काठमाडौं- टेस्लाले बजारमा ल्याउन लागेको साइबर ट्रकको चर्चा संसारभर हुन थालेको छ। तर यो साइबर ट्रक बजारमा आउन अझै केही समय लाग्ने छ।आरामदायी र शक्तिशाली इलेक्ट्रिक कार उत्पादन गरेर छोटो समयमा नै धेरैको मन जितिसकेको टेस्लाको साइबर ट्रकको प्रतिस्पर्धी मोडलसमेत बजारमा आउने भएको बिजनेस इन्साइडरले समाचार प्रकाशन गरेको छ।
टेस्लाको साइबर ट्रकसँग प्रतिस्पर्धा गर्ने गरी बोलिङगर मोटर्सले नयाँ इलेक्ट्रिक पिकअप ल्याउने भएको हो। बोलिङगर मोटर्सले पूर्ण इलेक्ट्रिक च्यासिस-क्याब पिकअप प्लेटफर्ममा नयाँ गाडी बनाउने तय भएको छ। यो दुई प्रयोजनमा प्रयोग गर्न सकिने छ जसमा एक बक्स ट्रक र अर्को बकेट ट्रक हुन्।
अहिले विश्वलाई धेरैभन्दा धेरै इलेक्ट्रिक ट्रकको आवश्यकता छ। भर्सटाइल, बहुउपयोगी र कस्टुमाइजेबल हुनुपर्ने यस्ता सवारीको चुनौती छ। यस्ता सवारी इन्धनबाट नचल्ने भएकाले प्रदूषण गर्दैनन् र आवाज पनि निकाल्दैनन्। त्यसैले यस्ता सवारी देख्दैमा शान्त लाग्न थालेका छन् र चलाउन पनि उपयुक्त!
इलेक्ट्रिक सवारी खोज्नेका लागि बोलिङगर मोटर्सले उपयुक्त विकल्प ल्याउने भएको हो। बोलिङगरले पूर्ण इलेक्ट्रिक च्यासिस-क्याब ट्रक रोजाइमा पर्न सक्छ। कम्पनीले सो ट्रकको नाम बोलिङगर बि२ च्यासिस क्याब नाम राखेको छ।
कम्पनीले बिहीबार यो ट्रक २०२१को अन्त्यसम्ममा बजारमा बिक्रीका लागि उपलब्ध हुने दाबी गरेको छ। यो ट्रक फुल क्याब र कटअबे क्याब दुई मोडलमा उपलब्ध हुने छन्। यी ट्रक व्यक्तिगत तथा व्यवसायीक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ।
बोलिङगर बि २ च्यासिस क्याब मिडियम ड्युटी पिकअप प्लेटफर्ममा बन्ने र दुई र चार ढोकावाला हुनेछ। बोलिङगर सानो कम्पनी भएपनि नाम चलेको कम्पनी टेस्लाले ल्याउन लागेको साइबर ट्रकसँग प्रतिस्पर्धा गर्ने योग्य हुने विश्लेषण हुन थालेको छ। यद्यपि दुवै कम्पनीका उत्पादन भने बजारमा आइसकेका छैनन्।
बोलिङगरले यो ट्रकको पेटेन्टका लागि २०१९ को नोभेम्बरमा निवेदन दिएको थियो। यो ट्रक अल ह्वील ड्रटइभ प्लेटफर्ममा बन्नेछ। १ सय २० केडब्लुएचको ब्याट्री प्याक हुने यो ट्रकमा इलेक्ट्रोनिक ट्राक्सन कन्ट्रोल, स्ट्याबलिटी कन्ट्रोल, हाइड्रोलिक पावर स्टेरिङ, सेल्फ-लेवलिङ सस्पेन्सनलगायत विशेषता हुनेछ।
यो ट्रकको डिजाइन, इन्जिनियरिङ र निर्माण अमेरिकामै हुनेछ। टेस्ला साइबर ट्रक र बोलिङगर बि २ को वास्तविक प्रतिस्पर्धा भने गाडी बजारमा आएपछि मात्र हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।