काठमाडौं– राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७३ अर्ब ३८ करोड रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याएको छ।
राष्ट्र बैंकले २०७३ फागुन मसान्तसम्ममा विभिन्न दरका ४ खर्ब १९ अर्ब २८ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकोमा २०७४ फागुन मसान्तसम्ममा थप ५४ अर्ब १० करोड बराबरको नोट निष्काशन भएको जनाएको छ।
गएको एक वर्षको अवधि (२०७३ चैतदेखि २०७४ फागुन मसान्तसम्म) मा विभिन्न दरका १ खर्ब ८७ अर्ब ७६ करोड बराबरको ८० करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न दरका ७४ अर्ब ३० करोड रुपैयाँ बराबरको ३६ करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएका थिए।
नोट कोषको ढुकुटीको बिमा रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्ब १० करोडले वृद्धि भई आर्थिक वर्ष २०७४÷०७५ मा २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। २०७४ चैत मसान्तसम्मको अवधिमा २ वटा नोट कोषहरु सञ्चालन भएका छन्। २०७४ फागुन मसान्तसम्ममा ४९ अर्ब ८९ करोड रुपैयाँ नोट कोषमा मौज्दात रहेको छ।
आर्थिक गतिविधिको विस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रकाे मौद्रिकीकरणमा सुधार भइरहेकोले मुद्राको सहज आपूर्ति गर्दै आएको राष्ट्र बैंकले जनाएको छ।
बैंकले आवश्यकता अनुसार सहजरुपमा मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनको लागि कम्तीमा ३ वर्ष ३ महिनाका लागि धान्ने नोट स्टक राख्न नीतिगत व्यवस्था अनुसार नोट छपाई सम्बन्धी कार्य गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।