वीरगञ्ज- छुटपूर्जी काट्ने व्यवस्था नहुँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजस्व नबुझाई भारतीय नम्बर प्लेटका सवारी साधन निर्वाध रुपमा चल्ने गरेको पाइएको छ। छुटपूर्जी काट्ने व्यवस्था छोटी भन्सार कार्यालयमा नहुँदा राजस्व नतिरी गाडी प्रयोग गर्ने चलन बढ्दै गएको छ। प्रहरीले भारतीय नम्बर प्लेटका गाडी चढ्नेलाई कारबाही गर्न सकेको छैन।
स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, प्रदेश सांसद र प्रतिनिधिसभाका सदस्यले समेत भारतीय नम्बरका गाडी बढी प्रयोग गर्ने गरेका छन्। छोटी भन्सार कार्यालयमा छुट पूर्जीको व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल प्रवेश गर्न समस्या हुने गरेको प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताए। 'छुटपूर्जी काट्ने अधिकार छोटी भन्सार कार्यालयलाई नदिँदा नेपाल आउने गाडीधनीले सास्ती भोग्नुपरेको हो,' उनले भने।
भारतको सिकटा, भेलाई, बेतिया, इनर्वा लगायत नाका भएर दैनिक सयौँ भारतीय गाडी दैनिक रुपमा बिना छुटपूर्जी नेपाल भित्रिने गरेको छ। भारतीय नम्बर प्लेटका कार र जिप प्रयोग गर्नेले दैनिक रु ४५२ भन्सार शूल्क तिर्नुपर्ने व्यवस्था छ। छोटी भन्सार कार्यालयमा छुटपूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय नम्बरका गाडी नेपाल भित्रिनाले लाखौँ राजस्व गुम्ने गरेको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव सरकारले जहाँजहाँ छुट पूर्जी काट्ने अधिकार दिएको छ त्यहाँबाट मात्र काट्न सकिने बताए।
छोटी भन्सार कार्यालयलाई छुटपूर्जी काट्ने अधिकार नदिँदा सवारी धनीलाई २५ किलोमिटरको बाटो तय गरी छुटपूर्जीका लागि वीरगञ्ज भन्सारमा आउनुपर्ने बाध्यता रहेकाले ग्रामीण क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयलाई सो अधिकार दिनुपर्ने माग सवारी धनीको रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।