काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सले भारतमा सवारी उत्पादनका लागि १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएकाे छ। ग्रेटवाल मोटर्सले मंगलबार उक्त लगानीबारे महाराष्ट्रसँग एमओयूमा हस्ताक्षर भएको जनाएको छ।
ग्रेटवाल मोटर्सले अमेरिकी कम्पनी जनरल मोटर्सको महाराष्ट्रमा रहेको प्लान्ट खरिद गरेको थियो। त्यसैले लगानी बारे ग्रेटवालले महाराष्ट्र सरकारसँग सम्झौता गरेको द टाइम्स अफ इन्डियाले लेखेको छ। एमओयूमा ग्रेटवालले १ अर्ब डलर (७ हजार ६ सय करोड भारू) लगानी गर्ने प्रतिबद्धता जनाएकाे छ। विभिन्न चरणमा गरिने सो लगानीबाट ३ हजार भन्दा बढी मानिसले रोजगारी पाउने छन्।
'पुने नजिक रहेको प्लान्ट उच्च प्रविधियुक्त अटोमेटेड प्लान्ट हुनेछ,' ग्रेटवाल मोटर्सकाे भारतीय सबसिडारीका प्रवन्ध निर्देशक मार्क शीले भने, 'सो प्लान्टको अधिकांश उत्पादन प्रक्रियामा अत्याधुनिक रोबटिक टेक्नोलोजीको प्रयोग हुनेछ।'
समग्रमा लगानी गरिने १ अर्ब डलर चरणबद्ध रुपमा हुनेछ। विश्वस्तरीय उत्पादन, प्रिमियम प्रोडक्ट, रिसर्च एन्ड डेभलपमेन्ट, सप्लाइ चेन निर्माणमा सो रकम खर्च हुने एमओयूपछि ग्रेटवाल मोटर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
२०२० को जनवरीमा ग्रेटवाल मोटर्सले महाराष्ट्रमा रहेको जनरल मोटर्सको प्लान्टको स्वामित्व ग्रहण गर्ने सम्झौता गरेको थियो। सो फ्याट्रीमा ट्रेनिङ सेन्टर, प्रशासनिक अफिस बिल्डिङ, प्रोजेक्ट म्यानेजमेन्ट बिल्डिङ, पब्लिक फ्यासिलिटिज् सेन्टरलगायत संरचना छन्।
यो प्लान्टबाट ग्रेटवाल मोटर्सले इलेक्ट्रिक कार र एसयुभी उत्पादन गर्ने जनाएको छ। २०२० कै फेब्रुअरीमा भारतको ग्रेटर नोयडामा भएको अटो एक्सपो २०२० मा ग्रेटवालले बलियो उपस्थिति देखिएको थियो। त्यति बेला कम्पनीले भारतमा ब्याट्री रिसर्म र विकास तथा उत्पादन गर्ने उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।