मुलुक अहिले अत्यन्त कठिन, असहज र जटिल परिस्थितिबाट गुज्रिरहेको छ। जनता मुख्य तीन वटा कडा भाइरसबाट आक्रान्त छन्- कोरोना भाइरस, भ्रष्टाचार र बलात्कार। यसबाट मुक्ति दिनु राज्यको दायित्व हो। तर सरकार दिनप्रति दिन असंवेदनशील, अकर्मण्य, अनुदार र विवादित बन्दै गइरहेको छ।
सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै जिम्मेवार बन्दैनन् भने अरु मन्त्रीको के कुरा गर्ने? यो पहिलो भाइरस कोरोना जसले विश्व समुदायलाई नै तर्साएको छ, भयभित बनाएको छ। आजको दिनसम्म हेर्ने हो भने नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगिसकेको छ र मृतकको संख्या २३ छ। यसको दर दिन प्रतिदिन बढ्दो छ। यसको नियन्त्रणको लागि सरकारको व्यवस्थापन पक्ष कमजोर र फितलो देखिन्छ। तर मुलुकको प्रधानमन्त्रीले बेसार, अदुवा खाएर हाँछ्यू गर्दा निको हुन्छ भन्ने बालहठ प्रदर्शन गर्दैगर्दा उहाँ आफै डाक्टर, वैद्य, न्यायाधीश र प्रहरी बनेको भान हुन्छ। यो विषय आज मजाक बन्न पुगेको छ। कोरोना नियन्त्रणको लागि जनताले सरकारबाट स्पष्ट मार्गचित्र र पहलकदमी खोजेका हुन् तर आफ्नो कमजोरी छोप्न कथित बेसारे आइडोलोजीको ज्ञान जनतालाई मन परेन।
कोरोनाजस्तै अर्को खतरनाक भाइरस भ्रष्टाचार बन्न पुगेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकारको अकर्मण्यता र असक्षमता प्रदर्शन भइसकेको छ। एकतिर कोरोनाको पीडा छ भने अर्कोतिर जनताको करबाट उठेको पैसामा सरकारको भ्रष्टाचारको रजाईं छ। यस्तो खतरनाक भाइरसले नेपालीलाई पीडाबोध गराएको छ।
राष्ट्र विपदमा परेको बेलामा पनि स्वास्थ्य सामाग्री खरिदजस्तो विषयमा सरकार निरन्तर भ्रष्टाचारमा जोडिनु निर्लज्जताको पराकाष्ठा हो। चाहे ओम्नी समूहसँग स्वास्थ्य सामाग्री खरिदको भ्रष्टाचार होस् या सेनासँग जीटुजी सम्झौता गरी खरिद गरिएको सामग्री नै किन नहुन्, भ्रष्टाचार, खरिपाटी क्वारेन्टाइनमा औषधि नै नखाई चौहत्तर लाखको बिल पेश गर्ने भ्रष्टाचार नेपाली समाजका कलंक हुन्। दश अर्बको अस्पष्ट, अपुरो र अधुरो हिसाब पेश गरेर जनता मान्नेवाला छैनन्। प्रधानमन्त्रीज्यू, भ्रष्टाचार गर्दिनँ भन्नुहुन्छ भने भ्रष्टाचारीलाई ढाकछोप नगर्नुहोस्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको लाचार छाँया नबनाउनुहोस्। जनताले तपाईंलाई छोड्नेवाला छैनन्।
नेपाली समाजको अर्को खतरनाक भाइरस महिलामाथिको हिंसा र बलात्कार नै हो। लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलत्कार भइरहेको छ। कोरोनाको कहरभित्र पनि लकडाउनको ८३ दिनमा नेपालमा बलत्कारका ३८३ वटा घटना घटेका छन्। अन्य हिंसात्मक घटनाको त कुरै नगरौं। विश्व स्वास्थ्य संगठनले पनि विश्वभरि नै २० प्रतिशत घरेलु हिंसाबाट महिला शिकार भएको, बलत्कार र हिंसाको घटना घटिरहेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।
नेपालको संविधानले महिला तथा बालबालिकामाथि कुनै पनि हिंसाजन्य कार्य गर्न नहुने, सुरक्षित र सम्मानजनक जीवन बाँच्न पाउने अधिकारलाई मौलिक हकमा राखेको छ। तर विडम्बना नै भन्नुपर्छ, कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा सरकारले खटाएका स्वयंसेवकबाट नै महिलामाथि सामूहिक बलत्कार हुन्छ भने महिलाको सुरक्षा कहाँ हुन्छ? सरकारको मौनताको कारण अपराधी खुलेआम शिर ठाडो पारी हिँडिरहेका छन्। अपराधीलाई कानुनको कठघरामा ल्याई सजाय दिन सरकार चुकेको छ। त्यसैले महिला हिंसा, बलत्कारजस्ता अमानवीय, घृणित, पाशविक घटना तत्काल रोक्न र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न ध्यानाकर्षण गराउन चाहन्छु।
(प्रतिनिधि सभा सदस्य डा संग्रौलाले मंगलबार प्रतिनिधिसभाको विशेष समयमा राखेको धारणाको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।