्वरूप विश्वव्यापी आर्थिक परिसूचकको संकुचनले गर्दा उत्पादन, उद्योग र मजदुरहरूबीच गम्भीर मानसिक एवं शारीरिक चुनौतीहरू खडा गर्न सक्ने देखिन्छ। मुलतः यसले निम्न शहरिया मजदुर र गरिब बर्गलाई ठूलो मात्रामा असर पार्ने देखिन्छ। केही अन्तर्राष्ट्रिय संचारमाध्यमले त यसलाई सन् १९३० को महामन्दी भन्दा घातक हुनसक्ने प्रक्षेपण गरिरहेका छन्। यस्तो अवस्था आउँन सक्छ भोलि यो संकट काबु बाहिर पुगेको अवस्थामा व्यक्ति बाँच्नको लागि अर्को बिधंसकारी क्रियाकलाप तर्फ आकर्षित नहोला भन्न सकिन्न।
विश्व आर्थिक मञ्चले ३१ मार्च २०२० मा जारी गरेको प्रतिवेदन हेर्ने हो भने विश्व सेयर मार्केटमा सन् १९३० पछिको उच्च गिरावट आएको छ। पछिल्लो एक महिनामा मात्र कोभिड-१९ ले विश्व अर्थतन्त्रलाई १२ प्रतिशतका दरले संकुचनमा धकेलेको अवस्था छ भने दक्षिण कोरिया, अमेरिका र युरोपियन युनियन लगाएतका देशहरुमा तेलको मूल्यमा ५०% ले गिरावट आएको अवस्था छ। कोभिड-१९ कै कारण अमेरिकामा करिब ७ मिलियन, ईटालीमा २.५ मिलियन, स्पेनमा २ मिलियन, भारतमा ४ मिलियन र बेलायत १ मिलियन मानिसहरूले जागिर गुमाइसकेको अवस्था छ। चीनको उत्पादन १३.५ प्रतिशतले ओरालो लागेको छ भने २१ दिनको लकडाउन अवधि बाँकी रहँदै भारतको उत्पादन ९ प्रतिशतले झरेको देखिन्छ।
परिणामस्वरूप विश्वव्यापी आर्थिक परिसूचकको संकुचनले गर्दा उत्पादन, उद्योग र मजदुरहरूबीच गम्भीर मानसिक एवं शारीरिक चुनौतीहरू खडा गर्न सक्ने देखिन्छ।
मूलतः यसले संसारकै आपूर्ति प्रणालीमा ठूलो असर पार्नेछ। अब, मानिसहरूले आफ्नो मागको अवधारणामा व्यापक परिवर्तन ल्याउनेछन्। कुन देशको सामान खरिद गर्ने,खरिदबिक्रीको माध्यम के हुने ,खरिद गरिएका वस्तु तथा सेवाले तिनीहरुको जनजीवनमा के-कस्तो प्रभाव पार्छन्? जस्ता अनेकौं आयामबाट मानिसहरू हेर्न थाल्नेछन्। सारा संसार नै एकप्रकारको 'लकडाउन'को अवस्थामा रहेकोले यसको प्रत्यक्ष प्रभाव पुँजीवादी अर्थव्यवस्था भएका मुलुकमा गम्भीर हुनेछ। अहिलेसम्मको अवस्था हेर्दा स्पेनमा निजी अस्पतालहरूको राष्ट्रियकरण गरिएको छ भने फ्रान्सले ठूला व्यवसायहरूलाई राष्ट्रियकरण गर्न तत्परता देखाएको अवस्था छ।
यसैगरी विश्वव्यापी अर्थतन्त्रको अर्को महत्त्वपूर्ण आर्थिक 'कम्पोनेन्ट' भनेको मुद्राको आदानप्रदानलाई अनुमानयोग्य र स्थिर बनाउनु हो। अर्थशास्त्रीको भाषामा भन्दा यसलाई 'विनिमय मूल्य' भनिन्छ। अबको विश्व अर्थ प्रणालीको प्रमुख चुनौती भनेकै पैसाको विनिमय मूल्य सिर्जशीलता कायम राख्नु हुनेछ। आफु सँग भएको पैसाको मूल्य बमोजिम बस्तु तथा सेवा खरिद गर्ने सामर्थ्यलाई स्थिर राख्न सक्नु र संचित मुद्राको क्रयशक्तिलाई वस्तु तथा सेवाहरुमा जोडिराख्नु आगामी विश्व अर्थव्यवस्थाका लागी चुनौतीपूर्ण/सकसपूर्ण हुनेछ।
विनिमय मूल्य अर्थव्यवस्थाको मार्गनिर्देशक सिद्धान्त हो, जहाँ व्यक्तिले जीवनका आधारभूत आवश्यकता बजारमार्फत् प्राप्ति गर्दछ। यसको मतलब व्यक्तिले बजारबाट वस्तु तथा सेवाहरुलाई किन्नुपर्दछ र तिनीहरूलाई खरिद गर्न आय चाहिन्छ, जुन जागिरबाट आउँदछ। तर, अहिले लकडाउनले गर्दा समग्र विश्वकै श्रम बजार नै भताभुंग रहेको अवस्था छ। जब व्यक्तिसँग जागिर नै रहँदैन तब त्यसको प्रत्यक्ष प्रभाव उसको जनजीविकामा देखिन्छ। मूलतः यसको असर व्यवसाय र विलासितामा आधारित रोजगारीमा ठूलो मात्रामा पर्नेछ।
फलस्वरूप: यसको प्रत्यक्ष प्रभाव हाल अवलम्बनमा रहेका विश्वव्यपी वित्तीय एवम् मौद्रिक नीतिमा पर्नेछ। पुँजीवादी तथा समाजवादी दुबै अर्थ-व्यवस्थाका (स्ट्रेन्थ, अपर्ट्युनिटी, विईक्नेस र थ्रेट) यो कहरसँगै एकसाथ बाहिर आएकोले अबको विश्वको अर्थप्रणालीमा ठूलो प्याराडिगम सिफ्ट हुनसक्ने देखिन्छ। वितरण प्रणाली मुलतः मानव स्वास्थ्य र सुरक्षा केन्द्रित हुनेछ भने अर्थतन्त्रको माग/आपूर्ति शृङ्खलामा उतारचढाव उत्पन्न हुने देखिन्छ।
३) राज्य, शासन र सरकारको भूमिका
कोरोना भाइरस रोग मात्र होइन, राजनीति र राष्ट्रियता पनि थियो भन्ने कुरा अब लुकाएर लुक्ने विषय रहेन। विश्व भू-परिवेश यस्तो गम्भीर मोडमा पुगिसकेको छ कि, यो महामारी पछि विश्वको भू-आकृति अहिलेजस्तै 'यथास्थिती' मा रहन सक्ने देखिन्न। यो कहरले विश्व-व्यवस्था तथा विश्व-राजनीतिमै निश्चित रूपमा प्याराडिगम सिफ्ट (अवधारणागत परिवर्तन) हुने प्रबल सम्भावना दिनप्रतिदिन बढेर गएको छ।
अझ यो बहसले अहिले विश्वमा रहेका २ दुई प्रमुख विचारधारा नवउदारवादी लोकतन्त्र र समाजवादी गणतन्त्रबिच लडाइँलाई एकैसाथ सतहमा ल्याइदिएको छ।
भाइरसको फैलिने क्रम जति तीब्र छ, त्यति नै मात्रामा यसले राज्यको अवधारणा, यो संचालनका विधिपद्धति , शासनको स्वरुप र सरकारको भुमिकामा विश्वव्यापी रुपमै नयाँ खालको बहसको सुरुवात गरेको छ। यो बहस यति सशक्त रुपमा विस्तारित भैरहेको छ कि समग्र विश्वलाई नै एक मानवीय/उदारवादी शासकको खाँचो छ भन्ने मत बलियो ढंगले एकपछि अर्को स्वरुपमा प्रकट भैरहेका छन्। दोस्रो विश्वयुद्ध र सोभियत संघको पतनपछि एकध्रुवीय रहेको विश्वशक्ति अब परिवर्तनको "संघार" नजिक रहेको तथ्य/अभिमत मानिसहरू पेश गरिरहेका छन्।
अझ यो बहसले अहिले विश्वमा रहेका २ दुई प्रमुख विचारधारा नवउदारवादी लोकतन्त्र र समाजवादी गणतन्त्रबिच लडाइँलाई एकैसाथ सतहमा ल्याइदिएको छ। समाजवादी राज्य व्यवस्थाका अनुयायीले यसलाई पुँजीवाद, लोकतन्त्र र उदारवादी व्यवस्थाको कुरूप अवतारको संज्ञा दिएका छन्। अझ त्योभन्दा एक-कदम अघि बढेर केही 'अल्टा नेस्नालिस्ट सोसियालिस्ट' भाष्यहरुले त यो कहरलाई उदारवादी लोकतन्त्रको नाममा पुँजीवादी जालोभित्र मानव सभ्यता माथि गरिएको "सैतानी हमला" समेत भनेका छन्।
अर्कोतिर, ठिक विपरीत उदारवादी लोकतन्त्रका हिमायायीहरुले भने यो बन्द समाजमा रमाउने सर्वसत्तावादी सोच भएका, व्यक्तिगत स्वतन्त्रता स्वीकार नगर्ने शैतानहरुले खुलासमाजको गलत फाईदा उठाउदै नियतबस गरिएको "अमानवीय कुकृत्य" को संज्ञा दिएका छन्। उनीहरुको भनेका छन्; यो व्यक्तिगत स्वतन्त्रता रक्षाका लागि आगामी विश्वको सबैभन्दा ठुलो चुनौती/लडाइँ हुनेछ।
माथिका परिदृश्यबाट के देखिन्छ भने कोभिड-१९ पछिको विश्व भू-राजनीति सरल रेखामा हिँड्ने छैन। मूलतः यसले विश्वव्यापी रुपमै 'अल्टा नेस्नालिस्ट' र 'र्याडिकल नेसनालिज्म’ मौलाउन सक्ने अवस्था देखिन सक्छ। 'अल्टा नेस्नालिस्ट'को स्वरुप निरंकुशता, सर्वसत्तावाद र आतंकवादकै शैलीमा प्रकट हुने भएकोले पक्कैपनि आगामी दिनमा राज्य र राष्ट्रियताको मुद्दा थप पेचिलो बन्न सक्ने देखिन्छ। देशका सिमानामा पर्खाल ठड्याउने बहस अगाडि आउन सक्छन् र राष्ट्रका सिमाना झनै कडा बन्न सक्छन्। बाह्य मुलुक प्रवेशको लागि कढोर नियमहरु लागु हुनसक्छन् र परिणामस्वरूप ठाउँठाउँमा अझै धेरै ‘उग्र रास्ट्रवाद र अतिवाद’ मौलाउन सक्छ।
यही मौकामा राजनीति र सरकारहरुले पनि आफूहरुलाई 'राष्ट्रवादी' देखाउन अनेकन प्रयास र प्रयोग गर्नेछन्। यसको मार बन्द समाज भएका अतिकम विकशित देशहरूमा भयावह हुनसक्ने देखिन्छ।
जसको परिणामस्वरूप उदारवादी लोकतन्त्र र नागरिकको स्वतन्त्रतामाथि लगाम लाग्न सक्छ। शासनको दर्शनशास्त्रीय अवधारणामा ब्यापक परिवर्तन आई बन्द समाज भित्र रमाउने राजनीतिक संस्कार/परिपाटीको विकास हुन सक्छ। मूलतः यसको प्रभाव अभिव्यक्ति स्वतन्त्रता, बितरण प्रणाली र व्यक्तिगत छनौटमा पर्न सक्छ। मान्छेहरुलाई स्वतन्त्र व्यबहार गर्न छुट हुनेछैन। नीति तथा कानूनहरु कढोर बन्न सक्छ्न्। संसार एउटै बन्ने दिशातिर होइन, झन्–झन् ‘आइसोलेटेड’ बन्दै गएर मानिसहरू आ-आफ्नै राष्ट्रिय तथा सामुदायिक सीमाभित्र संकुचित हुँदै जान सक्ने अवस्था आउन सक्छ।
यही मौकामा राजनीति र सरकारहरुले पनि आफूहरुलाई 'राष्ट्रवादी' देखाउन अनेकन प्रयास र प्रयोग गर्नेछन्। यसको मार बन्द समाज भएका अतिकम विकशित देशहरूमा भयावह हुनसक्ने देखिन्छ। बन्द समाजको मूल प्रवृत्ति भनेकै भ्रष्टाचार, अपारदर्शी व्यबहार, योग्यताक्रमको तेजोबोध तथा तानाशाही/निरंकुश चरित्र हो। जसले गर्दा नयाँ सामाजिक फासिवादको युग सुरु नहोला भन्न सकिन्न। सार्वजनिक भलाईका नाममा व्यक्तिगत स्वतन्त्रताको हनन हुनेछ भने सरकार निरंकुश र व्यक्ति निरीह बन्न सक्ने अवस्था आउँन सक्छ।
यसैगरी, यो कहरले विशेषत: युरोप, अमेरिका र पश्चिमा जगतमा रास्ट्रवादका नयाँ नाराको उदय हुनसक्छ। अबको विश्व राजनीतिमा मानव स्वास्थ्य र पर्यावरणीय अनुकुलता जस्ता मुद्दाहरूले विशेष स्थान पाउनेछन्। 'ग्लोबल गभर्नेन्स', 'स्टेट', 'ईन्टरनेश्नल रीलेसनसिप ' जस्ता शब्दलाई लिएर अनेकौं रिसर्च गरिनेछन्।
आफूलाई उदार लोकतन्त्रको पर्याय सोच्ने युरोपियन युनियनको अस्तित्व र भुमिकालाई लिएर बहसहरु हुनेछन्। यो कहरविरुद्ध चिनले खेलेको भुमिका र प्रवृत्तिमाथि बहस हुनेछन्। उत्तर कोरियाले यहीँ बीचमा ४ पटक भन्दा बढी मिसाइल परीक्षण गरिसकेको भन्ने कुरालाई पनि आम-मानिसहरूले सजिलै बिर्सने छैनन्। अर्कोतिर, पुँजीवादी व्यवस्थाको नायक सम्झिने अमेरिकाले यो कहर बाट कत्तिको पाठ सिक्छ त्यो हेर्न बाँकी छ। तर कोभिड-१९ पछिको विश्व आकृति पक्कै पनि फरक हुनेछ।
४) ज्ञान, विज्ञान र अध्यात्म
यो कहर कहिले, कसरी र कुन स्वरुपमा समाप्त हुन्छ यकिन भन्न सक्ने अवस्था छैन। तर, आज हामी इतिहासको त्यस्तो दोभानमा छौं, जहाँ एकपटक फेरि 'ह्युम्यान सिभिलाइजेसन' सम्बन्धी विकास भएका सिद्धान्तमाथि बहस, विवेकशील समीक्षा र पुनरवलोकन गर्नुपर्ने समय आएको छ। ज्ञान, अध्यात्म र विज्ञानका बिच हामीले अबलम्बन गरेको जीवनपद्धति र हाम्रो अस्तित्व कति सुरक्षित, शान्तिपूर्ण, मानवीय र विवेकशील छ भन्ने प्रश्नको उत्तर कोरोना कहर पछिको विश्वले निसंदेह खोज्नै पर्नेछ।
यो कहर पछिको पुस्ताले जीवन के हो, सृष्टि र प्रकृतिको रहस्य के हो, हामी किन यहाँ छौँ, प्रकृति र हामीबिच सम्बन्ध के हो, मानवधर्म (जिवनधारणा) के हो, अध्यात्मको प्रभाव मानव जिवनमा कस्तो रहन्छ, राज्य (समाज) के हो, ज्ञान (शिक्षा) के हो, बिज्ञान (प्रमाणित तथ्य वा अनुभव) के हो, विकास के हो, सम्पन्नता/समृद्धि के हो जस्ता अनेकौं प्रश्नहरुको जवाफ खोज्नेछन्।
यसैबीच पूर्वीय दर्शन र पाश्चात्य दर्शनको जीवनपद्धति माथि पुन: एकपटक विभिन्न कोणबाट बहस हुनेछ र जसले अबको विश्व आकृतिमा निकै ठूलो प्रभाव पार्न सक्ने देखिन्छ। मानिसले भन्न थालिसकेका छन् कि हामीले विकास गरेको विज्ञान र प्रविधिको असली आकृती कोभिड-१९ को कहरमा आएर नाङ्गिएको छ। हामीले विकास र सम्पन्नता भन्ने गरेका अनेकौं परमाणु हतियारको जैविक मारमाथि निस्संदेह छलफल हुनेछ।
हाम्रो सन्दर्भ
यी माथिका मुलभुत परिदृश्यबीच कोरोना कहरपछिको परिवर्तित विश्व आकृतिमा हाम्रो जीवन, भविस्य, अस्तित्व र स्थान के/कस्तो हुने भन्ने प्रश्न यतिखेर हाम्रा सामु पनि छ। संकटलाई जिवनकै एक 'अकाट्य रहस्य' मान्य हाम्रो सभ्यतालाई लिएर हामीले पनि यो महामारीरुद्धको संकटमोचक विधिको खोजी गर्नैपर्ने हुन्छ।
विश्व आकृतिमा नै अवधारणात्मक परिवर्तन (प्याराडिगम सिफ्ट) देखिन सक्ने परिस्थिति सिर्जना भैइरहदा हामिपनि त्यसबाट अलग/अछुतो रहन सक्दैनौं। सधैंको अभाव, रोग, भोक, बहुआयामिक गरिबी र पछौटेपनको 'दु:खद् नियति' भित्र रुमल्लिएका हामीले यो संकटको अन्त्यसँगै धेरै कुराहरूमा गहिरो समीक्षा एवम् पुनरवलोकन गर्नुपर्नेछ।
अहिलेको अवस्थामा यो महाप्रलयकारी संकटविरुद्ध विजय प्राप्त गर्नु नै हाम्रो एकमात्र लक्ष्य/उद्देश्य हुनुपर्दछ। यसो भनिरहँदा यो सङ्कटपूर्ण घडीमा के हामी यो महामारीविरुद्ध लड्न सक्षम, सचेत, सबल र विवेकशील छौँ त? के हामी सबैले आ-आफ्नो ठाउँबाट कर्तव्य बोध र मानवीयता देखाउन सकेका छौँ ? यो कहर बिरुद्धको प्रतिरक्षामा हाम्रो सरकारको अवस्था र शासन प्रणाली कति सबल/सक्षम छ? हाम्रा राज्य संयन्त्रहरू के-कस्तो अवस्थामा छन्? हामी कहाँ छौँ र हाम्रो अवस्था के हो? हाम्रो जिवन संस्कार के हो? हाम्रो शिक्षा/स्वास्थ्य नीति के-कस्तो छ? हाम्रो अर्थप्रणाली कति मजबुत छ? जस्ता प्रश्नहरूलाई हामीले पनि गहिरो रूपमा केलाउनै पर्ने हुन्छ।
(लेखक जोशी नेपाल सरकारको शाखा अधिकृत पदमा कार्यरत छन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।