काठमाडौं- असोज १ देखि लामो दूरीका सार्वजनिक यात्रुबाहक बस चल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय र बुधबार यातायात व्यवसायी, मजदुर युनियन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच भएको छलफलपछि व्यवसायीहरु लामो दूरीका बस चलाउन तयार भएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको बनाएको स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन्। त्यसका लागि मन्त्रालयले यातायात व्यवस्था विभागलाई स्वास्थ्य मापदण्ड र भाडा लगायतको विषयमा असोज १ सम्ममा मापदण्ड बनाउन जिम्मा दिएको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधामात्रै यात्रु बोक्ने गरी लामो दूरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो। एक लाइनको सिटमा एक जनामात्रै यात्रु बस्नेगरी सेवा दिनुपर्ने सरकारले उल्लेख गरेको छ।
बैठकमा मन्त्री बसन्त नेम्वाङले व्यवसायीको मागअनुसार नै सबै दूरीका सार्वजनिक सवारी खोलिएकाले सरकारले तोकेका मापदण्ड पालना गरेर सेवामा जान आग्रह गरेको छलफलमा सहभागी व्यवसायीले बताए।
असोज १ गते विश्वकर्मा पुजा भएकाले भोली नै पुजा गरेर बस सञ्चालनका लागि व्यवसायी तथा मजदुरलाई आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। लामो दूरीका बसले सेवा थाल्न यातायात व्यवस्था विभागबाट मापदण्डसहितको कार्यविधि पर्खिरहेको कर्माचार्यको भनाइ छ।
‘सरकारले तोकेबमोजिमको मापदण्डमा सेवा दिन आफूहरु तयार रहेका छौं,’ उनले भने, ‘छोटो दूरीका लागि यसअघि नै मापदण्ड बनाइसकेकाले विभागले असोज १ सम्ममा लामो दूरीका लागि समेत मापदण्ड बनाउने गरी मन्त्रालयले तोकेको छ।’ व्यवसायी र मजदुरले मापदण्ड पालना भए नभएको अनुगमन गर्ने संयन्त्र पनि तयार राख्न सरकारलाई आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।