काठमाडौं– चार वाणिज्य बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेका छन्। वित्तीय विवरण सार्वजनिक गर्नेमा लक्ष्मी बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन्।
सार्वजनिक वित्तीय विवरण अनुसार सबै बैंकको खुद मुनाफा बढेको छ।
लक्ष्मी बैंक
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लक्ष्मी बैंकले ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकको खुद मुनाफा आघिल्लो वर्षको तुलनामा ४१ दशमलब ०३ प्रतिशतले बढेको हो। बैंकले अघिल्लो वर्ष यही अवधिमा ५६ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
पछिल्लो ९ महिनामा बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। बैंकले चैत मसान्तसम्म ६३ अर्ब २६ रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ५८ अर्ब ६९ करोड रुपैयाँ प्रवाह गरेको छ। बैंकको निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा क्रमशः ९ दशमलब ४६ प्रतिशत, कर्जा प्रवाह १६ दशमलब ८९ प्रतिशतले बढेको हो।
बैंकले १ अर्ब ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकको खुद ब्याज आम्दानी ३२ दशमलब ०७ प्रतिशतले बढेको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब ३७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको आधार ब्याजदर ११ दशमलब ३५ प्रतिशत पुगेको छ भने कोषको लागत बढेर ७ दशमलब ७३ प्रतिशत पुगेको छ। चैत मसान्तसम्ममा बैंकको खराब कर्जा १ दबमलब १६ प्रतिशत छ। गत वर्ष यो अनुपात १ दशमलब ७९ प्रतिशत थियो।
बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०२ पैसा छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १९ दशमलब ९६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २६ दशमलब ३८ रुपैयाँ छ।
हिमालयन बैंक
हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा १ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ। जुन अघिल्लो वर्षको यही अवधिको भन्दा ४ दशमलब ९९ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्षको ९ महिनामा १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९६ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड रुपैयाँ छ।
बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५ दशमलब शून्य ९ प्रतिशतले बढी हो। आघिल्लो वर्ष बैंकले २ अर्ब ७६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८१ पैसा छ। त्यस्तै, बैंकको नेटवर्थ प्रतिसेयर १ सय ६३ रुपैयाँ ६१ पैसा छ। बैंकको तरलता अनुपात २१ दशमलब ८५ प्रतिशत रहेको छ।
बैंकले प्रोभिजनमा १ करोड ९१ लाख रुपैयाँ राखेको छ। त्यस्तै, बैंकको निस्क्रिय कर्जा १ दशमलब १९ प्रतिशत छ।
नेपाल एसबिआई बैंक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबिआई बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकले खुद मुनाफा अघिल्लो वर्षको तुलनामा २४ दशमलब ९३ प्रतिशत वृद्धि गरेको हो। बैंकले अघिल्लो वर्ष १ अर्ब १० करोड रुपैयाँ कमाएको थियो।
८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ राखेको छ। बैंकले ९ महिनाको अवधिमा ८३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ संकलन गरी कर्जामा ७४ अर्ब ५ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ।
बैंकले खुद ब्याज आम्दानी ३१ दशमलब ६८ प्रतिशतले बढाएर २ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै, सञ्चालन मुनाफामा २१ प्रतिशत वृद्धि गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ ८६ पैसा छ। निस्क्रिय कर्जा शून्य दशमलब १३ प्रतिशत, पुँजीकोष १४ दशमलब ५१ प्रतिशत, मूल्य आम्दानीको अनुपात २४ दशमलब ०६ गुणा, नेटवर्थ १ सय ५१ दशमलब ६९ रुपैयाँ र तरलता अनुपात २५ दशमलब ३० प्रतिशत छ।
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा १ सय २ दशलमब ६२ प्रतिशतले वृद्धि गरी ६३ करोड रुपैयाँ आर्जन गरेको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ३१ करोड ९ लाख रुपैयाँ कमाएको थियो।
बैंकले खुद ब्याज आम्दानीमा ५९ दशमलब २७ प्रतिशतले बढाएर १ अर्ब २२ करोड रुपैयाँ कमाएको छ। त्यस्तै, सञ्चालन मुनाफामा ८१ दशमलब १० प्रतिशतले वृद्धि गरी ८५ करोड ३७ लाख रुपैयाँ कमाएको छ।
८ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले निक्षेपमा ५२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ संकलन गरी कर्जामा ५० अर्ब २ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४२ पैसा, निस्क्रिय कर्जा शून्य दशमलव ७६ प्रतिशत, पुँजीकोष अनुपात १६ दशमलब ३६ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।