एजेन्सी- सन् १९५६ मा फ्रेन्चहरूले मेरो हजुरबुवालाई गिरफ्तार गरे। स्वतन्त्रताका लागि अल्जेरियन युद्ध जारी थियो। ३० वर्षीय मेरो हजुरबुबा फ्रन्ट दे लिबरेसन नेसनल (एफएलएन) नामक राजनीतिक पार्टीबाट फ्रेन्च उपनिवेशवादका विरूद्ध लडिरहनुभएको थियो। त्यो समयमा प्रायः सबै नै कुनै न कुनै रूपमा त्यो युद्ध लडिरहेका थिए।
सधैंझैं त्यो दिन पनि उहाँ खाना खानका लागि घरमै बसिरहनुभएको थियो।
अचानक प्रहरीले ढोका ढक्ढक्यायो। बसिरहनुभएको हजुरबुबालाई उठाएर हामीबाट कतै टाढा लगे। त्यसको चार महिनापछि मात्र उहाँ फर्किनुभयो। फर्कँदा उहाँको टाउकाको कपालभरि लिसो परेको थियो। ‘मेरा बबाले कहिल्यै पनि यो दर्दानक विषयमा बोल्नै चाहनुभएन’ बुबाका अनुसार हजुरबुवाले त्यो कुराको अनुभव किन विनिमय गर्न चाहनुभएन भन्ने थाहा पाउँदा हामी पनि छक्कै छौं।
तर बुबाले भने सधैं आफ्ना परिवारले भोगेका घटना आफूभन्दा सानालाई सुनाइरहनुहुन्छ मानौं यो कुनै पैत्तृक सम्पत्ति हो, जो आफ्नो सेखपछि आफूभन्दा सानालाई दिनुपर्छ।
नोराका हजुरबुबाका साथमा उनका बुबा र आन्टीहरू।‘हरेक बिहान घरअघिको चौरमा फ्रेन्चले अघिल्लो दिन मारेका अल्जेरियनको लामबद्ध बनाएर राखिएको लाश नाघ्दै हिँडेको हिजोजस्तो लाग्छ’ हात झड्काउँदै बुबा सुनाउनुहुन्छ, ‘गोलीका छर्राले धुजा धुजा पारेका अर्धनग्न शरीर अहिले पनि उत्तिकै ताजा बनेर आँखा अगाडि आउँछन्। तर पनि म डराएको थिइनँ।’
उनीहरूले कसरी एक एक गरेर आफ्ना आफन्तहरूको ज्यान लिएका थिए भन्नेबारे उहाँ कतै नडगमगाई बताउनुहुन्छ। ‘एउटा देश स्वतन्त्र हुन कति कुरा गुमाउनुपर्दो रहेछ, हरेक घटनाले मलाई ती दिनमा लैजान्छन्’ बुबाले एकनाशले सुनाउनुभयो।
बुबा ९ वर्षको हुँदा ८ वर्षको शसक्त क्रान्तिपछि सन् १९६२ मा अल्जेरिया स्वतन्त्र मुलुक भएको थियो। त्यसपछि यी सबै कहानीहरूसँगै जीवनको एउटा अर्को पाटोलाई संघाल्दै बुबा त्यहाँबाट पनि हिँड्नुभयो। सन् १९७५ मा छात्रवृत्ति पाएर अमेरिका आएको कुरा बताउनुहुन्छ। बुबाको सन् १९७६ मा ममीसँग भेट भएपछि उहाँहरू स्थायी रूपमा बस्नेगरी कहिले पनि फर्कनुभएन।
फ्रान्सेली विस्तारवादको १ सय ३२ वर्ष बितिसक्दा पनि अल्जेरियनको ठूलो समूदाय अशिक्षित नै थिए। भाषा र नैसर्गिक हकसँगै उनीहरूको पढ्न पाउने अधिकार पनि खोसिएको थियो, जसले पछिसम्म पनि जरो गाडि नै रह्यो।
हजुरबुबासँग नोरा।एकदिन बुबाले मलाई सन् १९४६ ताकाको एउटा भिडियो पठाउनुभयो। अल्जियर्स शहरको भिडियो थियो त्यो। सादा भिडियो। त्यो भिडियोमा मेरो हजुरबुबाका प्रोफेसर मोन्सियर बेन सेनेब पनि समेटिएका रहेछन्। उनी आफ्ना विद्यार्थीसँग विद्यालय बाहिर बसिरहेका देखिन्थे। बीचमा केही झिलिक्क हजुरबुबालाई पनि देखेकी थिएँ मैले। उहाँले सिधै क्यामेरामा हेर्नुभएको थियो।
त्यो भिडियोलाई मैले अझै पनि जतनसाथ राखेकी छु। क्यामेरा र फिल्महरू त्यो समयमा सबैतिर उपलब्ध थिएन। फोटोग्राफरले बाटोमा हिँडिरहेका मानिसहरूको पोर्ट्रेट फोटो खिच्ने जमाना थियो। पछि फोटा धुलाउनका लागि पैसा तिरेर स्टुडियो जानुपर्ने हुन्थ्यो। एउटा पुरानो दराजमा मैले मेरो हजुरबुबाका केही पुराना, सादा तस्बिर भेट्टाएकी थिएँ।
सन् १९४० मा नोराका हजुरबुबा।हरेक तस्बिरमा उस्तै चटक्क परेको कोट लगाएको, सडकछेउमा हिँड्दै गरेको देखिनुहुन्थ्यो। तस्बिरमा हजुरबुबाले क्यामेरातर्फ सिधै हेर्नुभएको थियो।
मैले अहिलेसम्म बिर्सिएको जमिनमा पाइला टेक्न अल्जेरिया जाँदैछु। त्यहाँ मेरो बुढो हजुरबुबा हुनुहुन्छ, जसले देशको स्वतन्त्रताका लागि आफ्नो जस्तोसुकै बलिदानी दिन पनि पछि हट्नुभएन।
अहिले मेरो हजुरबुबा हामीसँग हुनुहुन्न। बुढेसकालमा कहिले काहीँ झसंग हुने, झनक्क रिसाउने, बिर्सने गर्नुहुन्थ्यो। शायद त्यो बुढेसकालको असर थियो। यदि घर छाडेर कतै जानुपर्यो भने काका, काकीको साहाराबिना कतै पनि निस्कनुहुन्नथ्यो।
पहिलेका सबै यादहरू गुमाइसक्नुभएको थियो। यस्तो लाग्छ उहाँ एउटा जिंगा गेम (काठका टुक्रा थप्दै जटिल बनाउदै खेलिने खेल) जस्तै भइसक्नुभएको थियो।
हजुरबुबाको त्यही ४ महिनाको जेल बसाइले मात्र उहाँको जीवनको प्रतिनिधित्व गर्न सक्दैन। उहाँ एक शिक्षक, पिता र उहाँको समाजका लागि एक सम्माननीय व्यक्तित्व हो।
अहिले अल्जेरिया स्वतन्त्र छ। दासत्वबाट माथि उठाएर स्वतन्त्रताको बाटोमा डोहोर्याउनेहरू बुढा भए तर उनीहरूले युद्ध गरेर, रगत बगाएर ल्याएको स्वतन्त्रताको झण्डा अझै लहराइरहेको छ।
एउटा सिंगो युगको अस्त हुँदा अर्को यूगका लागि उज्यालो सूर्य छाडेर गएको छ। त्यो युगको बलिदानीले गर्दा आज देशले स्वतन्त्रताको सास फेर्न पाइरहेको छ।
अलजाजिराबाट अनुवादित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।