काठमाडौं- नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो। केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ।
यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब सार्वजनिक भएको छ। सो कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरी हरेक हप्ता धारावाहिक रुपमा पलेटीँको च्यानलमा उपलब्ध हुने भएको छ। त्यसैले अबका केही साता पलेँटीको च्यानलमा डा. सुमन थापाका नयाँ गीतहरू सँगै क्रमशः उनको सांगीतिक र पेशागत अनुभव सुन्न, हेर्न सकिने छ।
डा. सुमन पेशाले नेत्र विशेषज्ञ हुन्। नेपालयले गत अक्टोबरमा डा. सुमन थापाको पेसा र ‘प्यासन’लाई ध्यानमा राखेर पलेँटी डिजाइन गरेको थियो। यस शृंखलामा डा. सुमनले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन्। प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ। सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन्। शृङ्खलाको आरम्भमा सुमनकै संगीतका दुई गीत पनि समेटिएका छन् जसमा गीतकार रत्न शमशेर थापाको रचना पनि रहेको छ।
‘गीत गाएर पलेँटीको मञ्चमा गाउन पुग्छु भन्ने कुरा त मैले सोचेकै थिइन। त्यसमा पनि एक्कैसाथ यतिधेरै नेपाली गीत गाउछु भन्ने त झन् सोचेकै थिइन। तर पलेँटीले गर्दा श्रवणजी र आभासजीसँग रचनात्मक संगत गर्न पाएँ। यो क्षण मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो। त्यो मोडको मजा युट्युबमार्फत् आम प्रशंसक माझ बाड्न पाउँदा एकदमै खुसी लागेको छ,’ डा. सुमनले भने।

प्राय पश्चिमी शैलीमा अँग्रेजी गीत गाउन रुचाउने डा. सुमन, पलेँटीमा भने नेपाली गीत लिएर उपस्थित छन्। प्रायजसो सामुन्ने रहेको आँखा जाच्ने यन्त्र ‘स्लिट ल्याम्प’मा तिलगंगा र क्लिनिकमा देखिने डा. सुमन पलेँटीको भिडियोमा भने आफ्नो मनपर्ने बाजा गिटारका साथ देखिने छन्।
'डा. सुमन थापासँगको पलेँटी सफल र प्रयोगात्मक कार्यक्रम थियो जसमा स्थापित गीतकार श्रवण मुकरुङ र संगीतकार आभासले प्राय अँग्रेजी भाषामा गीत गाइरहेका सौखिन गायकसँग सहकार्य गरेका थिए। भविष्यका पलेँटीमा पनि यसखाले सिर्जनात्मक सह-कार्यको प्रयोगलाई निरन्तरता दिने सोचमा छौं।' आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले प्रष्ट्याए।
डा. सुमन संगको पलेँटीलाई पलेँटी नेपालयको युट्युब च्यानलमा गएर हेर्न र सुन्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।