नोवल कोरोना भाइरस (कोभिड-१९)ले संसारलाई निरिह पारिरहेको छ, यो अवस्था लामो समय सम्म नरहला। तर मानव जीवन इतिहासमा कस्तो मानक स्थापना गर्ला त्यो भन्न सकिन्न। यद्यपि मानिस सुनौलो भविष्यको आशामा कठिन परिस्थितिलाई सहन्छन्। त्यो प्रकृतिको नियम हो। आजका दिनमा हामीले देखेभोगेका परिदृष्यमा सबैतिर निराशामात्र छैन, राम्रा परिघटना पनि छन्। त्यस्तै सकारात्मक विचार र कर्म गर्न सकेमा यस संक्रमणलाई परास्त गर्न सफलता मिल्नेछ।
'कोभिड-१९ त असाध्य रोग हो, यो रोग लागेपछि जीवन सिद्धियो' भन्ने भ्रम धेरैलाई परेको हुनसक्छ जुन विल्कुलै गलत हो। यो रोगको संक्रमण भएका पाँचमा चारजनालाई सामान्यदेखि कुनै लक्षण नै नदेखिने पनि हुन सक्छ। केही थोरैलाई सास फेर्न गाह्रो हुने, जीउ दुख्ने, थकाइै लाग्ने देखि ज्वरो, सुख्खा खोकी लाग्ने जस्ता लक्ष्यण देखिन्छ तर ती अधिकांश घरैमा स्याहार सुसार र साधारण उपचार पछि जाती पनि हुन्छन्। एकदम थोरै मानिस जस्तै ७० वर्षमाथिका वृद्धहरु, गंम्भीर प्रकृतिका दीर्घरोगीमध्ये केहीलाई सघन उपचारको आवश्यकता पर्न सक्ने देखिएको छ। यस महामारीले शरीरको प्रतिरक्षात्मक क्षमता कम भएका मानिसलाई घरपरिवार र समाजले विशेष ख्याल गर्नु पर्ने पाठ सिकाएको छ।
विश्व घटनालाई विश्लेषण गर्दा सयमा करिब ९९ जनाले रोगलाई परास्त गर्न सकेका छन्। केही वर्ष अघि सार्स (२००३), नोवल इन्फ्लुइन्जा भाइरल (२००९), मार्स (२०१२), इबोला (२०१६) आदि महामारीजन्य रोगका घटना सुन्यौं, भोग्यौं। ती रोगका तुलनामा कोभिड-१९ निकै कम मात्र घातक छ। कम घातक हुँदाहुँदै पनि हाम्रो असावधानीले सजिलै फैलिन पाएको कारण यस रोगले विकराल रुप लिएको हो। शुरुवाती चरणमा यसप्रति सामान्य सजगता अपनाउँदा थप सुरक्षित रहन सक्दा रहेछौं। कोभिड-१९ ले साना बच्चा वा युवालाई घातक संक्रमण गरेको कमै सुनिएको छ। यद्यपि उनीहरूले पनि सावधानी अपनाउनु पर्छ। यो रोगबारेमा देश र नागरिकले विशेष सावधानी अपनाउन जरुरी छ तर डराई रहनुपर्दैन भन्ने सिकाएको छ।
आशलाग्दा कुरा
कोभिड-१९ संक्रमण शुरु भएको चीनले बिरामीको उपचारका लागि स्थापना गरेका १६ वटा अस्थायी अस्पतालमा करिब १३ हजार व्यक्तिको उपचार गरे। रोगको संक्रमण क्रमश नियन्त्रणमा आएको कारण करिब दुई महिनापछि त्यस्ता सबै अस्पताल बन्द गरे। त्यहाँ चिकित्सकले आफ्ना सुरक्षा सामाग्री फुकाले। खुशियाली बाँडे, परिवार अनि आफन्तलाई भेटे। देशभर उनीहरुको योगदानको उच्च कदर भयो। यसको केही समयको अन्तरालमा (२०७६ चैत्र २५) चीनमा कसैको पनि मृत्यू भएन। अर्थात् रोग पूर्णतया नियन्त्रणमा आएको घोषणा गरियो। बन्दाबन्दीमा रहेको वुहान सहरको जनजीवन क्रमशः पूर्ववत् लयमा फर्कन थालेको छ। यस घटनाले बाँकी विश्वलाई दुःखका दिन लामो समय रहने छैनन् भन्ने आशा जगाएको छ।

कोभिड-१९ ले विश्व परिक्रममा गरिरहँदा उपचारका सम्बन्धमा सबैको ध्यान आकृष्ट हुनु स्वाभाविकै हो। यस रोगविरुद्धको खोप (भ्याक्सिन) विकास गर्न थुप्रै देशका वैज्ञानिक अनवरत प्रयासमा छन्। यस सम्बन्धमा केही सफलता मिलेको भन्दै खोपको परीक्षण पनि गरिरहेका छन्। विश्वभर संकमितपछि निको भएका व्यक्तिको प्लाज्मा दिइँदा उपचार प्रक्रिया छिटो र प्रभावकारी भएको पाइएकाले वैज्ञानिक थप अध्ययन अनुसन्धानमा जुटेका छन्। यी तथ्यले कोभिडको उपचार पद्धति छिट्टै पत्ता लाग्ने कुरामा आश्वस्त हुन सकिन्छ।
कोभिड संक्रमणको उपचारपछि निको भएर घर फर्केका कयौं व्यक्ति छन्। नेदरल्याडकी १ सय ७ वर्षीया महिला ६ दिन उपचार गराएपछि घर फर्किएकी छन्। सायद उनी नै (हालसम्म उपलब्ध जानकारीको आधारमा) सबैभन्दा जेष्ठ व्यक्ति हुन सक्छिन् निको हुनेमा। दोस्रो विश्वयुद्ध लडेको १ सय ४ वर्षीय अमेरिकी सैनिकले पनि स्वास्थ्यलाभ गरेका छन्। चीन, इटली, बेलायत, इरान लगायत अन्य देशमा कयौं मानिसले कोभिडलाई जितेका छन्। भारतमा सबैभन्दा जेष्ठ कोभिड सरभाईवलमा जयपुरका ८५ वर्षका व्यक्तिको नाम छ। यी तथ्यले बुढ्यौली अवस्थाका मानिसलाई कथंकदाचित् संक्रमण भइहालेछ भने पनि राम्रो स्याहारसुसार र उचित उपचारले स्वास्थ्यलाभ गर्न सक्नु हुन्छ भन्ने भरोसा जगाएको छ।
हाल धेरै संक्रमित भएका युरोपका इटली, स्पेन, फ्रान्सलगायतका देशमा संक्रमितको संख्या घट्दै गएको छ। यस रोगको फैलावट रोक्न बन्दाबन्दी (लकडाउन), स्वयं सुरक्षित भएर बस्ने (क्वारेन्टाइन), पटकपटक साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुने, हाछ्युँ गर्दा वा खोक्दा मुख छोप्ने, आँखा नाक मुख नछुने र संभावित संक्रमितको खोज एवं ल्याब परीक्षण (ट्रेसिङ र टेस्टिङ) जस्ता विधि प्रभावकारी ढंगले अवलम्बन गर्न सकियो भने जटिल र खर्चिलो चिकित्सकीय उपचारपद्धतिमा धेरै भर पर्नु नपर्ने देखिएको छ। यसले अल्पकालीन रूपमै भएपनि आम मानिसमा केही उत्साह जगाएको पनि छ।
हुन त यस्तो संकटमा धनी र गरिबलाई शारीरिक रूपमा जोखिम उत्तिकै हुने भएपनि सामाजिक आर्थिक परिवेश (बाक्लो बस्ती, अत्यावश्यक सेवाको कमी, भरपर्दो र प्रर्याप्त आम्दानीको व्यवस्था नहुनु)जस्ता कारणले गरिब बढी जोखिममा हुन्छन्। गरिबीको थपिँदै जान्छ। संयुक्त राष्ट्र संघको अध्ययन तथा अनुसन्धान संस्था युएन युनिभर्सिटीको प्रक्षेपणअनुसार कोभिडले संसारमा आठ प्रतिशत गरिबी बढ्ने देखाएको छ। गरिबी निवारणका दीर्घकालीन योजनामार्फत् विश्वभरका सबै मानिसलाई स्वास्थ्य, शिक्षा र न्यूनतम रोजगारीकाको प्रत्याभूति दिनुपर्ने टड्कारो आवश्यकता उजागर भएको छ।
स्वास्थ्यकर्मीप्रति गर्वको क्षण
कोभिडको महामारी नियन्त्रण गर्न विश्वभरका चिकित्सक, नर्स र अन्य जनशक्तिले पुर्याएको योगदान सह्रानीय छ। स्वास्थ्यकर्मीले पेसाप्रतिको कर्तव्यनिष्ठाले काम गरे त्यसको परिणाम विश्वले महसुस गर्ने कुराको सन्देश पुन एकपटक बलियो भएर आएको छ। सबै देशका सरकार प्रमुखहरुले स्वास्थ्यकर्मीको योगदानको मुक्तकण्ठले प्रशंशा पनि गरेका छन्। स्वास्थ्यकर्मीको सम्मान बढेको छ। यस्ता कामले स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने प्रयास भएको छ।

साबुनपानीले हात धुँदा धेरै फाइदा हुन्छ भन्ने तथ्य सन् १८४७ मा अस्ट्रियाको भियना विश्वविद्यालयका डा इगनाज सेमेल्वेइसले प्रमाणित गरेका थिए। त्यसपछि यत्तिका वर्षसम्म मानव जातिले हात धुन सिक्ने/सिकाउन धेरै प्रयत्न गर्यो तर कोभिडले छोटो अवधिमा किन हात धुने भन्ने स्पष्ट पारिदिएको छ। कहिल्यै नबिर्सने गरी संसारभरका मानिसलाई हात धुन सिकाएको छ।

यी त भए उपचारसँग सम्बन्धित पक्ष, यसका साथै विश्वमा थुप्रै राम्रा समाचार बनेका छन्। आर्थिक साम्राज्य फैलाउने दौडमा लागेका देशदेखि जनताका आधारभूत आवश्यकताको पूर्ति गर्न संघर्षरत देशले स्वास्थ्य क्षेत्रको विकासमा उचित लगानी र तयारीमा ध्यान पुर्याउन नसकेको तथ्य कोभिड-१९ ले उजागर गरिदियो। विश्वभर आवश्यक चिकित्साकर्मीको उत्पादन, अत्यावश्यकीय औषधि र रोग परीक्षणका विधिको उपलब्धता, स्वास्थ्य सूचना नागरिकलाई सहजै उपलब्ध गराउने योजनाबद्ध विकासका लागि दबाब परेको छ।
आधुनिक विश्वको वरदान संचार क्षेत्रको विकास पनि हो। सामाजिक संजालको लोकप्रियता र इन्टरनेटको पहुँच धेरै मानिसमा पुगेको छ। यस्ता सुविधाले बन्दाबन्दी वा क्वारेन्टाइनमा बस्नेलाई आफ्ना घरपरिवार र साथीभाइसँग कुराकानी गर्न र अत्यावश्यकीय काम घरमै बसी सम्पादन गर्न सहज भएको छ। चिकित्सकीय सूचना प्राप्त गर्न पनि सहज भएको छ। कतिपय शिक्षण संस्था र अफिस घरमै बसेर संचालन भएका छन्।
कतिपय देशले स्वास्थ्यकर्मी, प्राध्यापकको दाँजोमा खेलाडी, कलाकार आदिलाई अस्वाभाविक बढी तलब र अन्य सुविधा दिने गर्दथे। फुटबलको पावरहाउस स्पेन, इटलीमा यो तथ्य कोभिड कहरका बीच चर्को स्वरमा खुलेर आलोचना भयो। ती देशले खेलाडी र कलाकारलगायतलाई दिइंदै आएको तलब कटौतीको घोषणा गरे। विकसित देशमा सामाजिक स्वास्थ्य सुरक्षाको पहुँच र सेवाको दायरा साँघुरो भएको तथ्यलाई सामाजिक अभियानका रुपमा अघि बढाउन आह्वान गरियो। खाद्यान्नको असमान वितरणतर्फ इंगित गर्दै, ‘कतै फालाफाल, कतै भोकभोकै’का फोटोफिचर आदानप्रदान गरिए। यस्ता अभियानले सबै नागरिक बराबर हुन्, कुनै वर्ग वा क्षेत्रलाई पछि छोडेर राष्ट्र अघि बढ्न सक्दैन भन्ने सन्देश फैलाउन सहयोग गरेको छ।
न्युजिल्यान्डका प्रधानमन्त्रीले परिवारसँग समय बिताउने, बच्चाहरूलाई प्रेरणा दिने अवसरका रुपमा बन्दाबन्दी उपयोग गर्न सन्देश दिइन्। क्यानडाका प्रधानमन्त्रीले जस्टिन ट्र्युडोले श्रीमती आइसोलेसनमा बसेका बेला बच्चाहरुको रेखदेख गर्दै दैनिक प्रशासन घरबाटै चलाए।
कतिपय अवस्थामा स्वास्थ्यकर्मी र सेवाग्राहीका बीच झैझगडा हुने गरेको समाचार विश्वभरि आइरहन्थे। कोभिडको उपचारमा संलग्न स्वास्थ्यकर्र्मी पर्याप्त पिपिई नभएकै अवस्थामा पनि मुस्कानसहितको सेवामा उत्रिए। स्वास्थ्यकर्मीमाथि सेवाग्राहीको विश्वास बढेको छ।
विलासिताका सामान उत्पादन गर्ने कम्पनीहरुले आम सर्वसाधारणको जीवनरक्षाका सामग्री उत्पादन गरेर सह्रानीय काम गरे। रोल्स् रोयस्, फोर्ड गाडी उत्पादक कम्पनीहरु सघन उपचारको लागि भ्यान्टिलेटरलगायतका सामाग्री उत्पादनमा जुटे। रक्सी उत्पादन गर्ने सानादेखि ठूला कलकारखानाले स्यानिटाइजर बनाउन प्रयोग हुने इथानोल बनाएर गुन लगाए। फ्रान्सका सुगन्धित तेल (परफ्युम) बनाउने कम्पनीले मास्क र स्यानिटाइजर बनाएर निःशुल्क वितरण गरे।

कतिपय देशले आफ्ना छिमेकी देशमा फैलिएको महामारी व्यवस्थापन गर्न सक्दो सहयोग गरे। चीन, क्युबालगायतका देशले स्पेन, इटाली, फ्रान्समा आफ्ना स्वास्थ्यकर्मी र अन्य प्राविधिक सहयोग उपलब्ध गराएर गुन लगाए। जर्मनीका सैनिकले इटालीका सीमावर्ती क्षेत्रका संक्रमितलाई आफ्नै देशमा उपाचारपछि फिर्ता गरेको घटनाले संकटको बेला कुटनैतिक मर्यादाभन्दा पनि मानवताको भावनाले काम गर्नु पर्ने पाठ सिकायो।
स्वास्थ्य सेवा प्रवाह गर्ने काम मुख्यतया सरकारको जिम्मेवारी हो। संकटका बेला सुरक्षा समाग्री अभावमा सेवा प्रभावित हुन जाने अवस्थामा व्यक्तिहरुले आफ्नो निजी सम्पत्ति दान गर्ने लहर चल्यो। कतै खानाको व्यवस्था गर्ने त कतै सेवाग्राहीको उपचारका लागि अस्पताल जान सवारी साधन प्रयोग गर्न दिएर सहयोग गरे। नेपाल प्रहरीसँग मिलेर कतिपय सामाजिक संघसंस्थाहरुले सडक बालबालिका र असहायको उद्धार गरी सुरक्षित बासस्थानमा राख्ने कार्य गरे। व्यवसायिक उद्देश्यले खुलेका वृद्धाश्रमले न:शुल्क सेवा प्रदान गरे। लन्डनले सहरका विभिन्न स्थानमा ३ सय कोठाको व्यवस्था मिलाई उद्धार गरिएका व्यक्तिलाई संरक्षण दियो। यसलाई परिवर्तनको थालनी मान्न सकिन्छ। कयौं व्यक्ति सहाराविहीनको सहयोगका लागि स्वयंसेवा गर्न स्वतस्फूर्त तयार भए। बेलायतमा बिरामी र वृद्धको स्याहार गर्न सरकारले स्वयंसेवीको आह्वान गरेकोमा एकै रातमा एक लाख सत्तरी व्यक्तिले नाम लेखाएका थिए।
दुःख भुलेर हाँस्ने र हसाउने प्रयास
बन्दाबन्दीका बीचमा इटलीबाट शुरु भएको बाल्कोनी अर्केस्टा संसारभर लोकप्रिय भयो । त्यसको सिको गर्दै थुप्रै देशमा एकान्तबासमा हुन सक्ने चिन्ता निराशाबाट मुक्ति पाउने उपायको खोजी गरियो। युरोपलगायतका देशमा घरका बाहिरी भाग वा झ्यालमा इन्द्रेणी बनाउने लहर चल्यो। व्यक्तिहरु एकआपसमा चिनाजान गरे। प्रतिभा देखाए र एकले अर्कालाई सहयोग गरे। यस घटनाले शहरबजारमा मौलाएको एक्लो जीवनपद्धतिका नराम्रा पक्ष उजागर भयो।

कयौं मनोसामाजिक परामर्शदाताले सामाजिक संजालमार्फत् बन्दाबन्दीमा रहेका बालबालिका, वृद्ध र अन्य व्यक्तिलाई जीवनउपयोगी सिप सिकाइरहेका छन्। शिक्षाप्रेमीहरुले घरमा रहेका बालबालिकालाई शिक्षण सिकाई कक्षा संचालनसमेत गरेका छन्। बन्दाबन्दीले दूरशिक्षाका कार्यक्रम निकै उपयोगी बनाएको छ। यस कार्यमा ग्रुप च्याट र भिडियो कन्फ्रेन्सिङलगायतका प्रविधिको उच्च उपयोग भयो।
बन्दाबन्दीले काम गुमाएका शहरका डेराबालालाई बेलायत, भारत र अतिप्रभावित इटाली, स्पेन जस्ता देशमा घरभाडा छुट गराइयो। नेपालमा पनि सरकारको आह्वानपछि स्वतस्फूर्त रुपमा घरभाडा छुटदेखि मिनाहासम्मका अभियान चलाइएको छ। गरिबलाई खानालगायत लत्ता कपडा, औषधि पानी बाँडियो। त्यसो त थोरै सामग्री दिएर ठूलो प्रचारप्रसार गर्न खोज्ने प्रवृत्ति पनि देखिएको छ। त्यस्ता कार्यको सामाजिक सञ्जालमा मज्जैले खिसिट्युरी गरिएको छ। सायद यस्ता घटनाले दान वा सहयोग देखावटी प्रचारको लागिभन्दा पनि सेवा र सन्तुष्टिका लागि हुनुपर्छ भन्ने सन्देश दिएको छ। देशविदेशका पर्यटन तथा होटल व्यवसायीले आफ्ना होटल क्वारेन्टाइन रूपमा प्रयोग गर्न थाले। यसमा सरकारलाई सहयोग गरे।
विश्वभरका मानिसले आफ्नो स्थानबाट देखिएका रमाइला क्षण सामाजिक संजालमा साटासाट गरिरहेका छन्। हरेक कालो बादलमा सुनौलो घेरा हुन्छ भनेझै यो बेला सफा आकाश, हिमाल पहाड, नदी खोला तालतलाउमा कञ्चन पानीले संसार साँच्चिकै सुन्दर भएको छ। प्रकृतिको यो हदसम्मको निखारता कुनै देश, संस्था वा व्यक्तिका प्रयासबाट पनि संभव हुन सक्दैन्थ्यो।
हाम्रो देशमा अझैसम्म यो संकट विकराल रूपमा देखापरेको छैन। यसको मतलब हामी सुरक्षित छौं र हामीले केही पनि गर्नुपर्दैन भन्न खोजेको कदापि होइन। सरकारले बन्दाबन्दी घोषणा गरेको करिब तीन हप्ता हुन लागेको छ। यद्यपि, मानिसहरू शान्त छन्। हरेक घरपरिवार आफ्ना परिवार इष्टमित्रसँग निरन्तर सञ्चार सम्पर्कमा छन्। भौतिक रूपमा टाढा भएपनि भावनात्कम दूरी नजिकिएको छ। यसमा आमसञ्चारका माध्यमले ठूलो सहयोग गरेका छन्। सेवा प्रदायकले नियमित शुल्कमा भारी छुट दिएका छन्।
मनोरञ्जनका लागि सिनेमादेखि नाटकलाई निःशुल्क टेलिभिजनमा प्रसारण गरिएको छ। सहरमा सवारी साधन र अन्य चहलपहल नियन्त्रित भएको यस मौकामा चराको चिरबिर आवाज घरसम्मै आइपुग्न थालेको छ। यो बसन्त मौसमको कोमल पवनमा प्रकृतिको मीठो मिसिएर आएको अनुभूति हुन थालेको छ। यस्तो सुखानुभूति हामी सबै नेपालीलाई बराबर छैन होला। अधिकांश गरिखानु पर्ने वर्गले छाक काटेर अर्को छाकका लागि जोहो गर्नुपर्ने अवस्था आयो होला। तैपनि, सबैको मन मस्तिष्कमा कोभिडको कहरबाट आफू छिटै मुक्त हुने अठोट मात्र बढी छ। यसले केही अभावलाई सहज रूपमा लिएका छन् धेरैले। आम नेपालीको यो उच्च मनोबल नै कोभिडलाई संक्रामक हुन नदिने बलियो अस्त्र हो।
पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य संकायका सहप्राध्यापक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।