काठमाडौं- नेपाल राष्ट्र बैंकले १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ। केन्द्रीय बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंक १ अर्ब ७ करोड १७ लाख रुपैयाँ, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २० करोड १० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ६ करोड ७० लाख रुपैयाँ मुद्दति निक्षेपमा जम्मा गर्ने जनाएको छ।
राष्ट्र बैंकले आगामी जेठ एक गतेदेखि २०७६ बैसाख ३१ गतेसम्म उक्त रकम मुद्दति निक्षेपमा जम्मा गर्ने जनाएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदरसहित बैसाख १९ गते मंगलबार दिउँसो ३ बजेसम्म आवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले मुद्दति निक्षेप लिनका लागि सर्तहरुः
- बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको।
- बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको।
- निस्क्रिय कर्जा (एनपिए) कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको।
- खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको।
- कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय-समयमा निर्धारण गरेको सीमाभित्र रहेको।
- निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफा (व्यवस्था पछिको) मा रहेको।
- रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको।
- लगानी गरिने संस्थाको कुनै पनि संचालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी संचालक उक्त संस्थामा कायम नरहेको।
- शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको।
- बैंक तथा वित्तीय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको।
- सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।