काठमाडौं- भन्सार विभागले आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत हुनुअघि एक साता अवधिमा १८ वटा मात्रै विद्युतीय गाडी जाँचपास भएको जनाएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै विभागले बजेटको एक साताअघि १८ वटा विद्युतीय गाडी र ३४३ वटा पेट्रोलियम गाडी जाँसपास भएको विभागले जनाएको छ।
बजेट आउनुअघि कर बढ्ने सूचना चुहिएपछि विद्युतीय गाडी हतारहतार जाँचपास गरेको भन्दै विरोध भएपछि भन्सारले स्पष्टीकरण दिएको हो। विभागले जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधन जाँचपास भएको र त्यसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएको जनाएको छ।
गतवर्ष जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका विभागको भनाइ छ। 'गत वर्षको भन्दा यो वर्ष आयात दोब्बरको नजिक पुगेको देखिएकाले यो वर्ष जेठमा ९३ वटा हुनु सामान्य कुरा हो,' विभागले विज्ञप्तिमा भनेको छ।
विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा भन्सारमा आइपुगेका पनि विभागले जनाएको छ। जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन वैशाख ११ गते भन्सारमा आइपुगेका पनि विभागले उल्लेख गरेको छ।
बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात् जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका र पेट्रोलियम गाडीहरु १७९ वटा आयात भएका विभागले जनाएको छ। 'भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकाले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना रहँदैन,' विभागले विज्ञप्तिमा भनेको छ, 'चालु आर्थिक वर्षको साउनमा ९१ वटा, मंसिरमा ११२ वटा, पुसमा ९५ वटा गाडीहरु जाँचपास भएका छन, त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएका छन्, जुन स्वभाविक नै हो।' ु
बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको पनि विभागले जनाएको छ। यसवर्ष जेठ १४ गते १ अर्ब ७२ करोड, २०७६ जेठ १४ मा २ अर्ब १५ करोड र २०७५ जेठ १४ गते २ अर्ब १९ करोड रूपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।