काठमाडौं- साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा २९ दशमलब २५ अंकको गिरावट आएको छ। यस दिन परिसूचक १ हजार ३ सय ५७ दशमलब २२ को बिन्दुमा आइपुगेको छ।
बिहीबार १ सय ५९ कम्पनीको ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ६ दशमलब शून्य ६ अंकको गिरावट आएको छ।
बिहीबार कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ। सबैभन्दा बढी बिमा समूह अन्तर्गतका लगानीकर्ताले गुमाएका छन्। बिमा समूहमा २ सय ३१ दशमलब १२ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूहमा ४७ दशमलब शून्य ९ अंकको गिरावट आएको छ। जलविद्युत् समूह ४६ दशमलब ६८ अंकको गिरावट आएको छ।
बिहीबार राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको संस्थापक सेयरको २ करोड ८२ लाख ८२ हजार ३ सय ९३ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै, नेपाल बैंकको २ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ।
बिहीबार स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८३ रुपैयाँ अर्थात् ५ दशमलब ९९ प्रतिशतले बढेको छ। त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १ सय ४० रुपैयाँले बढेको छ।
यता, सर्वाधिक गुमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंक अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ दशमलब ५७ प्रतिशत अर्थात् १ सय ५५ रुपैयाँले घटेको छ। त्यस्तै, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ९८ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।