काठमाडौं– चार वटा वाणिज्य बैंकले तेस्रो त्रैमासिम रिपोर्ट सार्वजनिक गरेका छन्। शुक्रबार एभरेस्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स इन्टरनेसन बैंक र एनआइसी एसिया बैंकले तेस्रो त्रैमासिको रिपोर्ट सार्वजनिक गरेका हुन्। सार्वजनिक वित्तीय विवरण अनुसार ती बैंकको अवस्था यस्तो छ।
एभरेस्ट बैंक
एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलब १८ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ कमाएको थियो।
बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले खुद ब्याज आम्दानी ५४ दशमलब ९५ प्रतिशतले बढाएको छ। बैंकको ब्याज आम्दानी ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा २ अर्ब ६७ करोड रुपैयाँ कमाएको थियो।
बैंकले चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, जगेडा कोषमा ५ अर्ब ८५ करोड रुपैयाँ राखेको छ।
बैंकको पुँजीकोष अनुपात १५ दशमलब ७० प्रतिशत छ। त्यस्तै, आधार ब्याजदर ८ दशालब १८ प्रतिशत पुगेको छ। यता, बैंकको प्रति सेयर आम्दानी ४४ रुपैयाँबाट घटेर २९ रुपैयाँ भएको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा २८ दशमलब ०२ प्रतिशतले बढाएर १ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ। बैंकले अघिल्लो वर्ष ९५ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले ९० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ७९ अर्ब ८८ करोड रुपैयाँ प्रवाह गरेको छ। चुक्ता पुँजी ५ अर्ब रुपैयाँबाट ८ अर्ब एक करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, बैंकले खुद ब्याज आम्दानी २ अर्ब २० करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा १७ दशमलब ७१ प्रतिशतले बढी हो।
बैंकको जगेडा कोषमा ३ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। खराब कर्जा १ दशमलब ७१ प्रतिशतबाट घटेर १ दशमलब ३१ प्रतिशतमा झारेको छ। बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ ५२ पैसा छ।
सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशमलब ३८ प्रतिशतले बढी हो। गत वर्ष चैतमा बैंकले ८८ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकले ६० अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ५५ अर्ब ८२ करोड रुपैयाँ प्रवाह गरेको छ। खुद ब्याज आम्दानीमा १६ दशमलब ८८ प्रतिशतले वृद्धि गरी १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ।
बैंकले जगेडा कोषमा २ अर्ब ३७ करोड रुपैयाँ राखेको छ। पुँजी कोष अनुपात १३ दशमलब ८५ प्रतिशतबाट बढेर १५ दशमलब ६६ प्रतिशत पुगेको छ। बैंकले प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७६ पैसा कमाएको छ।
एनआइसी एसिया बैंक
एनआइसी एसिया बैंकले तेस्रो त्रैमासमा ९२ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलब ५१ प्रतिशतले कमी हो। अघिल्लो वर्ष सोही समयमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ कमाएको थियो।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ शून्य २ पैसा रहेको छ भने, बैंकको मूल्य आम्दानी अनुपात २० रुपैयाँ ९७ पैसा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।