काठमाडौं- कोरोना भाइरसका कारण विश्वका ४ अर्बभन्दा बढी मानिस घरभित्रै छन् भने बाँकी पनि पूर्ववत अवस्थामा निर्वाद हिँडडुन गर्न सकेका छैनन्। कोरोनाको संक्रमण न्यूनीकरण गर्न अधिकांश देश लकडाउनमा छन्।
यो अवस्थामा दैनिक उपभोग्य सामग्री बाहेकका वस्तुको बिक्री शून्य प्रायः छ। यी सामग्री पनि कतिपय ठाउँ र सहरमा अनलाइबाट बिक्री भइरहेका छन्। लकडाउन खुलेपछि पनि मानिसमा सामान खरिदको आदत अनलाइनतर्फ नै हुने देखिन्छ। यसको कारण हो एउटा लकडाउनको समयमा लागेको बानी र अर्को कोरोनाको भ्याक्सिन पत्ता नलागेसम्म जोखिम कम गर्न कायम राख्नु पर्ने ’सोसियल डिस्ट्यान्सिङ’।
यसैको परिणामस्वरूप सवारी उत्पादक कम्पनीहरूले अनलाइनबाट कार तथा मोटरसाइकल बिक्री गर्ने आधार धमाधम तयार गर्दैछन्। यो युरोपदेखि भारतसम्मै घोषणा हुनेक्रम जारी छ। अनलाइन बिक्री प्लेटफर्म तयार पारेर लकडाउन खुलेपछि वा खुकुलो भएपछि त्यो सञ्चालन ल्याउने कम्पनीहरूले बताएका छन्। केही कम्पनीले सुरू भइसकेको समेत बताएका छन्।
कोरियाली कार उत्पादक हुन्डाई मोटर्स र जापानी कम्पनी होन्डाले पनि भारतमा कार बिक्रीका लागि अनलाइन प्लेटफर्मको घोषणा गरिसकेका छन्।
भारतमा सवारी बिक्री गर्दै आएका कम्पनीहरुले धमाधम अनलाइन प्लेटफर्म सार्वजनिक गर्न थालेका छन्। कोरोना भाइरसको महामारीका कारण लकडाउनमा रहेको भारत सामान्य अवस्थामा आएसँगै कम्पनीहरुले सोही प्लेटफर्ममार्फत् नै सवारी बिक्री गर्ने बताएका छन्।

उक्त प्लेटफर्ममार्फत् सवारी खरिद गर्दा उपभोक्ताहरु डिलरसम्म जानुपर्ने बाध्यता हुँदैन। कोरोना भाइरसको भ्याक्सिन नबन्दासम्म मानिसहरु भीडभाडमा जान डराउने वा भाइरसको संक्रमण हुने जोखिम कामयै रहन्छ। त्यसैले सवारी कम्पनीहरुले बिक्रीको वैकल्पिक उपायतर्फ लम्किएका हुन्।
जर्मन कार निर्माता मर्सिडिज र फक्सवागनले गएको सोमबार सवारी बिक्रीको डिजिटल सेल्स प्लेटफर्मको घोषणा गरेका छन्। यो प्लेटफर्ममा कम्पनीहरुले डिलरहरुलाई समेत समावेश गरेका छन्। मर्सिडिजले सो प्लेटफर्मको नाम ‘मर्क फ्रम होम’ राखेको छ। यो प्लेटफर्ममा मूल्य, छुट, अफर, उपलब्ध स्टक कारबारे पूर्व जानकारी हुनेछ।
उपभोक्ताले खाद्य वस्तु खरिद गरेजस्तै गरी सवारी किन्न सकिने व्यवस्था मिलाइएको मर्सिडिज बेन्ज इन्डियाका एमडी तथा सिइओ मार्टिन सेवन्कको भनाइ छ। सन् २०२५ सम्ममा मर्सिडिजले विश्वभर बिक्री गर्ने कूल कार मध्ये २५ प्रतिशत अनलाइनबाटै बिक्री हुने अनुमान गरिएको उनले बताए।
अर्को जर्मन कार उत्पादक बिएमडब्लूले अप्रिलको सुरुवातमै प्रत्यक्ष सम्पर्क नगरी सवारी किन्न मिल्ने प्लेटफर्म सार्वजनिक गरेको थियो। भारतीय तथा भारतमा प्लान्ट स्थापना गरेका बहुराष्ट्रिय कम्पनीहरुले पनि त्यस्तो प्लेटफर्मको घोषणा गरिसकेको वा गर्ने तयारीमा रहेका छन्। एमजी, हुन्डाई, मारुती सुजुकी टोयोटालगायतले घोषणा गरी सकेका छन्। यो प्लेटफर्मलाई कम्पनीहरुले कोरोना महामारीको अन्त्यपछि व्यापक रुपमा प्रयोगमा ल्याउने तय गरेका छन्।
लकडाउनपछि मानिसहरु जम्मा हुने वा समूहमा भेला हुने भन्ने कुरा हराउन सक्ने भएकाले अनलाइन प्लेटफर्म विस्तार हुने विज्ञहरुको भनाइ छ। अटोमोटिभ विजनेश इन्टेलिजेन्स फर्म जाटो डाइनामिक्सका प्रमुख रवी भाटियाका अनुसार कम्पनीहरुले अनलाइन बिक्रीका लागि समग्रमा एउटै प्लेटफर्म प्रयोगमा ल्याउन खोजेका छन्।

हाल कम्पनीहरुले सवारीको सर्भिसका लागि समेत अनलाइन प्लेटफर्मको प्रयोग गर्दै आएका छन्। हालै गरिएको एक अध्ययनअनुसार सहभागी मध्ये ५० प्रतिशतभन्दा बढीले अब सवारी खरिद गर्दा अनलाइनमा उपलब्ध भए त्यहीबाटै किन्ने मत जाहेर गरेका थिए।
नेपालमा अनलाइन बिक्री कति सम्भव
नेपाली बजारमा पनि सवारी बिक्रेताहरुले हाल सर्भिस, सोधपुछ जस्ता कुरा भने अनलाइनबाटै गर्दै आएका छन्। तर, तत्काल बिक्री गर्ने आधार बनी नसकेको उनीहरुको भनाइ छ।
समयको परिवर्तनसँगै नयाँ प्लेटफर्ममा जानुपर्ने भएपनि तत्काल त्यो वातावरण बनीनसकेको फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जिओ फार्डका कार्यकारी निर्देशक आकाश गोल्छाले बताए। ‘हामीले अहिले पनि सर्भिसको बुकिङ, उपभोक्ताको जिज्ञासा अनलाइनबाटै सम्बोधन गर्दै आएका छौं,’ उनले भने, ‘तर बिक्रीकै लागि अनलाइनमा गइहाल्न केही समय लाग्छ। नेपालीहरु आफैंले भौतिक रुपमा हेरेर नै किन्ने गरेका छन्। त्यसैले यसका लागि केही समय लाग्छ होला।’
तत्काल सवारी बिक्रीकै लागि अनलाइनमै जाने अवस्था देखिइ नसकेको हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका मिडिया एन्ड मार्केटिङ प्रमुख अवाषिश ओझाले बताए। हुन्डाई कम्पनीले विश्वव्यापी रुपमा नै अनलाइन बिक्री प्लेटफर्मलाई प्राथमिकता दिएको भएपनि नेपालमा त्यो उपभोक्ताले स्वीकार समय लाग्ने उनको भनाइ छ।
‘दीर्घकालिन रुपमा जाने त अनलाइन बिक्री प्लेटफर्ममै हो,’ उनले भने, ‘अहिले सर्भिस, सवारीको बारेमा जानकारी अनलाइनबाटै उपलब्ध गराइएको भएपनि बिक्री कै लागि उपभोक्ताले त्यो के गर्छन भन्ने नै छ।’ प्लेटफर्म तयारी अवस्थामै भएकाले उपभोक्तामा बानीको विकास हुँदा त्यसलाई चलाउन अप्ठेरो नपर्ने उनले बताए।
अन्य सवारी बिक्रेताहरुले पनि यसबारेमा सोच बनाएको भएपनि त्यसमा जाने अवस्था भने तत्काल नभएको बताएका छन्। नेपालमा जनसंख्याका हिसाबले पनि र मानिसको सोचले त्यो स्वीकार गर्न समय लाग्ने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।