काठमाडौं– सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। चिनीको हाल भन्सार दर १५ प्रतिशत कायम रहेको छ। नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताए।
सरकारले उखुको मूल्यमा प्रति क्वीन्टल ५ रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ। उखु किसानलाई राहत दिने उद्देश्यले उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो। हाल उखु प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँमा बिक्री हुँदै आएको छ।
उखुको मूल्यसँगै चिनीको कारखाना उत्पादन मूल्य प्रतिकिलो ७० रुपैयाँबाट मूल्य बढ्न नदिन आवश्यक संयन्त्र निर्माण गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।
१२ मन्त्रालयका ६ विभाग खारेज
सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।
यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९ सय ४६ कर्मचारीको दरबन्दी कटौती हुने छ। अन्य २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।