काठमाडौं- प्रविधिले सबै कुरा नियन्त्रण गर्ने बताइएको यो जमानामा त्यो पनि सर्वशक्तिमान देश अमेरिकामा कार चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ। तर त्यस्तो नहुँदाे रहेछ। अमेरिकामा बर्सेनी लाखौंको संख्यामा कार चोरी हुने गरेको तथ्यांक बाहिर आएको छ।
अमेरिकाकाे नेसनल इन्स्योरेन्स क्राइम ब्यूरोले २०१८ मा चोरी भएका कारको तथ्यांक सार्वजनिक गरेको छ। ब्यूरोले सो वर्ष लाखौंको संख्यामा कार चोरी भएको जनाएको छ। तर यहाँ २०१८ मा चोरी भएका टप टेनको तथ्यांकमात्र उल्लेख गरिएको छ। चोरहरूको रोजाइमा फ्यामिली सेडान र एसयुभी कार पर्ने गरेको ब्यूरोको तथ्यांक हेर्दा थाहा हुन्छ।
प्रविधिमा आधारित सुरक्षा विशेषताले भरिपूर्ण कार चोरी हुनुले व्यवसायीक गिरोह नै चोरीमा संलग्न रहेको ब्यूरोको अनुमान छ। चोरहरूकाे रोजाइमा स्पोर्ट्स कार भने पर्ने गरेको छैन। बजारमा धेरै बिक्री हुने कार नै चोरको नजरमा पर्ने गरेको छ। २०१८ मा धेरै संख्यामा चोरी भएका १० कारको संख्यात्मक तुलना गर्दा पुराना मोडल बढी चोरिएका छन्। नेसनल इन्स्योरेन्स क्राइम ब्यूरोले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक चोरी हुने कारहरू यी हुन्:
१०. जिप चेरोकी

जिप चेरोकी अमेरिकामा सर्वाधिक चर्चित मोडल हो। चेरोकी र ग्राण्ड चेरोकी उस्तै देखिन्छ तर चेरोकी धेरै चोरी हुने गरेको छ। २०१८ मा ९ हजार ८ सय १८ वटा चेरोकी चोरी भएको थियो। ब्यूरोका अनुसार ६ सय ४६ वटा सेकेन्ड जेनेरेसन चेरोकी हो।
९. डोज पिकअप

चोरीका लागि झन्झट बढी हुने कारहरू कमै चोरी हुने गरेका छन्। चोरहरूको नजरमा डोजको पिकअपमा यस्तो कम हुन्छ। २०१८ मा डोजको ११ हजार २ सय २६ वटा पिकअप चोरी भएको उजुरी ब्यूरोमा परेको थियो।
८. जिएमसी पिकअप

यो पिकअप अमेरिकामा निकै लोकप्रिय छ। सडकमा यो गाडी देखिँदा मानिसको ध्यान जाने गरेको छ। २०१८ मा यो पिकअप ११ हजार ७ सय ८ वटा चोरी भएकोमा १ हजार १ सय ७० वटा २०१८ मोडलकै थिए।
७. टोयोटा कोरोला

जापानी कार निर्माता टोयोटाको यो कार अमेरिकामा सर्वाधिक बिक्री हुने कार मध्यको एक हो र यो वर्षौदेखि कायम छ। यो कारको विश्वसनीयताका कारण अमेरिकाको हरेक जसो घरमा देखिन्छ। चोरको नजरमा परेको यो कार २०१८ मा १२ हजार ३ सय ८८ वटा चोरी भएका थिए। जसमा १ हजार ३४ वटा त सोही वर्ष बनेका थिए।
६. निसान अल्टिमा

आफ्नो सेगमेन्टमा बलियो उपस्थिति जमाउन जापानी कार निसान अल्टिमा सफल रहेको छ। चोरी हुने कारको सूचीमा अल्टिमा पनि चर्चित नै रहेको छ। २०१८ मा यो कार १३ हजार २ सय ८४ वटा चोरी भएको तथ्यांक ब्यूरोले सार्वजनिक गरेको छ।
५. टोयोटा क्याम्री

विलाशी सेगमेन्टमा नगइ विलाशी कार चढ्न चाहनेको रोजाइमा टोयोटा क्याम्री पर्ने गरेको छ। अमेरिकामा टोयोटाका कारको प्यान फलोइङ निक्कै राम्रो छ। २०१८ मा १६ हजार ९ सय ६ वटा टोयोटा क्याम्री चोरी भएका थिए।
४. सेब्रोले पिकअप

सेब्रोले ब्रान्ड अमेरिकामा निक्कै चर्चित छ। सेब्रोलेको सिल्भाराडो पिकअप अमेरिकामा २०१८ को दोस्रो सर्वाधिक बिक्री हुने कार हो। त्यसैले पनि यो कार चोरका लागि सहज रहेको बुझ्न गाह्रो पर्दैन। यो कार २०१८ मा ३१ हजार ५ सय ६६ वटा चोरी भएका थिए।
३. फोर्ड पिकअप

अमेरिकी कार उत्पादक फोर्ड अमेरिकामा स्वाभाविक रूपमा चर्चित छ। फोर्डले बनाएको पिकअप एफ-१५० अमेरिकामा सबैभन्दा लाेकप्रिय छ। चोरको टार्गेटमा पनि यही एफ-१५० पर्ने गरेको छ। २०१८ मा यो कार ३६ हजार ३ सय ५५ वटा चोरी भएको छ। यीमध्ये अधिकांश २०१८ मोडल नै हुन्।
२. होन्डा एकर्ड


फोर्ड र सेब्रोले अमेिकी कम्पनी नै भएकाले राष्ट्रियताका हिसाबले लोकप्रिय हुनु स्वाभाविक हो। तर जापानी कार होन्डा बढी रोजिनु यसको विश्वसनीयता नै हो भन्न असहज भएन। अमेरिकामा चर्चित रहेको एकर्ड २०१८ मा अमेरिकामै करिब ३ लाखवटा बिक्री भएका थिए। धेरै बिक्री भएको एकर्ड नै सर्वाधिक चोरी हुनेको सूचीमा दोस्रो नम्बरमा रहेको छ। होन्डा एकड २०१८ मा ३६ हजार ८ सय १५ वटा चोरी भएको ब्यूरोको तथ्यांक छ। यसमध्ये ५ हजार २९ वटा १९९७ मोडलका रहेका छन्।
१. होन्डा सिभिक

होन्डा सिभिक अमेरिकामा धेरै चोरी हुने कारको सूचीमा सँधैजसो अग्र स्थानमा हुने गरेको छ। यो कार अमेरिकामा धेरै पटक कार अफ द च्वाइसमा पर्न सफल भइसकेको छ। २०१८ मा होन्डा सिभिक ३८ हजार २ सय ४६ वटा चोरी भएका थिए। यसमध्ये ५ हजार २ सय ९० वटा २००० मोडलका रहेको ब्यूरोले सार्वजनिक गरेको तथ्यांकमा छ। धेरै चोरी हुने भएपछि यो कार किन्ने तथा बिक्री गर्ने दुवैले सुरक्षाका सबै सावधानी अपनाउने गरेका छन्। तै पनि यही कार धेरै चोरी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।