काठमाडौं- नयाँ वर्षको सुरुवातदेखि नै उकालो लागेको नेप्से परिसूचक मंगलबार पनि रोकिएन। यस दिन कारोबार सँगै परिसूचकमा पनि उल्लेख्य वृद्धि भएको छ।
मंगलबार नेप्से परिसूचक ३३ दशमलब ६१ अंकले बढेर १ हजार ३ सय ३१ दशमलब १८ बिन्दुमा पुगेको छ। कारोबार रकममा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ। यस दिन १ सय ६६ कम्पनीको ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सोमबार भने १ सय ६७ कम्पनीको ५७ करोड ६८ लाख ६१ हजार ८ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
मंगलबार नै ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ। इन्स्योरेन्सको ५ करोड ९८ करोड ६ हजार ८ सय १५ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
मंगलबार कारोबारमा आएकामध्ये ट्रेडिङ समूह बाहेक अन्य समूहमा हरियाली छाएको छ। ट्रेडिङ समूहमा ५ दशमलब ५७ अंकको गिरावट आएको छ।
यता, बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। समूहको सेयर मूल्य ३ सय ६० दशमलब ४३ अंकले बढेको छ। त्यस्तै, माइक्रोफाइनान्स समूहमा १ सय २० दशमलब ११ अंकको वृद्धि भएको छ।
मंगलबार महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ७० रुपैयाँले बढेको छ। यस दिन १८ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
यता सहयोगी विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलब ५८ प्रतिशत अर्थात् १० रुपैयाँले गिरावट आएको छ। त्यस्तै, विशाल बजारका लगानीकर्ताले प्रतिकित्ता ६६ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।