बुधबारसम्म काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा १३ जनामा कोरोना भेटिएको छ। जसमध्ये ५ जना वडाका स्थानीयवासिन्दा छन् भने बाँकी बाहिर जिल्लाबाट आएर कोठा भाडामा बस्नेहरु छन्। वडाका स्वयम्भु, चक्रपथ, सीतापाइला, ढुंगेधारा, डल्लु, छाउनीलगायत प्रायः सबै स्थानमा फाट्टफुट्ट कोरोना देखिएकोे छ। अहिले फाट्टफुट्ट देखिए पनि यसले भयावह रुप लिन सक्छ। बिहीबारको पूर्ण विवरण प्राप्त भएको छैन।
यहीकारण हामी सबै सचेत हुन जरुरी छ। हामीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्दो रुपमा जनचेतना जगाउने काम गरेका छौँ। म आफैँ पनि चोक-चोकमा पुगेर अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किऔँ भनिरहेको छु । निस्कनै परे मास्क र पञ्जालगायत आवश्यक सामग्री प्रयोग गरौँ भनेर भनिरहेका छौँ। अझ वडाभरि माइकिङ गरेका छौँ ।
अर्को कुरा हरेक बिहान टोल-टाेलमा कीटनाशक औषधि (डिसइन्फेक्सन) छर्किरहेका छौँ ।
कुनै स्थानमा संक्रमित भेटियो भने महानगर तथा जनस्वास्थ्य विभागसँग समन्वय गरेर संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने काम भइरहेको छ।
अहिले अधिकांश वडावासीहरु म पनि पिसीआर परीक्षण गराउन पाए हुन्थ्यो भन्ने मनसाय राख्नुहुन्छ। तर देशको आर्थिक अवस्था नाजुक हुँदा सबैको पिसीआर परीक्षण गराउन सकिँदैन। तर हामीले कोरोना संक्रमितको सम्पर्कमा आएका, प्रभावित क्षेत्रबाट आएका तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको पिसीआर परीक्षण गराइरहेका छौँ । पिसीआर परीक्षणको दायरा बढाउन हामी सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ ।
म हरेक दिनजसो बिरामी तथा उनीहरुका परिवारको सम्पर्कमै छु। अहिलेको अवस्थामा संक्रमित र परिवार विक्षिप्त बन्ने गरेको पाइएको छ। कोरोना भयो अब मरिने हो कि भन्ने त्रास बढेको छ । तर कोरोना संक्रमण हुँदैमा मरिहाल्ने हुँदैन। धेरै जनालाई निको भएको छ भनेर मनोबल बढाउने प्रयास गरिरहेको छु।
अहिले वडामा संक्रमितको संख्या थोरै हुँदा नै अस्पतालहरु भरिन थालेको अवस्था छ। हाम्रै वडाका १३ जना संक्रमितमध्ये ७ जना छाउनी तथा मनमोहनलगायत अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । बाँकी होम आइसोलेसनमै हुनुहुन्छ । उहाँहरुको अधिकांशको अवस्था सामान्य छ।
कोरोना संक्रमणले भयावह रुप लियो, संक्रमितहरुको संख्या बढ्दै गयो, संक्रमितहरुको अवस्था पनि अक्सिजन नै दिएर राख्नुपर्ने अवस्था भयो तर अस्पतालमा राख्ने ठाउँ पनि अभाव भयो भने के गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ ।
यसका लागि वडाको कुनै स्थानमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौँ । स्थानीय, विज्ञ तथा विभिन्न संघसंस्थाहरुसँग पनि परामर्श लिइरहेका छौँ। ४/५ जना, ४/५ जना राखेर उपचार गर्न मिल्ने आइसोलेसन सेन्टर केही स्थानमा सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने छ ।
(काठमाडौं महानगरपालिका १५ का वडाध्यक्ष डंगोलसँग नेपाल लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।