चितवन- छिट्टै बर्सात सुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ। अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुङ्गा र ढिस्को झर्ने अवस्थामा रहेका छन्।
गतवर्षको बर्सातमा ठाउँठाउँमा पहिरो खसेर ठूलो जनधनको क्षति भएको थियो। यस वर्ष पहिलोपटक आइतबार साँझ ६ बजे टोपे खोलामा पहिरो खसेपछि आधा घन्ट सडक आवागमन रोकिएको थियो।
नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्द खनालका अनुसार पहिलो चरणमा लुज मेटेरियल (झर्न लागेका ढुङ्गा, ढिस्को र माटो) झार्ने काम भइरहेको छ। अहिले दिनको समयमा सडक बन्द हुने भएकाले लुज मेटेरियल झार्ने कामलाई तीव्रता दिइएको छ। मुग्लिन नजिकै, केराबारी र चोर खोलामा झर्न लागेका ढुङ्गा, ढिस्को र माटो झार्ने काम भइरहेको छ। भित्तो कटिएका ठाउँमा मानिसले रड, गललगायतका सहाराले झर्न लागेका ढुङ्गा, ढिस्को, माटोलगायत झार्ने काम भइरहेको उनले बताए।
यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङ लगायतका काम हुँदै छन्।
खनालका अनुसार सडकलाई दुई भागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको छ। नारायणगढबाट जलवीरेसम्म एउटा प्याकेज र त्यस उता मुग्लिनसम्म अर्को प्याकेज गरी ठेक्का दिइएको उनले बताए। खनालका अनुसार सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको छ। तीमध्ये अति नै संवेदनशील रहेका ६ ठाउँमा सुरुमा काम गरिने उनले बताए।
कालीखोलाको वारिपारि गरेर तीन ठाउँ, चार किलो, मुग्लिनको मुख र सेतीदोभानमा बढी संवेदनशील देखिएको छ।
सडकको कूल लम्बाइ ३३.२ किलोमिटरमध्ये ३०.३ किलोमिटर पहिलो तह कालोपत्रे भइसकेको छ। लागत मूल्य बढेपछिको मूल्याङ्कनमा सडकको ८० प्रतिशत काम सम्पन्न भएको छ। हाल ३५ जनाभन्दा बढीले काम गरिरहेको भन्दै उनले जनशक्ति थप गरी कामलाई गति दिइने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।