काठमाडौं-कुजु नेपालले डिएसएफके ब्राण्डको ‘ग्लोरी ५६०’ एसयुभी बिक्री सुरु गरेको छ। कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० नेपाली बजारमा बिक्री गर्दै आएको थियो। कुजु नेपालले नेपाली बजारमा कार बिक्री गरेको एक वर्ष पुगेसँगै नयाँ एसयुभी सार्वजनिक गरेको हो।
कम्पनीले विज्ञप्ती जारी गर्दै नयाँ एसयुभीको बिक्री सुरु भएको जनाएको छ। कोभिड-१९ का कारण केही ढिला बिक्री सुरु भएको ग्लोरी ५६० कम्पनीले यसैवर्षको सुरुदेखि नै बिक्री गर्ने योजना बनाएको थियो। गाडीको मूल्य, त्यसमा भएको विशेषताका कारण डिएफएसके ब्राण्डले आफ्नो सेगमेन्टमा राम्रो उपस्थिति देखाएको छ।
ग्लोरी ५६० मा युरो ५ मापदण्डको इन्जिनसहित उपलब्ध छ। यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले अधिकतम ५७ सय आरपिएममा १ सय ४८ बिएच पावर र १८ सयदेखि ४ हजार आरपिएममा २ सय ३० एनएम टर्क प्रदान गर्छ। यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन छ। साथै यो एसयुभीमा ५० लिटरको इन्धन ट्याकी छ।
ग्लोरी ५६० ग्लोबल एनक्यापबाट क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त एसयुभी हो। १७ इन्चको अलोय ह्वील, एयरव्याग, सिट बेल्ट रिमाइन्डर, एबिएस, इबिडी, इन्जिन इमोविलाइजर, आलर्म सिस्टम, स्पीड सेन्सिङ अटो लकसहित चारै चक्कामा डिस्क ब्रेक उपलब्ध छ। ग्लोरी ५६० मा सफ्ट टच ड्यास बोर्ड छ भने, ड्यासबोर्डमा ८ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट डिस्प्ले रहेको छ।
कुजु नेपालले यो एसयुभीमा ३ वर्ष वा ४० हजार किलोमिटर वारेन्टी दिएको छ। कम्पनीले ग्लोरी ५६० को मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।