काठमाडौं- चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ सय १२ अर्ब ७५ करोड रुपैयाँ नगद प्रवाहमा आधारित सरकारी बजेट घाटामा रहेको छ।
नेपाल राष्ट्र बैंकको ६३औं वार्षिकोत्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर डा चिरञ्जीवी नेपालले चालु आर्थिक वर्षको ९ महिनामा नगद प्रवाहमा आधारित सरकारी बजेट घाटामा रहेको बताएका हुन्।
डा नेपालका अनुसार अघिल्लो वर्षको यस अवधिमा नगद प्रवाहमा आधारित सरकारी बजेट वचतमा थियो। उनले भने, ‘अघिल्लो वर्ष यस अवधिमा सरकारी बजेट ११ अर्ब ८३ कारोड रुपैयाँ वचतमा थियो।’
चैत मसान्तसम्ममा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च अघिल्लो वर्षको यस अवधिमा भन्दा ५३ दशमलब ३ प्रतिशतले बढेर ६ सय ४३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
सरकारको राजस्व परिचालन २० दशमलब ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। चैत महिनासम्ममा राजस्व परिचालन ५ सय ५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा राजस्व परिचालन ४ सय १८ अर्ब ९५ करोड रुपैयाँ थियो।
गर्भनर नेपालले चैत मसान्तसम्ममा सरकारी बजेट घाटामा रहे पनि आन्तरिक ऋण परिचालन लगायतका कारणले राष्ट्र बैंकमा २ सय ८८ अर्ब ६४ करोड रुपैयाँ नगद मौज्दात रहेको बताए। यो रकममध्ये १ सय २१ अर्ब ९१ करोड रुपैयाँ स्थानीय तहको खातामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।