काठमाडौं- अमेरिकन अटो ब्रान्ड जिपको र्यांग्लर नेपाल भित्रिएको छ। नेपाल लाइभलाई प्राप्त तस्बिरहरुमा अफरोड क्षमताको पर्याय मानिने र्यांग्लरलाई लक्जरी अफरोडर मानिने ग्रान्ड चेरोकी समेत सँगै आएको छ।
वीरगन्ज भन्सार कार्यालय परिसरमा देखिएका एसयुभीहरु कर चुक्ताको प्रक्रियामा रहेका छन्।
नेपालमा लाइफ अटोमोबाइलले जिप ब्रान्डका एसयुभी आयात गर्दै आएको छ। नेपाली बजार भित्रन तयार यी एसयुभीहरु सिबियु रुटबाट सिधै अमेरिकाबाट झिकाइएका हुन्। हाल जिप इन्डियाले कम्पास मात्र उत्पादन गर्दै आएकाले र्यांग्लर र ग्रान्ड चेरोकी अमेरिकाबाट ल्याइएको हो।
वीरगन्ज भन्सार कार्यालयको इन्टिग्रटेड चेक पोस्ट (आइसिपी)मा रातो र गाढा हरियो गरी दुई वटा जिप र्यांग्लर र एउटा सेतो ग्रान्ड चेरोकी देखिएका हुन्।
अन्तर्राष्ट्रिय बजारमा टु-डोर र फोर-डोर गरी दुई प्रकारका र्यांग्लर पाइन्छ। नेपाल भित्रिएका र्यांग्लरमा चार वटा ढोका छन् जसलाई र्यांग्लर अनलिमिटेड भनिन्छ। र्यांग्लर स्पोर्ट, रुबिकन र सहारा गरी तीन ट्रिममा उपलब्ध छन्।
जिपले पहिलो पटक सन् १९८७ मा सिजे सिरिजका एसयुभीहरु ‘डिस्कन्टिन्यु’ गरेर यांग्लर ल्याएको थियो। यसको डिजाइन सिजेबाटै प्रभावित थियो। र्यांग्लरले दोस्रो विश्वयुद्धमा प्रयोग भएको जिपको डिजाइन र क्षमतालाई प्रतिनिधित्व गर्छ। त्यसैले यसलाई ‘ओरिजिनल एसयुभी’पनि भन्ने गरिन्छ। यो संसारमै सबैभन्दा परिचित एसयुभी हो।
जिपको आइकनिक ‘सेभेन ग्रिल’ र दुई छेउमा राखिएको हेडलाइट यसको परिचय हो। यसको बक्स आकारको डिजाइन र अद्वितीय अफरोड क्षमताले गर्दा यो विशेषगरी एड्भेन्चरप्रेमीमा लोकप्रिय छ।
त्यसैगरी, लक्जरी एसयुभी सेग्मेन्टमा राखिने ग्रान्ड चेरोकी मिड-साइज एसयुभी हो, जुन सधैं ‘युनिबडी च्यासिस’मा बनाइएको हुन्छ। सामान्यतया एसयुभी निर्माताहरुले आफ्ना एसयुभीलाई बडी-अन-फ्रेम मा निर्माण गरेका हुन्छन्।
सन् १९९२ मा पहिलो पटक लन्च गरिएको प्रदर्शन गरिएको ग्रान्ड चेरोकी ७ विभिन्न मोडेल लेरेडो, लिमिटेड, ट्रेलहक, ओभरल्यान्ड, समिट, ट्रयाकहक र एसआरटीमा उपलब्ध छ। ट्रायकहक संसारकै सबैभन्दा शक्तिशाली र तीव्र एसयुभी हो।
यो मात्र ३.६ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ भने यसको टप स्पिड २९० किलोमिटर प्रतिघन्टा हो। ७ सिटको फोरवाइड एसयुभी ३ लिटर, ३.६ लिटर, ५.७ लिटर, ६.४ लिटर र ६.२ लिटर इन्जिन क्षमतामा आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।