काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) मा कृषिको योगदान अघिल्लो वर्षको तुलनामा घट्ने प्रक्षेपण गरेको छ। अघिल्लो वर्ष जिडिपीमा कृषि तथा वनको योगदान २८ दशमलव २५ रहेकोमा यस वर्ष घटेर २७ दशमलव १ प्रतिशत पुग्ने अनुमान विभागले गरेको छ।
जिडिपीमा योगदान पुर्याउने कुल १५ वटा औद्योगिक क्षेत्रमध्ये ६ वटामा बढेको र अन्यमा गिरावट आउने अनुमान विभागले गरेको छ। जिडिपीमा अंश घटाउनेमा मत्स्य, उद्योग, विद्युत्, ग्यास र पानी, थोक तथा खुद्रा व्यापार, सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, शिक्षा अन्य सामुदायिक तथा व्यक्तिगत सेवा रहेका छन्।
विगत वर्षभन्दा यस वर्ष जिडिपीमा हिस्सा बढाउनेमा रियल स्टेट तथा व्यावसायिक सेवा, खानी तथा उत्खनन, यातायात, सञ्चार तथा भण्डारण, निर्माण, वित्तीय मध्यस्थता, होटल तथा रेस्टुरेन्ट हुने अनुमान गरिएको छ।
यता, १३ औद्योगिक क्षेत्रले कुल मूल्य अभिवृद्धि वृद्धिदर अघिल्लो वर्षको तुलनामा यस वर्ष घटाउने अनुमान गरिएको छ भने होटल तथा रेस्टुरेन्ट र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा तुलनात्मक रुपमा वृद्धिदर बढ्ने अनुमान छ। चालु आर्थिक वर्षमा मूल्य अभिवृद्धि दर सबैभन्दा बढी क्रमशः निर्माण, खानी तथा उत्खनन, होटल तथा रेस्टुरेन्ट, सार्वजनिक प्रशासन तथा रक्षा, थोक तथा खुद्रा व्यापार क्षेत्रमा रहने अनुमान विभागको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।