काठमाडौं–सरकारले लकडाउनपछि सार्वजनिक यातायातमा आधामात्र यात्रु राखेर गुडाउन पाउने निर्णय गर्यो। यससँगै साविक भाडा दरमा ५० प्रतिशत बढी भाडा लिन व्यवसायीलाई छुट दिइयो। तर आधा यात्रु राखेर बोक्दा न यातायात व्यवसायी सन्तुष्ट छन्, न उपभोक्तालाई राहत छ। संकटको समयमा सर्वसाधारण डेढ गुणा बढी भाडा तिरेर यात्रा गर्न बाध्य छन्।
तै पनि सरकार उक्त निर्णयको रमितेमात्र बनिरहेको छ। स्थानीय रुटमा यसरी बस सञ्चालन हुँदा व्यवसायीले चासो दिएका थिएनन्। जब सरकारले असोज १ देखि मध्यम तथा लामो दूरीका बस चलाउन दिने निर्णय गर्यो, त्यसपछि व्यवसायीहरुले आधामात्र यात्रु राखेर खर्च धान्न नसकिने भन्दै सरकारले ध्यानाकर्षण गराएका छन्।
व्यवसायीहरुले असोज ७ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर पुरा यात्रु राखेर लामो तथा मध्यम दूरीका बस चलाउन दिनुपर्ने माग राखेका हुन्। ‘हवाई व्यवसायीले भाडा नबढाउने तर पुरा यात्रु बोक्न पाउनु पर्ने माग राखे त्यो पुरा भयो। यातायात व्यवसायीले त्यही माग राख्दा पुरा भएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने।
‘हामीले सरकारलाई लामो दूरीमा आधामात्र यात्रु बोकेर सञ्चालन खर्च धान्न सम्भव छैन भनेर ध्यानाकर्षण नै गराइसकेका छौं,’ उनले भने, ‘आधामात्र यात्रु राख्दा व्यवसायीलाई पनि मर्का पर्ने र यात्रुलाई पनि ५० प्रतिशत धेरै माडा तिर्दा महगो भएको छ।’ बसमा ५० प्रतिशत धेरै भाडा तिर्नुपर्दा यात्रुहरु हवाईतर्फ आकर्षित हुने भएकाले यातायात व्यवसायीहरु समस्यामा पर्ने उनको भनाइ छ।
सार्वजनिक यातायातमा छोटो दूरी होस् वा मध्यम तथा लामो दूरी कहीँकतै सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन। स्वास्थ्य मापदण्ड पालनामा न यातायात व्यवसायीले जिम्मेवारी बहन गरेका छन्, न विभागले नै अनुगमन गर्न सकेको छ।
सरकारले असार २६ मा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्दा यातायात व्यवसथा विभागले सार्वजनिक सवारीले पालना गर्नुपर्ने कोभिड-१९ पछिको सार्वजनिक सवारी सञ्चालन निर्देशिका २०७७ नै बनाएको थियो। त्यसपछि विभागले स्वास्थ्य मन्त्रालय र यातायात व्यवसायीसँग छलफल गरेर स्वास्थ्य प्रोटोकलसमेत बनाएको थियो।
तर हाल सञ्चालनमा रहेका सबै जसो यात्रुबाहक सार्वजनिक सवारीसाधनले त्यस्तो मापदण्ड पालना गरेको पाइदैन। साविक भाडा दरमा ५० प्रतिशत बढी लिन पाइने निर्णय भने पूर्ण पालना भएको छ। विभागले आफ्नो क्षमताले भ्याएसम्म अनुगमन गरिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘हामीले अनुगमनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छौं,’ उनले भने, ‘साधन स्रोत र जनशक्ति सीमित भएकाले हामीले अपेक्षाकृत अनुमगन गर्न सकेका छैनौं।’ अनुगमन नभएको, सार्वजनिक सवारीले स्वास्थ्य मापदण्ड पालना नगरेको, सिटभरि यात्रु राखेर ५० प्रतिशत बढी भाडा लिएको गुनासो आउने गरेको हमालले बताए। विभागले अनुगमनमा ट्राफिक प्रहरीलाई समेत आग्रह गरिएको विभागको भनाइ छ।
लामो दूरीमा सिट क्षमता अनुसार यात्रु बोक्न पाउनु पर्ने माग गरेकाले त्यस विषयमा समेत छलफल भइरहेको विभागले जनाएको छ। व्यवसायीहरुले मन्त्रालय तथा विभागले सिट क्षमता अनुसार यात्रु राख्न पाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएकाले छलफल भइरहेको महानिर्देशक हमालले बताए। ‘विभागले छलफल गरेर मन्त्रालयलाई सुझाव दिने हो आवश्यक निर्णय सरकारले गर्छ,’ उनले भने।
स्वास्थ्य मापदण्ड र आधा सिटमा मात्र यात्रु राख्ने नियम कडाइका साथ कार्यान्वयन गर्न नसक्ने अवस्थामा पुरानै भाडामा सिट क्षमता अनुसार यात्रु राख्न दिनुपर्ने आवाज उठ्न थालेको छ। यसतर्फ सरकारले ध्यान दिनुपर्ने यात्रुहरुको भनाइ छ। लामो दूरीका बसमा व्यवसायीले सबै सिटमा यात्रु राख्ने र भाडा पनि ५० प्रतिशत बढी लिने अवस्था आउने देखिन्छ। दसैं नजिकिएकाले काठमाडौंलगायत सहरी क्षेत्रबाट घर जानेहरुको संख्या ठूलो हुन्छ। सामान्य समयमा समेत बस नपाउने दसैंका बेला बसमा आधा यात्रु राखेर गुडाउन सम्भव नै नहुने व्यवसायीहरु नै बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।