काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्न चैत ११ देखि लकडाउन सुरु गरेको छ। कोभिड १९ रोगसँग लड्न सरकारले सवारी खरिदलगायत अनावश्यक खर्च नगर्ने निर्णय गरेको थियो। तर, नेपाल पानीजहाज कार्यायलले बुधबार गाडी खरिदको बोलपत्र स्वीकृत भएको सूचना जारी गरेको छ।
कार्यालयले २०७६ फागुन ८ गते नै सूचना प्रकाशित गरी चारपांग्रे सवारी खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। कार्यालयले इ-बिडिङमार्फत् प्राप्त बोलपत्रबाट मूल्यांकन समितिले गरेको स्वीकृतअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफ २७ को उपदफा २ बमाेजिम तथा ऐनको दफा ४७ को प्रयोजनका लागि सबै बोलपत्रदाताहरुको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।
कार्यालयले दुईवटा एसयुभी गाडी खरिद गरेको नेपाल पानीजहाज कार्यालयका प्रमुख विपिन राजभन्डारीले बताए। ‘हामीले गाडी खरिद गर्ने सूचना फगुन ८ मै निकालेका थियौं। अहिले त्यो स्वीकृत भएको सूचना आएको हो,’ उनले भने, ‘सरकारले गरेको निर्णयपछि गाडी खरिदको प्रक्रिया थालेका होइनौं।’
कार्यालयले सिप्रदी ट्रेडिङबाट टाटा मोटर्सका दुईवटा एसयुभी १ करोड ४३ लाख ९८ हजार रुपैयाँमा खरिद गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।