काठमाडौं- नेपाली गायक दिवेश पोखरेल अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको २०२० को उत्कृष्ट सातमा पुगेसँगै उनले उपाधी जित्ने सम्भावनाबारे आँकलनहरु सुरु भइरहेका छन्। भोटिङ चरणमा उनी सुरक्षित हुँदै अगाडि बढे पनि कति भोट पाउँदै आएका छन् त्यो त खुलेको छैन।
उनीसँगै जस्ट साम, जोनी वेस्ट, लुइस नाइट, जुलिया गार्गानो, फ्रान्सिस्को मार्टिन र डिलोन जेम्स उत्कृष्ट ७ मा पुगेका छन्। उत्कृष्ट ७ को चयन हुँदा उनको नाम पहिलो सूचीमा परेको थियो। उनलाई तीनै जना निर्णायकहरुले मन पराउने गरेका छन् भने उनको फ्यान फलोइङ् पनि बढ्दै गएको छ।
उनले गाउने कन्ट्रिसङ्का कारण उनले आफ्नो प्रसंशकहरुको दायरा बढाउँदै लगेको देखिन्छ। थप अमेरिकामा रहेका नेपाली समुदायमाझ उनी पहिलो रोजाइमा पर्ने नै भए।
के यही आधारमा मात्र उनी विजेता बन्न सक्छन् त?
रियालिटी शोबारे समिक्षा र आँकलन गर्दै आएको च्यानल ट्यालेन्ट रिक्यापको आँकलनमा उनी सम्भावित विजेतामा परेका छन्। कार्यक्रम सञ्चालिका मेल र समान्थाले उत्कृष्ट सातको प्रस्तुति र फ्यान फलोइङ्का आधारमा सम्भावित विजेताबारे आँकलन गरेका थिए। मेलको आँकलनअनुसार तेस्रो सिजनको विजेता दिवेश हुन सक्छन्।
उनले दिवेश अमेरिकामा मात्र नभई विश्वभर लोकप्रिय रहेको, उनले प्रतियोगितामा कन्ट्री गीत गाउने प्रतियोगी नभएको र उनी एकल भएकाले उनले जित्ने आँकलन गरिन्। उनले क्लासिक गीतहरु समेत गाउने गरेका छन्।
समान्थाको सूचीमा जोनी वेस्ट परेका छन्। समान्थाका अनुसार उनको गाउने शैली र उनको फ्यानका आधारमा उनी विजेता हुने सम्भावना बढी छ। उनमा गायन सुपरस्टार हुनसक्ने खुवी भएको दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।