काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिदका लागि जानकारीसहितको सूचना माग गरेको छ। साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता मागेको सरकारले बस खरिदका लागि निर्माता तथा आपूर्तिकर्ताहरुसँग आसय माग गरेको हो।
सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले जुलाई १ सम्ममा उपलब्ध बसको जानकारी गराउन भनेको छ। साझासँग पैसा फिर्ता लिएको ५ महिनापछि सरकारले विद्युतीय बस किन्न प्रक्रिया सुरु गरेको छ।
जानकारी प्राप्त भएपछि उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार गरेको एक फर्म्याटमा बस उत्पादक र आपूर्तिकर्ताले जानकारीहरु दिनुपर्नेछ।
सरकारले सार्वजनिक प्रयोजनमा ३ सय वटा बिजुली बस किन्नका लागि अघिल्लो वर्ष नै ३ अर्ब रुपैयाँ भौतिक पूर्वाधार मन्त्रालयलाई निकासा दिएको थियो। साझा यातायातले स्पेसिफिकेसन बनाउँदा बनाउँदै ढिलाइ गरेको भन्दै सरकारले रकम फिर्ता मागेको थियो। साझालाई उपलब्ध गराइएको उक्त रकम माघको पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमार्फत् ब्याजसहित फिर्ता मागेको थियो।
साझाबाट रकम फिर्ता लिने निर्णय गरेसँगै मन्त्रिपरिषद्ले बस किन्ने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।