हाम्रो नगरपालिकामा अधिकांश कोरोना संक्रमितहरु भारत तथा तेस्रो मुलुकबाट फर्कनेहरु हुनुहुन्छ। चन्द्रपुर नगरपालिकामा बुधबार बिहानसम्म १२ जनामा कोरोना देखिएको छ। १२ जना संक्रमित मध्ये २ जना कोरोना जितेर घर फर्किसक्नु भएको छ। बाँकी १० जना मध्ये ६ जना नगरपालिकाको आइसोलेसन र ४ जना होम आइसोलेसनमा हुनुहुन्छ। संक्रमितको सम्पर्कमा आएकाहरू ७ सयको कोरोना परीक्षण गरिसकिएको छ। बुधबार मात्रै संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरेर १ सय जनाको स्वाब संकलन गरेका छौँ।
कोरोना रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङ र पिसीआर परीक्षणका अलाबा जनचेतना जगाइरहेका छौँ। हाम्रो चन्द्रपुर नगरपालिकासहित अन्य ४ वटा नगरपालिका मिलेर २२ बेड क्षमताको आइसोलेसन बनाएका छौँ। सो आइसोलेसनमा हाम्रो नगरपालिकाका ६ जनासहित अन्य नगरपालिकाका गरेर जम्मा २० जना संक्रमित राखिएको छ। आइसोलेसन भरिने अबस्था भएकाले सामान्य अबस्थाका संक्रमितहरुलाई होम आइसोलेसनमा राखेका छौँ।
होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्यकर्मीको टोली तथा हामी जनप्रतिनिधि पनि दैनिक सम्पर्कमा छौँ। आइसोलेसनमा त २४ घण्टा नै स्वास्थ्यकर्मीको टोली खटाइएको छ।
तर आइसोलेसन भरिएको अवस्था छ। संक्रमितको संख्या बढ्दैे गयो भने अहिले क्वारेन्टाइनको खासै उपयोग भएको छैन। क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गर्नपर्ने अवस्था आउँछ। हामीसँग ४५ बेडको क्वारेन्टाइन छ। त्यसमा पानी, बत्ती, शौचालय तथा स्वास्थ्य सेवाको राम्रो व्यवस्था मिलाएका छौँ। सबै अबस्था सामान्य छ। हामीले गर्नसक्ने सम्म सबै काम गरेका छौँ। यो हाम्रो दायित्व पनि हो।
आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिनु हाम्रो पहिलो कर्तव्य हो। भ्याएँ, भ्याइनँ त्यो आफ्नो ठाउँमा छ। त्यसको मूल्यांकन पछि होला तर अहिलेसम्म कोरोना नियन्त्रणका लागि आफूले सक्दो कोसिस गरेको छु। फ्रन्टलाईनमा स्वास्थ्यकर्मीहरु खटिए जसरी म आफैँ पनि खटिएको छु। हरेक दिन संक्रमितहरुको अवस्था बुझिरहेको छु।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म केन्द्र सरकारबाट केही सहयोग आएको छैन। यसअघिको लकडाउन अवधिमा प्रदेश सरकारले राहत बाड्नका लागि १५ लाख पठाएको थियो। पाएको भनेको त्यति मात्रै हो। त्यसपछि नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गरिरहेको छ।
आइसोलेसन, क्वारेन्टाइन, स्वास्थ्यकर्मी परिचालन तथा उनीहरुलाई खानबस्न, भत्तालगायत नगरपालिकाले आफैँ गरिरहेको छ। स्वास्थ्यकर्मीहरुलाई हामीले सुरक्षित रुपमा होटल क्वारेन्टाइनमा राखेका छौँ। लकडाउन सुरु भएदेखि हालसम्म ७ करोडको हाराहारीमा खर्च भइसकेको छ।
(चौधरी रौतहट चन्द्रपुर नगरपालिकाका मेयर हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।