दुबई– मध्यपूर्वको ठूलो पर्यटन मेला अरेबियन ट्राभल मार्टको रजत संस्करणमा नेपाल पर्यटन बोर्डको संयोजकत्वमा नेपाल वायुसेवा निगमसहित सात वटा निजी पर्यटन व्यवसायीले सहभागिता जनाएका छन्। १ सय ३५ देशका २५ सयभन्दा बढी पर्यटन व्यवसायीको स्टल राखिएको अन्तर्राष्ट्रिय पर्यटन महोत्सव दुबईमा वैशाख ९ देखि १२ सम्म चलेको थियो।
‘जिम्मेवार पर्यटन’को थिममा आयोजित महोत्सवको ४० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। आयोजकका अनुसार आगन्तुकहरुले करिब साढे २ अर्ब डलर बराबरको कारोबार सम्झौता गरेका छन्।

युएई, ओमान, कुवेत, कतार, साउदी अरेयिबा लगायतका अरबी देशबाट बर्सेनि करिब ४ करोडको संख्यामा पर्यटक बाहिर जाने गरेको तथ्यांक छ। राम्रो आर्थिक बृद्धि, उदार हुँदै गएको 8 र अनलाइन तथा डिजिटल सूचना प्रविधिका कारण केहीवर्ष अघिसम्म औसत पर्यटन बजारका रुपमा हेरिएको मध्यपूर्व अहिले पर्यटक स्रोतका रुपमा अगाडि आइरहेको छ।
अबर राष्ट्रका पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न महोत्सव उपयोगी भएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशिराज भण्डारीले जनाए। बोर्डका प्रबन्धक सुमन घिमिरेले महोत्सवमा रहेका नेपाली स्टलले नेपालका विविध प्राकृतिक र सांस्कृतिक सम्पदाहरुबारेमा सञ्चारकर्मी र पर्यटन व्यवसायीसँग अन्तर्क्रिया गरेको जानकारी दिए।

नेपालले आरामदायी घुम्ने कार्यक्रम, अरबी भाषा बोल्ने पथप्रदर्शक र हलाल खानाको व्यवस्था गर्न सकेमा ठूलो संख्यामा अरब मूलका पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना रहेको बोर्डका वरिष्ठ निर्देशक भण्डारीले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।