काठमाडौं– वर्षको पहिलो कारोबारको दिन नेप्से परिसूचक सकारात्मक बनेको छ भने कारोबार रकममा गिरावट आएको छ। आइतबार नेप्से परिसूचकमा २ दशमलब ६० अंकले वृद्धि भएर १ हजार २ सय ८० दशमलब १५ को बिन्दुमा आइपुगेको छ।
आइतबार १ सय ५९ कम्पनीको ३० करोड ३१ लाख २८ हजार २ सय ७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि अघिल्लो वर्षको अन्तिम कारोबारको दिन बिहीबार १ सय ६५ कम्पनीको ४४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
आइतबार कारोबारमा आएका चार समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै जलविद्युत् समूह अन्तर्गतका लगानीकर्ताले गुमाएका छन्। यो समूहमा ८ दशमलब ३३ अंकको गिरावट आएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहमा ३ दशमलब ६७ अंकको गिरावट आएको छ।
आइतबार सर्वाधिक बिमा समूहका लगानिकर्ताले कमाएका छन्। समूहको सेयर मूल्य ८३ दशमलब ८४ अंकले बढेको छ। त्यस्तै, होटल समूहको सेयर मूल्य २२ दशमलब ४१ अंकले बढेको छ। लघुवित्त समूह अन्तर्गतका लगानीकर्ताले ११ दशमलब ७४ अंकको नाफा हात पारेका छन्।
आइतबार गुँरास लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। इन्स्योरेन्सको १ करोड ४२ लाख ७८ हजार ६ सय ३१ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड २९ लाख २६ हजार ८ सय १४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ अर्थात् ६ दशमलब ७८ प्रतिशतले बढेको छ। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता ३४ रुपैयाँ अर्थात् ५ दशमलब ५२ प्रतिशतले बढेको छ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्सका संस्थापक लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७ रुपैयाँ अर्थात् ९ दशमलब ९८ प्रतिशतले घटेको छ। त्यस्तै, जेविल्स फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ४ रुपैयाँले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।