काठमाडौं- इलेक्ट्रिक कार किन्नेहरूको ध्यान तथा रोजाइमा टेस्लाको कार पर्ने गरेको छ। तर उपलब्धता, महँगो मूल्यलगायत कारणले खरिद गर्न नपाएर अन्य ब्रान्डका खरिद गरिरहेका हुन्छन्। यस्तैमा एक कम्पनीले टेस्लाको मोडल ३ को भन्दा एक चौथाई मूल्यमा इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ।
मेपल अटोमोटिभले सार्वजनिक गरेको मेपल ३०एक्स इलेक्ट्रिक एसयुभीको मूल्य जम्मा ९ हजार ८ सय अमेरिकी डलर (करीब १० लाख रूपैयाँ) तोकिएको छ। यो मूल्य सरकारले इलेक्ट्रिक सवारीमा दिएको सहुलियतपछिको हो।
मेपल अटोमोटिभ जिली होल्डिङ कर्प र क्यान्डी टेक्नोलोजीज्ले संयुक्त रूपमा स्थापना गरेको कम्पनी हो। मेपलमा चिनियाँ कम्पनी जिली कर्पको ७८ प्रतिशत सेयर रहेको छ। त्यस्तै जिली कर्पसँग भोल्भो, र लन्डन ब्ल्याक ट्याक्सीको स्वामित्व हुनुका साथै जर्मन कार मर्सिडिजको माउ कम्पनी डिमलर एजीमा समेत ठूलो संख्यामा सेयर रहेको छ।
त्यस्तै क्यान्डी अमेरिकाको एनएएसडीएक्यूमा लिस्टेड कम्पनी हो‚ जसको मेपल अटोमोटिभमा २२ प्रतिशत सेयर छ। यी दुईको संयुक्त प्रयासमा बनेको नयाँ कम्पनीले मेपल ३०एक्स इलेक्ट्रिक कार बनाएको हो। सो मूल्यमा उत्पादित मेपल ३०एक्स चीनको मात्र नभई संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार बनेको छ।
मेपल ३०एक्स इलेक्ट्रिक एसयुभी- विशेषता र मूल्य
मेपल ३०एक्स जिली कर्पको जिली भिजन एक्स३मा आधारित भएर बनेको कार हो। डिजाइनका हिसाबमा यो कम्प्याक्ट एसयुभी हो। बि-सेगमेन्टको यो एसयुभीको लम्बाइ ४ मिटर रहेको छ।
मेपल ३०एक्समा सनरूफ तथा कि-लेस इन्ट्री अप्सन सहित डुअल-टोन एक्टेरियर छ। सस्तो बन्नुमात्र यो कारको विशेषता होइन। यो कारमा विभिन्न अत्याधुनिक प्रविधि समेत उपलब्ध छन्। मेपल ३०एक्समा पैदल यात्रु र कारबीचको दूरी पत्ता लगाउने सिस्टम, स्वचालित ड्राइभिङका लागि फ्रन्ट सेन्सर, पावर विइन्डोमा अब्जेक्ट डिटेक्सनलगायत विशेषता छ।

मेपल ३०एक्सले आफ्नो सञ्चालन लागत कयौं गुणा बचत गर्ने दाबी कम्पनीले गरेको छ। यो कारले शून्यदेखि ६० माइल (९६ किमि)प्रतिघण्टाको गति १२ सेकेन्डमै तय गर्न सक्छ।
यो कारमा ७० केडब्लू (९४ बिएचपी)को मोटर जडान गरिएको छ‚ जो हाइवेमा कुदाउन समेत योग्य रहेको दाबी कम्पनीको छ। तुलनात्मक रूपमा मेपल ३०एक्समा कम शक्तिशाली मोटर र सानो ब्याट्रीका बाबजुत यसले १ सय ९० माइल (३ सय ५ किमि)को रेन्ज दिन्छ। यो मिनि कुपर इलेक्ट्रिक कारको भन्दा धेरै रेन्ज हो। हाइ रेन्ज मिनि कुपरको माइलेज १ सय ७० माइल (२ सय ७३ किमि) रहेको छ।
मेपल ३०एक्सनामा अर्को नयाँ विशेषता पैदा भएको छ‚ त्यो हो क्यूबिएक्स। क्विक ब्याट्री एक्सचेन्ज प्रविधिबाट मेपल ३०एक्समा चार्ज भएको ब्याट्री ८० सेकेन्डभित्र परिवर्तन गर्न सकिने दाबी कम्पनीको छ।
जिलीले यो वर्षको अन्त्यसम्ममा थप २ वटा नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने जनाएको छ। सोही समयमा कम्पनीले ३० हजार वटा कार बिक्री गर्ने लक्ष्य लिएको छ।
मेपल ३० एक्स साधारण प्रयोगकर्ताका लागि उपलब्ध छ भने जिलीले मेपल ३०एक्सलाई उड्ने कारका रूपमा समेत विकास गर्ने जनाएको छ।

अब प्रश्न उठ्छ मेपल ३०एक्स टेस्ला मोडल ३ को प्रतिस्पर्धी हो त? मूल्य तथा ब्राण्डका हिसाबले पक्कै होइन। तर सस्तो मूल्यमा टेस्लाको जस्तै प्रविधियुक्त कार भएकाले यसले बजारलाई भने प्रभावित पार्न सक्ने अनुमानहरू हुन थालेका छन्। ब्राण्ड कन्सस बाहेकका लागि यो इलेक्ट्रिक कार उपयुक्त छनोटको विकल्प हुनसक्छ।
इलेक्ट्रिक सवारी रोज्नेहरूका लागि टेस्लाको मोडल ३ र मोडल एस रोज्ने बाहेकको वर्गलाई सस्तो मूल्यमा मेपल ३०एक्स नै उपयुक्त कार हुने दाबी कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।